0
कास्कीको लेखनाथ स्थित रुपाताल पुनस्थापना तथा मत्स्य पालन सहकारी संस्थाले उत्पादन गरेको माछा बिक्रिका लागि पोखरामा बिक्रि डिपो सञ्चालन गरेको छ । उत्पादित माछाको बजारीकरण गर्ने उद्देश्यले संस्थाले आजदेखि पोखराको सिद्धार्थचोक स्थित श्री कम्प्लेक्समा बिक्रि केन्द्र स्थापना गरेको हो । रुपातालकै २ वटा डिपोबाट मात्र बिक्रि गर्दै आएकोमा आजदेखि पोखरामा पनि विस्तार गरिएको संस्थाका अध्यक्ष लेखनाथ ढकालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । केन्द्रमा दैनिक विहान ८ बजेदेखि ५ बजेसम्म सहकारीकै १ जना कर्मचारी खटाएर बिक्रि गरिने ढकालले बताए । उत्पादित माछा अहिलेसम्म लेखनाथ क्षेत्रमा नै खपत गरेको र अब पोखरा लगायत देशका विभिन्न शहरहरुमा समेत निर्यात गर्ने तयारी गरिरहेको सहकारीले जनाएको छ । केन्द्रको आज जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत रमेश कोईरालाले उद्घाटन गरेका हुन् ।
केन्द्रको उद्घाटन पछि बोल्दै कोईरालाले पछिल्लो समय बिदेशबाट नेपालमा माछा आयात हुने र त्यो खासै गुणस्तरिय नहुने भएकाले सहकारीले गुणस्तरमा ध्यान दिनुपर्ने बताए । ७५० जना शेयर सदस्य रहेको सहकारीले डेढ करोड भन्दा बढीको लगानीमा रुपातालको १ सय ३५ हेक्टर क्षेत्रफलमा माछापालन गर्दै आएको छ । बार्षिक ७० लाख रुपैयाँको माछा उत्पादन गर्ने सहकारीले खर्च कटाएर २० लाख भन्दा बढी नाफा गर्ने गरेको सहकारीका लेखा समितिका सदस्य रामचन्द्र ढुङ्गानाले जानकारी दिए । सहकारीले अहिले रहु, नैनी, कमन, भाकुर, ग्रास लगायतका ९ जातका उन्नत तथा शहर, बाम, रेवा लगायतका २२ जातका स्थानीय गरी ३१ जातका माछा उत्पादन गर्दै आएको छ ।
प्रत्येक ६÷६ महिनामा गरी बार्षिक २ लाख सम्म माछाका भुरा छोड्ने गरिएको र यसलाई अझै ब्यवसायिक र बढी उत्पादनमुलक बनाउने र उत्पादनलाई दोब्बर बनाउने तयारी गरिरहेको ढुङ्गानाले बताए । ताल संरक्षण र माछा उत्पादन बृद्धी गर्ने उद्देश्यले २०५८ सालमा स्थापना भएको सहकारीले अहिलेसम्म ४ करोड ९६ लाख रुपैयाँको माछा उत्पादन गरिसकेको छ । सहकारीमा अहिले १७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अब ३० जनासम्मलाई रोजगारीको ब्यवस्था गर्न सकिने अध्यक्ष ढकालले बताए । 

Post a Comment

 
Top