0
नेपाल हक्की संघकोे आयोजना तथा कास्की जिल्ला हक्की संघको ब्यवस्थापनमा पोखरामा राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित  पुस ३ देखि ८ गतेसम्म पोखरामा लिगकम नकाउट राष्ट्रिय हक्कि प्रतियोगिता हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी समेत पुरा भएको ब्यवस्थापनको जिम्मेवारी पाएको कास्की जिल्ला हक्की संघका अध्यक्ष हिमाल खड्काले बताउनुभयो ।  पोखराको नदिपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको खेल मैदानमा संचालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच  र नेपाली सेनाको एक टिमसहित ६ टिमले प्रतिस्पर्धा गर्ने संघ कास्कीका सचिव एकराज गिरीले बताउनुभयो । प्रतियोगितामा विजेता टिमले ५० हजार, ट्रफि र प्रमाणत्र, उपविजेताले ३० हजार, ट्रफि र प्रमाणत्र, तेस्रोले २० हजार, ट्रफि र प्रमाणत्र तथा सान्त्वनाले १० हजार ट्रफि र प्रमाणत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न करिव दश लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।  नेपालमा तिन दशक अघिदेखि नै हक्की खेल  भित्रिएको भएपनि यस खेलको निरन्तर अभ्यास, प्रतियोगिता र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको र त्यही वास्तविकतालाई आत्मसाथ गर्दै हक्की खेललाई अन्य खेल जस्तै परिचित गराउँदै अगाडि बढाउने उद्देश्यका साथ पोखरामा हक्की प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ । यही प्रतियोगिताबाट नै साफ गेमका लागि प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमका लागि खेलाडिहरुको छनोट गरिने समेत पत्रकार सम्मेलनमा हक्कीका सहायक प्रशिक्षक अश्विनी अधिकारीले बताउनु भयो  । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा र हक्की संघका केन्द्रीय अध्यक्ष उमेशलाल प्रधानले उद्घाटन  गर्नु हुनेछ  अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

Post a Comment

 
Top