0
आयोजक राष्ट्र नामिबियालाई ३ विकेटले हराएसँगै नेपाल आईसीसी वर्ड क्रिकेट लिग डिभिजन १ को नजिक पुगेको छ । बुधबार साँझ सम्पन्न खेलमा नामिबियाले दिएको १४३ रनको लक्ष्य नेपालले ३७.३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । जसमा कप्तान पारस खड्काको अर्धशतकीय इनिङ खेले । खड्काले ६४ रनको योगदान दिए । ५६ बलको सामना गरेका पारसले ६ चौका र ३ छक्का हाने । यस्तै ज्ञानेन्द्र मल्ले ३१, विनोद भण्डारीले १८ रनको योगदान दिँदा अन्य ब्याट्सम्यान भने खासै चल्न सकेनन् । यसो त नेपालले सुरुवात नै निकै खराब गरेको थियो । ओपनर नरेश बुढाएरको ठाउँमा सागर पुन खेलेका थिए । तर, उनी नेपालको स्कोर ८ रन हुँदा ७ बनाएर आउट भए । यसअघि विण्डहोक क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २–२ विकेट लिए । जितसँगै नेपालको ६ अंक भएको छ । यस्तै समान अंक जोडेको नामिबियाको पनि ६ अंक छ । तर, रनरेटको आधारमा नामिबिया नेपाललाई पछि पार्दै शीर्ष स्थानमा रहेको छ । तीन खेलमा विजयी नामिबियाको रनरेट १ दशमलब ०५ रहँदा समान जित हात पारेको नेपालको शून्य दशमलब ७१ रनरेट रहेको छ । यस्तै २ मा हार र २ मा जित हात पारेको नेदरल्याण्डको रनरेट भने माइनस शून्य दशमलब १ रहेको छ ।

Post a Comment

 
Top