0
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा नेपाल मानवअधिकार वर्षपुस्तक–२०१६ त्रैमासिक पूर्व समीक्षा कार्यक्रम चैत ३० गते पोखरामा सम्पन्न भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सनबहादुर थापाले प्रस्तुत गरेको सन् २०१५ जनवरीदेखि मार्चसम्मका मानवअधिकार उल्लंघन र ज्यादतिका घटनाहरुको बारेमा समीक्षा गरिएको थियो । कार्यक्रममा सहभागीहरुले महिला र बालिकामाथि भएका हिंसाका घटना न्यूनीकरणका लागि राज्य र सरोकारवाला निकायले निरन्तर पहल गर्नु पर्नेमा जोड दिए । उनीहरुले पछिल्लो समयमा महिला र बालबालिका पीडित भएकोमा चिन्ता व्यक्त गर्दै गाउँगाउँमा मानवअधिकार र कानुनी सचेतना अभियान सञ्चालन गर्नुपर्ने तथा घटनाको न्यायिक प्रक्रियाका बारेमा फ्लोअप गर्नुपर्ने सुझाव दिए । कास्कीमा तीन महिनामा मानवअधिकार उल्लंघन र ज्यादतीका २७ ओटा घटनामा ५१ जना पीडित भएकोमा महिलाको संख्या १९ जना र बालिकाको संख्या ७ जना रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखराका क्षेत्रीयनिर्देशक डा.टीकाराम पोखरेलले मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि राज्य संवेदनशील हुनु पर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ मानवअधिकार कर्मी टेकनाथ बराल,  पूनरावेदन अदालत बार एशोशिएसन पोखराका अध्यक्ष खगेन्द्रराज आचार्य, नेकपा एमाले सचिवालय सदस्य तेजनारायण अधिकारी, जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी सई गीता रानाभाट, इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल, गैसस महासंघका अध्यक्ष गोपाल खड्का, महिला मानवअधिकार रक्षक सञ्जालकी सचिव सरीता थापा, सदस्य तारामाया थापा लगायतले बोलेका थिए ।

Post a Comment

 
Top