0
संविधानसभाको शनिबारको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिने सभासद्ले सहमतिको मार्गलाई छाडेर तथा शान्ति सम्झौताको मर्मलाई बिर्सेर बहुमतको आडमा पेलेर जबर्जस्ती प्रक्रियामा नजान ध्यानाकर्षण गराएका छन् । उनीहरुले सत्तारुढ दलका सभासद्ले माग गरेअनुसार प्रक्रियाका आधारमा छिटो संविधान ल्याउने नाममा आफूहरुलाई पाखा लगाउन खोजिए देशमा संविधान जल्ने र फेरि रक्तपात हुने चेतावनी दिए । संविधान बहुमतीयभन्दा सहमतीय रुपमा आउनुपर्छ भन्दै उनीहरुले सत्तारुढ दलले गणितीय खेल प्रक्रियामा गई संविधान ल्याएमा त्यो मान्य नहुने बताए ।
सो समितिको प्रतिवेदनमा लामो समय बहस गर्नुको अर्थ नहुने ठानी सत्तापक्षीय न्यून सभासद्ले छलफलका लागि नाम टिपाएका थिए भने छलफल लम्ब्याएर सहमतिका लागि दबाब दिन एमाओवादी र मधेसवादी लगायत दलका अधिकांश सभासद्ले छलफलमा भाग लिएका थिए । छलफलमा सभासद् राम नारायण बिँडारी, हितराज पाण्डे, प्रेमबहादुर सिंह, रामकुमार राई, यशोदाकुमारी लामा, राधादेवी तिमल्सिना, वीरेन्द्रप्रसाद महतो, गङ्गा चौधरी, डिल्लीप्रसाद काफ्ले, रुक्मिणी चौधरी, सरिताकुमारी यादव, रामकुमार राई, जनकराज जोशी, कर्णबहादुर विक, अकवाल अहमद साह, सूर्यप्रकाश बालाराई, धर्मेन्द्रकुमार साह, विमलकुमार केडिया, श्रीप्रसाद जगेबु, आशा चतुर्वेदी, योगेन्द्र चौधरी, कर्ण धिताल, रमणी राम, सत्यनारायण भगत, अजयशंकर नायक, सुरेन्द्र जयसवाल, मानपुर चौधरी, कमला दोङ, जुठबहादुर टुहुरे, धनमाया विश्वकर्मा, ललिताकुमारी रेग्मी, मोहम्मद जाकिर हुसेन, राधिका तामाङ, टेकबहादुर बस्नेत, जगतबहादुर बुढा, प्रतिक्षा तिवारी मुखिया, रामसिंह यादव, सुमित्रा थरुनी, मीलनकुमारी रजवंशी र वाङ्दी शेर्पा गरी ४५ जनाले भाग लिएका थिए । यसैगरी नेपाली कांग्रेसका महामन्त्री तथा सभासद् कृष्ण प्रसाद सिटौलाले दलहरुले सहमति नचाहेको आरोप लगाएका छन् । संविधानसभाको बैठकमा प्रतिवेदन माथि बोल्दै सिटौलाले यस्तो बताएका हुन् । उनले भने, ‘दलहरुले खुट्टा टेकेकै छैनन् जसको कारण संविधान सभाको औचित्य माथि नै प्रश्न उठ्न थालेको छ ।’ सिटौलाले संविधानसभामा प्रक्रिया सुरु नगरेको प्रति आपत्ति जनाउँदै दलहरु लचिलो भएर सहमतीसहित तत्काल प्रक्रिया सुरु गर्न माग गरे । संविधानका विवादित विषयमा लचक हुन नचाहने सत्तारुढ दल र प्रक्रिया मान्दिन भन्ने विपक्षी दल दुबैप्रति सिटौलाको व्यङ्गय थियो ।  संविधानसभाको अर्काे बैठक आइतबार बिहान ८ः३० बजे बस्नेछ । यता, एमालेको भातृ संगठन युवा संघ नेपालले तोकिएकै समयमा संविधान जारी गर्न दवाव दिदैं अर्धनग्न जुलुश निकालेको छ । ‘खवरदार ६०१’ लेखिएको स्टिकर छातिमा टाँसेका युवाहरुको जुलुशले ‘संविधान निर्माणका लागि युवा दवाव’ लेखिएको व्यानर बोकेको थियो । बुद्धनगरमा सुरु भएर नयाँ बानेश्वरसम्म पुगेको अर्धनग्न जुलुशले ‘जातीय राज्य चाँहिदैन, देश टुक्र्याउन पाइँदैन’ भन्ने नारा लगाएको थियो ।  युवा संघ नेपाल नेकपा एमालेको भातृ संगठन हो । यसका अध्यक्ष महेश बस्नेत हाल उद्योगमन्त्री छन् । पहिला यो संगठनको नाम युथफोर्स थियो । जसलाई एमालेका अध्यक्ष झलनाथ खनाल अध्यक्ष हुँदा एकीकृत नेकपा माओवादीको सहायक संगठन वाइसिएल नेपालको प्रतिकार गर्न भन्दै गठन गरिएको थियो ।
