0
मुटुरोग लागेका विरामीहरुले  समयमै उपचार पाउन नसक्दा जीवन गुमाउनु परेको अवस्थामा अब अन्त्य हुने भएको छ । पोखराको मणिपाल शिक्षण हस्पतालमा आइतबारदेखि नै मुटुरोगसंग सम्बन्धित एन्जियोग्राफी, एनजियो प्लाष्टी लगायतका उपचार सेवा शुरु भएकाले समयमै उपचार नपाएर बिरामीले जीवन गुमाउनुपर्ने पीडादायी अवस्था अन्त्य हुने देखिएको हो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भरत रावतका अनुसार मुटुको धड्कन (पेसमेकर), मुटुको भल्व खोल्ने र ठीक बनाउने (वेलुनिङ) र मुटुको धमनी बन्द भइ रक्तसंचार रोकिएको अवस्थामा तत्काल रक्तसंचार गराउने जस्तो उपचार सेवा बिरामीलाई एक घण्टाभित्र उपलव्ध गराउन सके त्यस्ता बिरामीहरुलाई मृत्युको मुखबाट बचाउन सकिन्छ । अब पोखरामा यस किसिमको सेवा शुरु भएकाले मुटुरोगसंग सम्बन्धित ९५ प्रतिशत बिरामीको जीवन जोखिममा नपर्ने डा. रावतले बताए । मणिपाल शिक्षण अस्पतालमा शुरु गरिएको सेवाका लागि करिब ५ करोड रुपैयाँको उपकरण प्रयोगमा ल्याइएको बताइन्छ । काठमाडौंपछि चितवन, धरान र विराटनगरमा यस किसिमको सेवा उपलव्ध रहेपनि पश्चिमाञ्चलमा पहिलो पटक पोखराको मणिपालमा यो सेवा शुरु गरिएको हो ।
आइतबार एक समारोहबीच नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले उक्त सेवा संचालन गर्ने क्याथ ल्यावको उद्घाटन गरेको थिए । त्यस अवसरमा बोल्दै उनले सानो समस्यामा पनि हेलिकोप्टर प्रयोग गरेर उपचारका लागि काठमाडौं र विदेश नै पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले चिकित्सक हरुले अर्काको जीवन बचाउने कसम खाने हुनाले पैसासंग जीवन साट्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले स्वास्थ्य क्षेत्र कहिल्यै बन्द गर्न नहुने क्षेत्र भएपनि डाक्टरले धर्म छोडेर बन्द र हड्ताल गर्नेए गरेको आरोप लगाउँदै आफ्ना माग राखेपनि अस्पताल एक घण्टा पनि बन्द गर्न नहुने बताए । ‘जसरी मानिसको जीवनलाई अक्सिजन चाहिन्छ त्यसैगरी अस्पतालको सेवा जरुरी हुन्छ’–उनले भने । चिकित्सकहरुको पहिलो प्राथमिकता बिरामीको ज्यान बचाउनु नै भएकाले कोसंग पैसा छ भनेर नेहेर्न आग्रह गर्दै मन्त्री अधिकारीले भने पैसा जम्मा गर अनिमात्र बिरामीको उपचार गर्छु भन्ने स्वास्थ्य संस्था वा अस्पताललाई खारेज गर्नुपर्ने बताए ।
कार्यक्रममा पश्चिमाञ्चल का क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले स्वास्थ्यकर्मीले जोखिम बहन गर्न र जिम्मेवारी लिन नचाहने तथा सर्वसाधारणले चिकित्सकको लापर्वाहीका कारण मानिसको ज्यान जाने गरेको भनि  विरोध गर्ने दुवै किसिमका अतिवादको अन्त्य हुनुपर्ने बताए । काठमाडौं विश्वविद्यालयमा डा. राजेन्द्र कोंजुले पोखरा लगायत छिमेही जिल्लाका बिरामीहरुलाई हृदयघात वा मुटुरोग संग सम्बन्धित समस्याका कारण काठमाडौं जानुपर्नेृ अवस्था अन्त्य भएको र बिरामीको मृत्युको सम्भावना कम हुने बताए । मणिपाल शिक्षण अस्पतालका डीन बिएम नागपालले क्याथल्याव र मणिपाल अस्पतालको सेवा र सुविधाका बारेमा जानकारी गराएका थिए । विगत केही वर्ष यता पोखरा र आसपासका क्षेत्रमा मुटु, मृगौला र क्यान्सर जस्ता रोगका बिरामीहरुको संख्या बढ्दै गएको छ । यस किसिमका बिरामीहरुको वास्तविक तथ्याङ्क राख्ने कुनै सरकारी या अन्य निकाय नभएपनि सरकारले लागू गरेको निःशुल्क उपचार सेवा लिन आउने बिरामीको तथ्याङ्क हेर्दा त्यस्ता बिरामीको संख्या बढेको देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद बरालका अनुसार गत आर्थिक वर्ष २०६९÷ ०७० मा मृगौलाका ८६, मुटुरोगका ३५ र क्यान्सरका ४० बिरामीले निःशुल्क स्वास्थ्य उपचार पाउनका लागि निवेदन दिएकोमा आर्थिक वर्ष २०७०÷०७१ मा त्यो संख्या बढेर ६५, ८८ र १०३ पुगेको छ । सोही कार्यालयका बोधराज सुवेदीले क्यान्सर, मुटु र अल्जाइमरका बिरामीका लागि १ लाख रुपैयाँसम्म र मृगौला सम्बन्धी रोगको उपचारका लागि २ लाख ६० हजारसम्मको खर्च सरकारले उपलव्ध गराउने व्यवस्था रहेको जानकारी दिए । सोही सुविधा लिनका लागि विभिन्न बिरामीले निवेदन दिने गरेका छन् । यसैबीच पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. कालु शर्माले विगतमा सरुवा रोगका बिरामीको संख्या धेरै रहेकोमा पछिल्लो केही वर्ष भने नसर्ने खालका रोगका बिरामी बढेको बताएका छन् । पहिले ५४ प्रतिशत सरुवा र ४६ प्रतिशत नसर्ने रोग लागेका बिरामी रहेकोमा अहिले त्यो संख्याको ठीक विपरित भएको डा. शर्माले बताए । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटुरोगका बिरामीको उपचारका लागि छुट्टै सेवा सुरु गर्ने प्रयास भइरहेको उनले बताए ।

Post a Comment

 
Top