0
गोल्डेन न्यूज संवाददाता
पोखरा ३ माघ ।
पोखरेली युवा सांस्कृति परिवारले गर्दै आएको नियमित रचना वाचन ‘समता काव्य सन्ध्या’ सम्पन्न भएको छ । ‘कला, साहित्य र संगीतको उत्थान हाम्रो अभियान’ भन्ने मूल नारा सहित प्रत्येक महिनाको पहिलो शनिबार हुँदै गएको समता काव्य सन्ध्याको १ सय ५९ औं श्रृंखला सम्पन्न भएको हो ।
कविताको पाठशाला भनिँदै आएको समता काव्य सन्ध्यामा करिव ३० जनाले रचना वाचन गरेका थिए । रचना वाचन गर्ने अधिकांशले नजिकिँदै गएको माघ ८ अर्थात संविधान जारी गर्ने मिति आउँदा समेत संविधान भन्ने छाँटकाँट नदेखाएका राजनीतिक दलहरुप्रति व्यङ्ग्य गरेका छन् । संस्थाका उपाध्यक्ष दीपक समिपको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका साहित्य संयोजक प्रकाश ज्ञवालीले स्वागत तथा विशेष रचना वाचन अन्तर्गत कवि निष्प्रभ सजीको ‘इजलासमा लाहुरे फुल’ संग्रहबाट ‘तीर्थ दाई लाहुरे फुलको नाम फेरिएन’ शीर्षकको कविता वाचन गरेका थिए ।
कार्यक्रममा परिवारका आजीवन सदस्य कवि तेजनाथ घिमिरेले रचनाले उठाएको विषय र सन्दर्भ सकरात्मक भएको बताउँदै संविधानसभाप्रति व्यङ्ग्यात्मक कविता पाठ गरेका थिए ।
संस्थाका सचिव अर्जुन अधिकारीले संचालन गरेको कार्यक्रममा कवि ईश्वरमणी अधिकारी, डा.चैतन्य मित्र, शरण आँशु, लक्ष्मण थापा, कौसलचन्द्र जिसी, दिपक पराजुली, अमृत सुवेदी, सौगात संघर्ष, हरिदेवी जोशी, उदय अमात्य, विष्णु पराजुली, गोविन्द पराजुली , शुदर्शन अधिकारी, एकदत्त लम्साल, रविन शर्मा, लगायतले रचना वाचन गरेका थिए ।

Post a Comment

 
Top