राष्ट्रपति डा. रामवरण यादवले सहमतिकै आधारमा सविधान जारी गर्न काँग्रेस र एमालेका नेतालाई सुझाव दिएका छन् । शनिबार राष्ट्रपति यादव र यी दुई दलका नेताहरु बीच भएको भेटघाटमा उनले जति सक्दो छिट्टो सहमति बनाएर तोकिएको समयमा जनतालाई सविधान दिनलाई समेत सुझाव दिएको एमालेका नेता झलनाथ खनालले बताए । ‘सविधान जारी गर्न अन्तरिम सविधानले बाटो देखाएकै हो तर अन्तरिम सविधानको मर्म विपरित किन अगाडि बढेको तथा सहमति मर्म विपरित किन जान खोजेको ’ भन्दै राष्ट्रपति यादवले सबैलाई समेटेर सहमति गरी सविधान जारी गर्न सुझाव दिएका छन् । ‘माघ ८ गते सविधान जारी गर्न के कुराले रोकेको हो ?’, राष्ट्रपति यादवले प्रश्न गर्दै भने, ‘एक वर्षको समय त्यतिकै खेर गयो किन सहमति हुन सकेन, समान्य कुराहरुलाई लिएर देशलाई द्वन्दमा लानु हुँदैन । सक्दो दलहरुको कुरा सुनेर सहमतिको वतावरण तयार गरी सविधान जारी गर्नुुस् ।’ स्रोतका अनुसार संसारमा जहाँ पनि सत्ताधारी दलहरु विपक्षि दलभन्दा लचिलो हुने भन्दै विपक्षी जस्तै सत्ताधारी दलहरु कडा भए कहिले पनि सहमति नहुने समेत सो अवसरमा राष्ट्रपतिले बताएका थिए ।
भेघाटपछि पत्रकारसँग कुरा गर्दै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपति यादवले आफूहरुलाई सहमतिको आधारमा अगाडि बढ्न र चाँडै सविधान जारी गर्न सुझाव दिएको बताउँदै राष्ट्रपतिकै सुझाव अनुसार आफूहरु अगाडि बढ्ने प्रतिकृया दिए । भेटमा नेताहरुले हालसम्म विपक्षि दलहरुसँग भएको कुराकानी र सविधानसभाले गरेको प्रतिगतिको बारेमा राष्ट्रपति यादवलाई जानकारी गराएका थिए । अहिले एमाओवादी र मधेशवादी दल र राष्ट्रपति यादवबीच भेटघाट भइरहेको छ । दलहरुको बीचमा असमझदारी बढ्दै गएपछि सहमतिका लागि दवाव दिन राष्ट्रपति यादवले दलका नेताहरुलाई बोलाएर छलफल गरेका छन् ।
नागरिक समाजका अगुवाहरुले संविधानसभामा रहेका दलहरुलाई माघ ८ मा संविधान ल्याउने नाममा अर्काे दिननै च्यातिने संविधान नल्याउन आग्रह गरेका छन् । अधिकतमलाई मान्य हुने संविधान ल्याउन आग्रह गर्दै ध्रुविकृत हुँदै गएका दलहरुलाई सहमतिमा नै नयाँ संविधान ल्याउन सुझाव दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर सभामुख समेत भइसकेका नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले दलहरुले सहमति वा प्रक्रिया भन्दै झगडा गर्न जनताले मतदान नगरेको भन्दै त्यसको निर्धारण दलहरुले आपसी समझदारीमा नै गर्नुपर्ने धारणा राखे । यद्यपि उनले अहिले विगतका सम्झौताहरुलाई वेवास्ता गर्दै बहुमतबाट मात्रै संविधान जारी गर्न दलहरु उद्धत भएकोमा भने आपत्ति जनाए । ‘संविधान भनेको विधायिका होइन । त्यसैले संविधानसभा कुनै युगान्तकारी मोडमा मात्र हुन्छ, देशमा ठूलो उथुलपुथुल भएपछि मात्र संविधानसभा बन्छ । यसले संविधान निर्माण गर्ने छुट्टै प्रक्रिया हुन्छ’, ढुंगानाले भने । ‘अहिले १२ बुँदे सम्झौताका सहयात्री नेकपा–माओवादीलगायत ठूलो शक्ति संविधानसभाबाट बाहिर छ । एमाओवादी दुई ठाउँबाट संघर्षरत छ । यस्तो स्थिति हुनुहुँदैन थियो । यस्तो अवस्थामा जनयुद्ध, मधेश आन्दोलन, जनजाती, दलित, महिला, विपन्न वर्ग आदिका मुद्दा सम्बोधन नगर्ने हो भने के होला ?’ ढुंगानाले संविधान कुनै दल विशेषको एजेण्डा नभएर र राष्ट्रको एजेण्डा रहेको स्पष्ट पारेका थिए । खेलमा प्रतिस्पर्धा भएपनि अन्त्यमा मेलमिलाप हुने भन्दै संविधानलाई पनि दलहरुको प्रतिस्पर्धाको बीच मेलमिलापको दस्तावेज बनाउन उनले आग्रह गरे । ‘सबैको चित्त बुझाउन सकिँदैन तर धेरैको चित्त बुझ्ने संविधान ल्यानुहुन्छ भन्ने हामीले आशा गरेका छौं,’ उनले भने । उनले माघ ८ मा संविधान ल्याउन नसकेपनि केही न केही प्रतिबद्धताको दस्तावेज ल्याउन आग्रह गरे । ‘तपाईंहरुलाई खुलामञ्चमा हात मिलाको देखेका छौं । अब जनतासँग माफी माग्नुहोस् । हामी यस कारणले माघ ८ मा संविधान ल्याउन सकेनौं भन्नुहोस् । जेठसम्म समय माग्नुहोस्, प्रतिबद्धता पूरा गर्नुहोस् । नेपाली नागरिकको मन ठूलो छ, माफ गर्छौ ।’
अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा बसपार्कका लागि दवाव आवश्यक–थापा
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले संघको हकहितका लागि सम्पूर्ण सदस्यहरुको लागि व्यवस्थित गर्दै लैजान सक्षम रहेको बताएका छन् । उनले आफ्नो सदस्यहरुको दक्षताका लागि तालिम दिंदै आइरहेकोमा पोउवासंघ पनि व्यवसायिक हकहितका लागि सहयोग गर्न तयार रहेको बताए । इलेक्ट्रोमेकानिकल संघ नेपालको १३औं साधारणसभाको उद्घाटन गर्दै थापाले उद्योगी व्यवसायीहरुको हितको लागि हेल्प डेक्सको स्थापन गरेको बताउँदै सधैंजसो राजनीति पार्टीहरुको बन्द हडताललाई निरुत्साहित पार्न सबै उद्योगी व्यापारीहरु, नागरिक समाज एकजुट भई त्यस्ता कार्यलाई निरुत्साहित पार्नपुर्नेमा उनले जोड दिए । पोखराको पूर्वाधार विकासका लागि लाग्नुपर्ने बताउँदै निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा बसपार्क छिटोभन्दा छिटो बनाउन दवाव दिन सरकारलाई घच्घच्याउन सबै एक हुनुपर्नेमा जोड दिए ।
 कार्यक्रममा संस्थाका आजीवन सदस्यहरु पोखरा लगायत विभिन्न जिल्लाबाट १९ जना सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । साधारणसभामा महासचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन महासचिव गोविन्द पौडेल र कोषाध्यक्ष कृष्णराज गौतमले प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, पोखरा औद्योगिक क्षेत्रका उद्यमी व्यवसायी संघका अध्यक्ष चन्द्र राजभण्डारी, संस्थापक अध्यक्ष डिल्लीराज राजभण्डारी, पोखरा इलेक्ट्रीक एशोसिएशनका अध्यक्ष बालकृष्ण बराल र नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठले पूर्व समयको उद्योग व्यवसाय र हालको उद्योग व्यवसायमा धेरै फरक आएको हुँदा संस्थाले आफ्ना सदस्यलाई स्तरीय तालिम दिई सक्षम बनाउन आग्रह गरेका थिए । इलेक्ट्रो मेकानिकल संघ नेपालका अध्यक्ष शंकर ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले स्वागत र कार्यक्रमको संचालन महासचिव गोविन्द पौडेलले गरेका थिए ।

Post a Comment

 
Top