0

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आर्थिक वर्ष ०७१– ०७२ को प्रथम चौमासिक प्रगति विवरण सोमबार पोखरामा एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । कार्यक्रममा कास्की जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले बजार अनुगमन खाद्य अधिकार भन्ने कुरा प्रचलित भए पनि व्यवहारमा लागु नभएको बताएका छन् । उनले खाद्य सम्बन्धी अनुगमन सीमित मात्रामा भएकोले अनुगमनलाई पूर्ण रुपमा प्रभावकारी बनाउनुपर्नेमा  जोड दिदै कास्की जिल्लामा माग अनुसार ग्यास आपुर्ती नियमित रुपमा नभएको  बताएका छन् । कास्की जिल्लामा ग्यासको आपूर्ति कम हुनु निकै लज्जास्पद कुरा भएको गौतमको भनाई रहेको थियो । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय भैरवाहका प्रमुख किशोर खत्रीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यालयले ०७१ ०७२ मा खाद्य स्वच्छता तथा गुण नियन्त्रण कार्यक्रम, खाद्य तथा पोषण सुरक्षा  लगायतका कार्यक्रमहरु सञ्चालन गरी खाद्यान्नको गुणमा अनियमितता गरेकालाई कारवाही गरिएको जानकारी दिएका छन् । कार्यक्रममा खाद्य निरिक्षक शिवजी बरालले खाद्य अनुगमन सम्बन्धि उपभोक्तालाई जनचेतना दिनुपर्ने बताए । खाद्यन्न गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पौडैलले अनुगमन टोली बनाएर प्रत्येक उद्योग, कम्पनी, पसल, लगायतका ठाउँमा अनुगमन गर्ने सकेमा उचित हुने बताउंदै अनुगमन गरेर नागरिकको स्वास्थ्यको ख्याल राख्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै कार्यक्रममा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालाले खाद्य पदार्थका गुणस्तरको वर्गीकरण गरिनुपर्नेमा जोड दिए । साथै देशका हरेक पर्यटकीय शहरका होटल तथा रेष्टुरेण्टहरुमा अनुगमन गरेर त्यहां उपलब्ध हुने खाद्यपदार्थ खान लायकको छ या छैन भन्ने कुरालाई ध्यानमा राखेर खान हुने पदार्थमा स्टीकर टास्नुपर्नेमा समेत कोइरालाले जोड दिएका छन् । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले पश्चिमाञ्चलका १६ जिल्लाका विभिन्न पसल, होटल, रेष्टुरेण्ट, मिठाई पसलजस्ता ठाउंमा खाद्यपदार्थको अनुगमन गर्दै आइरहेको छ । कार्यक्रम अन्तर्गत अनुगमन गर्दा भेटिएका अखाद्यवस्तुहरुलाई नष्ट गरिएको कार्यालयले जनाएको छ ।  साथै अखाद्य वस्तुहरुलाई नागरिकको स्वास्थ्यसंग सम्झौता गरेर प्रयोग नर्गन समेत व्यवसायीलाई आग्रह गरिएको कार्यालयले जानकारी दिएको छ ।

Post a Comment

 
Top