0
चिडियाखाना निर्माणका लागि पोखराको युनाइटेड क्लवले विभिन्न क्षेत्रका व्यक्तिहरुसंग राय सुझाव संकलनका लागि छलफल तथा अन्तक्र्रिया गरेको छ । क्लवका पदाधिकारीहरुले चिडियाखान निर्माण सम्बन्धमा बुधबार लेखनाथ नगरपालिकाको पचभैयाका स्थानीय बासिन्दाहरुसंग छलफल गरे । कार्यक्रममा सहभागी  स्थानीयहरुले आफ्नो ठाउँमा रहेको सामुदायिक वन चिडियाखाना निर्माणका लागि प्रदान गर्न तयार रहेको बताए । पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोहनबहादुर घिमिरेले आफूहरुले शदियौदेखि पचभैयाको वनको संरक्षण गर्दै आएको भन्दै आफ्नो वनलाई युनाइटेड क्लवले सारेको प्रस्ताव अन्तर्गत चिडियाखाना निर्माणका लागि प्रदान गर्न तयार रहेको बताए । लेखनाथ नगरपालिका ११, १२ र १४ नम्बर वडामा पर्ने पचभैया सामुदायिक बन उपभोक्ता समूह, चैनपुर सामुदायिक वन उपभोक्ता समुह र चप्रियानी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत पर्ने २ सय ३५ हेक्टर जमिनमध्ये आफूहरुले १ सय ५० हेक्टर जंगल पूर्णरुपमा चिडियाखानाका लागि प्रदान गर्ने सामुदायिक वन उपभोक्ता समितिहरुको निर्णय भइसकेको उनले जानकारी दिए । रुपाताल संगै जोडिएको सामुदायिक वनहरुमा चितुवा,मृग,अजिंगर लगायत विभिन्न प्रजातिका चराचुरुङ्गी सहित १ सय ३४ प्रजातिका जीवजन्तु र ३ सय ३६ प्रजातिका बनस्पतिहरुका साथै सिता गुफा समेत उक्त स्थानमा रहेकाले चिडियाखाना निर्माणका लागि उपयुक्त ठाउँ हुन सक्ने अध्यक्ष घिमिरेको भनाइ थियो ।
कार्यक्रममा वोल्दै पचभैयाका पर्यटन व्यवसायी दामोदरभक्त थापाले समग्र रुपाताल र बेगनासतालको विकासका लागि चिडियाखानाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आफूहरुले सम्पूर्ण बन उपभोक्ता समितिहरुको निर्णयमा चिडियाखानाका लागि जंगल प्रदान गर्न तयार रहेको वताए । त्यस अवसरममा बोल्दै युनाइटेड क्लवका अध्यक्ष तथा चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले पचभैयाको वन क्षेत्र चिडियाखाना निर्माणका उपयुक्त स्थल रहेको महसूस गरे । उनले जैविक विविधताले भरिपूर्ण रहेको सामुदायिक वन तथा पर्यटकीय हिसावले महत्वपूर्ण रहेको पचभैयामा यथाशक्य छिटो जिल्ला विकास समितिसंग समन्वय गरी विज्ञहरुको टोलीलाई उक्त स्थानमा सर्वेका लागि पठाउने बताए । कार्यक्रममा लेनपा ११ का पूर्व वडा अध्यक्ष दिनानाथ ढकाल, पचभैया प्रगतिशिल युवा मञ्चका अध्यक्ष जीवन पौडेल, युनाइटेड क्लवका कोषाध्यक्ष राजु श्रेष्ठ, युनाइटेड क्लवका सह–सचिव लोक वहादुर थापा, कोषाध्यक्ष राजु श्रेष्ठ, क्लवका सदस्यहरु शान्त बहादुर थापा, दिपक गुरुङ,सावित्री थापा, निर्मला लामिछाने, भीम गुरुङ, सुनिल थापा, अनिल गुरुङ, दिनेश सुनार लगायतको उपस्थिती रहेको थियो । केही दिन अघि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले समग्र पोखरालाई अन्तर्राष्ट्रिय शहरको रुपमा विकास गर्नका लागि विभिन्न १० वटा समितिमध्ये युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेललाई चिडियाखाना निर्माण समितिको संयोजक तोकेका थिए ।

Post a Comment

 
Top