0
कास्की जिल्ला फुटबल सघको आयोजनामा सञ्चालित पोखरा कपको चौथो मनकामना केवलकार पोखरा कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसे शनिबार पोखरा रंगशालामा भएको फाईनलमा थ्रीस्टारलाई ४–३ गोल अन्तर(सडन डेथ)मा पराजित गदैै उपाधि जितेको हो ।
निर्धारित समयमा १—१ गोलको बराबरीमा टुगिएपछि रेफ्रीले निर्णय पेनाल्टी सुटबाट गरिदिए । पेनाल्टी प्रहारमा थ्रीस्टारका पोखरेली खेलाडी विजय गुरुङ र जगजित श्रेष्ठको प्रहार खेर जादाँ थ्रीस्टार उपाधि विमुखको बाटोमा लम्किएको थियो । किरण चेम्जोङको प्रहारलाई पुलिसका रक्षक रितेश थापाले सेभ गरिदिएपछि उपविजेता बन्दै थ्रीस्टारले दुईलाख १ हजार नगदमा चित्त बुझायो । थ्रीस्टारका लागि विक्रम लामा, निराजन खड्का, सन्तोष साहुखललेको प्रहार मात्रै गोल हुन पुग्यो ।
पुलिसको तर्फबाट पेनाल्टी प्रहार गर्ने क्रममा पोखरेली अजित भण्डारी, निरकुमार राई, सुमन सुवेदी र दिपेन श्रेष्ठलेको प्रहार गोलमा परिणत भएपछि जित पर्याप्त भयो । कप्तान भोला सिलवाल पेनाल्टीमा खलनायक सावित भए । उनीसँगै योगेश श्रेष्ठको प्रहार पनि बाहिरिएको थियो । ४७ औं मिनेटमा विक्रम लामाले पहिलो हाफको दुई मिनेटमा ‘फ्लिक’ हेड गरेको बल सेकेण्ड भित्र छिरेपछि थ्रीस्टारको समर्थकले हुटिङ शुरु गरेका थिए । जगजित श्रेष्ठले हानेको लेफ्ट सट फ्रिकिकलाई लामाले फ्लिक गर्दै बललाई पोष्टको दिशा दिएका हुन् । ५३ औं मिनेटमा निगरानीविहीन अवस्थामा रहेका कप्तान भोला सिलवालले हेडिङ गोल गरेपछि पुलिस एकाएक खेलमा फर्कियो । सिलवाललाई गोलको अवसर भने दिपेन श्रेष्ठले क्रसपास उपलब्ध गराईदिएका थिए ।
 ‘हामीले अपनाएको रणनीति फेल भएन् । तर गोल गर्न हतारिदाँ गोल खान पुग्यौं । प्रेसरलाई कन्ट्रोल गर्दै खेलाडीको मनोबल बढाउन होल्ड गर्न आग्रह गर्दै खेल्यौं । खेलाडीले त्यही अनुसार खेले । बराबरी गोल भएपछि खेलले नयाँ रुप लियो ।’ नेपाल पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने । पाँच मिनेट खेल नियन्त्रण गर्न नसक्दा उपाधिबाट विमुख हुन पुग्यौं । धैर्यता नै देखिएन् । अनुभवी खेलाडीलाई खाली छोड्नुले खेल टर्निङ हुन पुग्यो ।’ थ्रीस्टारका प्रशिक्षक अन्जन केसीले भने । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भोला सिलवाललाई मोटरसाईकल प्रदान गरियो । स्ट्राईकर सन्तोष साहुखल(थ्रीस्टार), उत्कृष्ट मिडफिल्ड हेमन गुरुङ (पुलिस), उत्कृष्ट गोलकिपर रितेश थापा (पुलिस), उत्कृष्ट प्रशिक्षक विराटकृष्ण श्रेष्ठ (पुलिस), उत्कृष्ट डिफेन्स दिपेन श्रेष्ठ (पुलिस) घोषित भए । उनीहरुलाई नगदसहित ट्रफीबाट सम्मानित गरिएको थियो । प्रतियोगिताको समापन समारोहमै नेपालको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्ने मणि शाह, पोखरेली अग्रज फुटबलर डम्बरलाल माकाजू, सुकबहादुर गुरुङलाई सम्मानित गरिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबावु श्रेष्ठ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
यसैगरी चौथो संस्करणको मनकामना केबुलकार पोखरा कप फुटवल प्रतियोगिता २०७१ प्रतियोगिता समापनको अवसरमा पूर्व फुटवल खेलाडीहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा फुटवल प्रशिक्षक मणिविक्रम साह, सुकबहादुर गुरुङ, डम्बरलाल माकाजु र लोकबहादुर रन्जित रहेका छन । उनीहरुले फुटवल खेलको विकासमा उल्लेखनिय योगदान पुराएको भन्दै सम्मान गरिएको आयोजक कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरम बहादुर लामिछानेले बताए । प्रतियोगिताका मुख्य प्रायोजक मनकामना केवलकार दर्शन प्रालिका प्रवन्ध निर्देशक राजुबाबु श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

Post a Comment

 
Top