0

unnamed
पोखरा २६ चैत । नेपाली नयाँ वर्ष मनाउनु अघि पश्चिमाञ्चल होटल संघ पोखराले विहिबार फेवा किनारमा सरसफाई कार्यक्रम आयोजना गरेको छ ।यही चैत २८ देखि आगामी वैशाख २ गते सम्म बसुन्धरा पार्कमा आयोजना हुन गइरहेको १२ औं फेवा नव वर्ष महोत्सव अघि संघले यो सरसफाई कार्यक्रम आयोजना गरेको हो । दिनप्रतिदिन संकुचित र प्रदूषित हुँदै गएको पोखराको फेवा तालको संरक्षणका लागि यस्तो कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, आमा समूह, विभिन्न क्लव, गैरसरकारी संस्था, पर्यटन व्यवसायी र वातावरणवादी संस्थाका प्रतिनिधिको वृहत उपस्थिति रहेको थियो । पोखरा उपमहानगरपालिका– ६ लेकसाइड (बैदाम) स्थित गैराको चौतारादेखि तालबाराही घाट सम्म तालको किनारमा आयोजित सफाई कार्यक्रमबाट सयौं बोरा फोहोर संकलन गरी ट्रयाक्टर मार्फत फोहोर विसर्जन गर्न ल्याण्डफिलसाइट पुर्याइएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले कार्यक्रमको आरम्भ गरेका थिए । सफाई कार्यक्रमलाई संघले आगामी दिनमा पनि निरन्तरता दिने महोत्सवका संयोजक लक्ष्मण सुबेदीले बताए ।
२०५४ सालमा गरिएको सिमांकन अनुसार फेवातालको जलीय क्षेत्रफल नौ हजार नौ सय ५६ रोपनी अर्थात पाँच सय ५ हेक्टर छ । फेवातालको जम्मा क्षेत्रफल १२ हजार सात सय नौ रोपनी रहेकोमा दुई हजार एक सय एक रोपनी जग्गा अतिक्रमण भएको फेवाताल संरक्षण, प्रवद्र्धन तथा विकासका लागि छानबिन समितिले जनाएको थियो ।ताल संरक्षणका लागि केही महिना अघि गठित फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयले तालको संरक्षणका लागि वरपर ६५ मिटरको मापदण्ड लागू गर्ने पछिल्लोपटक घोषणा गरे पनि त्यो अझै कार्यान्वयन हुन सकेको छैन ।

Post a Comment

 
Top