0
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले संविधानले २००७ सालदेखिको जनताको आन्दोलनहरुको भावनालाई संवोधन नगरि संख्याको नाउँमा काँग्रेस एमालेहरुले ७ अञ्चल र ७५ जिल्लाको प्रतिगामी पुनसंरचनासहितको संविधान जारी गर्न चुनौति दिनुभएको छ । पोखरामा मंगलवारदेखि शुरु भएको अग्रगामी विद्यार्थी युनियनको प्रथम राष्ट्रिय सम्मेलनको दिप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै सभासद समेत रहनुभएका राईले दुईतिहाईबाट जवरजस्त जनविरोधी संविधान ल्याए जलाइदिने चेतावनी दिनुभयोे । तमुवानको माटोको सपथ ग्रहण गर्दै तमुवान जिन्दावाद नाराका साथ शुरु गर्नुभएको प्रमुख अतिथि राईले पहिचान भेटिने जातिय द्धन्द्ध मेटिने नाराले भोट मागेका काँग्रेस एमालेहरु अहिले पहिचान मेटिने जातिय द्धन्द्ध निम्त्याउने खेलमा लाग्दै ९ बुँदे प्रतिगामी खाकाले स्पष्ट ल्याएको आरोप लगाउनुभयो  । काँग्रेस एमालेको ९ बँुदे प्रस्तावले पञ्चायतकालिन १४ अञ्चल र ७५ जिल्लालाई ७ अञ्चल प्रदेश र ७५ जिल्ला बनाएर मुलुकलाई २०४७ सालतर्फ फर्काउन खोजेको आरोप लगाउनुभयो । हरियो घाँसभित्रको सर्प बनेर पहिचान पक्षधर जनताको भोट प्राप्त गरेर काँग्रेस एमाले गोमन साँप बन्दै पहिचान र संघीयतालाई डस्न खोजेकाले त्यस्तालाई डण्डा हान्न आग्रह गर्नुभयो । सबैलाई अधिकार सम्पन्न गर्न र पहिचान स्थापित गर्न संघीय समाजवादी पार्टी भएको बताउनुहुदै अध्यक्ष राईले पहिचान विरोधी फटाहाहरुले पहिचान भन्नु नै जातिय राज्य हो भन्ने गलत भ्रम फिजाएको बताउनुभयो । पहिचानले वर्तमान जातिय राज्यको अन्त गराई सबैको जाति, भाषा, धर्म, सँस्कृति, वर्गको साझा मुलुक बनाउने नारा हो भन्नुहुनै अध्यक्ष राईले अहिले पहिचान सहित अग्रगमन चाहने र पहिचान नचाहने प्रतिगामीहरु बिच संघर्षको अवस्था रहेको बताउनुभयो । गत संविधानसभा पहिचान विरोधीले विघटन गराएको स्पष्ट भएको बताउनुहुदै राईले दोश्रो संविधानसभामा आफुहरु पहिचानसहितको संघीयताका लागि शिष्टतापूर्वक लडिरहेको बताउनुभयो ।  सभासदसमेत रहनुभएका राईले दुई तिहाईको नाउँमा पहिचान र संघीयता विरुद्ध संविधान ल्याउन खोजे शिष्टता तोड्दै संविधानसभाबाट सडकमा आउने चेतावनी दिनुभयो । मुलभूत बिषयमा सहमति गरी प्रकृयामा जानुपर्नेमा काँग्रेस एमालेले दुइतिहाईको धम्की दिइरहेको उहाँको भनाई थियो ।हिजो प्रकृया प्रकृया भन्नेहरु आज सहमति सहमति भन्दै जनतालाई भुलाउन खोज्नेहरुका विरुद्ध पहिचानको आन्दोलनरुपी तीरको ताँदोमा चढेको छ, आवाश्यकता अनुसार ताँदो चलाउने र प्रतिगामीहरु निसानामा पर्ने बताउनुभयो । उहाँले जीवनमरणको लडाई लड्ने, घुँडा कहिल्यै टेक्दैनौ भन्नुहुदै आफुहरु बलीदान दिन तयार भएर राजनीतिको मैदानमा उत्रेको चेतावनी दिनुहुदै पहिचानसहितको संघीयता र अधिकारका लागि लडाईको तयारीमा जुट्न न्यायप्रेमी जनतालाई आग्रह गर्नुभयो ।  संघीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष रिजवन अन्सारीले अहिलेसम्मको आन्दोलनको उपलब्धि संस्थागत हुन नसकेको बताउनुहुदै सबैको पहिचान सुनिश्चित हुने आन्दोलनले सबै उपलब्धिहरु संस्थागत गर्ने दावी गर्नुभयो । पुर्व गृहराज्यमन्त्री समेत रहनुभएका अन्सारीले मुलुकलाई अहिलेसम्मका शासक र सैद्धान्तिक मुल्य मान्यताले निकास दिन नसकेकाले संघीय समाजवादी नविन सिद्धान्त स्थापित गरी गठन भएको संघीय समाजवादी पार्टीले नै सबै जाति, भाषा, धर्म, संस्कृति, लिंग, क्षेत्र, वर्ग समुदायलाई अधिकार सम्पन्न गरी समृद्ध नेपाल निर्माण हुने दावी गर्नुभयो । अर्का उपाध्यक्ष बीरबहादुर लामा शुभकामना व्यक्त गर्नुहुदै अन्तराष्ट्रिय जाति हुनेछ भन्ने कम्युनिष्टहरु नै जातिय राज्य संस्थागत गर्न जुटेको आरोप लगाउनुभयो । संघीय  समाजवादी पार्टीका अर्का उपाध्यक्ष दानबहादुर विकले पहिचान सहितको संघीयता र जनताको अधिकार सुनिश्चित गर्नका लागि आफुहरु अन्तिम लडाई लड्ने चेतावनी दिनुभयो । उहाँ वर्तमान जातिय राज्यले बनाइएको दलित समुदायको लागि गैरप्रादेशिक राज्यका सुनिश्चित गरिनुपर्ने बताउनुभयो । स्थायी समिति सदस्य गणेशमान गुरुङले विगतका आन्दोलनका उपलब्धिहरु संस्थागत गर्न र संघीय शिक्षा स्थापनाका लागि अग्रगामी विद्यार्थीहरु आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका केन्द्रीय सदस्य लिला सिटौलाले घोक्ने र घोकाउने माक्र्सवादी सिद्धान्तले मुलुकमा कुनै परिवर्तन ल्याउन नसकेकै कारण संघीय समाजवादी नयाँ सिद्धान्त स्थापित गरी वर्तमान जातिय एकल राज्यको अन्त्य गरी सबैको पहिचान हुने नेपाल निर्माण हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य तथा संघीय दलित मोर्चाका केन्द्रीय अध्यक्ष रामबहादु नेपालीले आफुलाई अपमानपूर्वक दलित बनाइएकोमा आपत्ति जनाउदै ज्ञान र दक्षतामा भएको शिल्पी समुदायको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । अग्रगामी विद्यार्थी युनियन प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक विवेक राईको अध्यक्षतामा भएको कार्यक्रममा नेफेसो युरोपका पेम्बा ग्याल्बो(पीजी)शेर्पा, संघीय युवा संघका अध्यक्ष सुनिल चौधरी, अखिल क्रान्तिकारीका सचिवालय सदस्य दिपेश पुन, आदिवासी जनजाति विद्यार्थी महासंघका वरिष्ठ उपाध्यक्ष भरत याख्या, अनेरास्ववियु पाँचौका अध्यक्ष धनश्याम मिश्र, अखिल नेपाल विद्यार्थी युनियनका केन्द्रीय संयोजक प्रविण मिश्र लगायतले पहिचान सहितको संघीयता, अधिकार सम्पन्न नयाँ संविधान, संघीय बैज्ञानिक शिक्षाका लागि सम्मेलनले जोड दिनुपर्ने शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सम्मेलन आयोजक समितिका सहसंयोजक सुवास पालुङवाले स्वागत र सदस्य सचिव केशव चाम्लिङले सञ्चालन गर्नुभएको थियो । चिप्लेढुंगा मानवअधिकार चोकमा सम्पन्न उद्घाटन समारोहमा कलाकारहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । पुस ३ गतेसम्म सञ्चालन हुने सम्मेलनमा ६१ जिल्लाका ४५० प्रतिनिधीहरु रहेको प्रतिनीधि व्यवस्थापन संयोजक सञ्जय राईले जानकारी दिनुभयो । पोखरा रंगशाल गेट अगाडि रहेको नेपाल मगर संघको सभाहलमा मंगलवार साँझदेखि बन्द सत्र शुरु भएको बताइएको छ ।  सम्मेलनले आगामी तीनबर्षका लागि ८१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने मुल व्यवस्थापन समितिका संयोज फरेन्द्र थापामगरले जानकारी दिनुभयो । 

Post a Comment

 
Top