0
गोल्डेन न्यूज संवाददाता
बाग्लुङ ३ माघ ।
 देविस्थान १ मा रहेको अन्नपूर्ण निमाविका प्रअ ताराबहादुर कार्कीले विद्यालयको जग्गाको साँध विवाद लामो समयपछि वडा अध्यक्षको सहयोगमा मिलाए । विवादका कारण नयाँ भवन, शौचालय जस्ता काम गर्न कठिन थियो, गाउँमा सर्वसम्मत रुपमा चयन भएका वडा अध्यक्ष पदमबहादुर मल्लले विद्यालयको विवाद मिलाएपछि नयाँ भवन निर्माण सम्भव भयो । कार्की जस्तै सामुदायिक र व्यक्तिगत समस्या भोग्दै आएका यहाँका धेरैजसोले आजकल अलपत्र रहेका मुद्दा वडा अध्यक्षमार्फत सल्ट्याउन थालेका छन् । देविस्थान गाविसका नौ वटै वडामा स्थानीयले सर्वसम्मत वडा अध्यक्ष चयन गरेर झैझगडा, साँधकिलो र केही कुटपिटका मुद्दा मिलाउने व्यवस्था गरेका हुन् । जनप्रतिनिधि नभएको बर्षौ भएकोले बढेको समस्या समाधानका लागि वडा अध्यक्षको व्यवस्था गरिएको पूर्व गाविस अध्यक्ष दिलेन्द्र रामजालीले बताए । ‘२०५४ सालदेखि स्थानीय निर्वाचन नभए पनि गाउँभेला गरी वडा अध्यक्ष चयन गरेका हौं,’ राम्जालीले भने, ‘अहिले वडा अध्यक्षको घरमा मुद्दा मिलाउन भ्याइ नभ्याइ छ ।’ स्थानीयले वडा नं। १ मा पदमबहादुर मल्ल, वडा नं। २ मा कुलमान भण्डारी, वडा न ३ मा भीमलाल पुन, वडा न ४ मा खालबहादुर घर्ती, वडा न ५ मा एकबहादुर सिंजाली, वडा न ६ मा मनबहादुर नेपाली, वडा न ७ मा टुलबहादुर विक, वडा न ८ मा ढालबहादुर कुँवर र वडा नं। ९ मा खिमबहादुर कुँवर लाइ वडा अध्यक्षमा चयन गरेका थिए । स्थानीय स्वायत्त शासन ऐनको मर्म अनुसार गाउँलेलाई स्वशासनको अनुभूति दिने, गाउँका मुद्दा र विवादलाइ प्रहरीमा नपुग्दै समुदाय तहबाट मेलमिलाप गर्ने तथा अदालत सम्म पुग्नै पर्ने भएमा मात्र सिफारिस गर्नेगरी वडा अध्यक्ष तोकिएको राम्जालीले बताए । जिविसका पूर्व उपसभापति समेत रहेका राम्जालीको अगुवाइमा गाउँलेहरुले वडाअध्यक्ष चयनको काम गरेका हुन् । वडा नं। १ मा तीन बर्ष अघिदेखि मल्ललाइ वडा अध्यक्ष बनाएपछि प्रभावकारिता बढेको देखेर गत वर्षदेखि अन्य वडामा अध्यक्ष चयन भएका हुन् । दैनिक विहान देखि बेलुकी सम्म कुनैन कुनै मुद्दाको काम नहेरी सुखै पाइदैनु वडा नं. १ का अध्यक्ष पदमबहादुर मल्लले भने,‘घर झगडा, साँध किलो र चोरी डकैतीका मुद्दा समेत हेरिदिनु पर्छ ।’ अन्य वडामा भन्दा उमेरले पाको भएकोले मल्ललाइ छिमेकी बुर्तिवाङ, बोहरागाउँ तथा राजकुत गाविसबासीले पनि समय समयमा विवाद समाधानका लागि डाक्ने गरेका छन् । गाउँ परिषद, सामुदायिक वन उपभोक्ता समितिको भेला, गाउँ सरसफाइको भेला तथा अन्य विकास निर्माणका काममा पनि गाउँलेहरुले वडा अध्यक्षहरुलाइ नै प्रमुख मानेर काम गर्दै आएका हुन् । ‘सामाजिक रुपमा सम्मानीत भएका छौं’ वडा नं. ७ का अध्यक्ष टुलबहादुर विकले भने,‘दलित परिवारको भएपनि सामाजिक अगुवा भएर काम गर्ने अवसर पाएपछि इमान्दारपूर्वक काम गरेको छु ।’ उनीहरुको यो अभियान लाइ छिमेकी गाविसबासीले पनि शुरुवात गर्ने तयारी गरेको बोहरागाउँ ५ का समुन्द्र चन्दले बताए ।

Post a Comment

 
Top