0
पोखरामा रहेर लामो समयदेखि पर्यटन गतिविधिमा सक्रिय रहेका नेपाली कांग्रेसका नेता बसन्त गौचनको ६१ वर्षको उमेरमा निधन भएको छ । गौचन नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन् । उनी उपचारको लागि भारतको नयाँदिल्लीमा पुगेकोमा उपचारकै क्रममा आइतबार निधन भएको हो । स्व. गौचनका भाई रोमी गौचन मुस्ताङ जिल्लाबाट कांग्रेसको सभासद छन् ।
गौचनको शवलाई काठमाडौं ल्याई सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।  गौचन पोखरामा रहँदा विशेषगरि पर्वतीय उडानमा चासो राख्दथे ।  पायल्स रोगबाट पीडित थकालीको पोखरामा भएको गलत उपचारका कारण किड्नी र लिभरमा असर परेको र थप उपचारका लागि भारत जाँदा त्यहाँ नै निधन भएको बताइन्छ । पोखराको ड्यामसाईडमा घर भएका गौचनका २ छोरा, ३ छोरी र श्रीमती छन् । मुस्ताङको लेते गाविस कालोपानीमा जन्मिएका गौचन त्यस क्षेत्रको समाज सेवीको रुपमा चिनिन्छन् ।
उनले त्यस क्षेत्रका वासिन्दाहरुलाई उपचार एवं अन्य अत्यावश्यक कामका लागि निःशुल्क हेलिकोप्टर सेवा समेत उपलव्ध गराउने गरेको बताइन्छ । उनले पोखरामा साँग्रिला एयर सञ्चालन गरि पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याएका थिए ।  यसका साथै गौचन पोखरास्थित विभिन्न संघसंस्था र थकाली  जातिको उत्थानमा समेत सक्रिय थिए । यसैबीच नेपाली काँग्रेस मुस्ताङले गौचनको निधनबाट पार्टीमा  अपुरणीय क्षति पुगेको जनाएको छ । यसैगरी नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले शोक विज्ञप्ति निकाली उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
यसैबीच पश्चिम क्षेत्रीय प्रहरी गण पोखराका गणपति प्रहरी परीक्षक भोजराज ओझाको हृदयाघातका कारण शनिबार बिहान निधन भएको छ । आफ्नै निवासमा सुतिरहेका ओझा अस्वस्थ भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ओझावको शव शनिबार नै काठमाडौं लगिएको थियो । उनी कास्की जिल्ला प्रहरी कार्यालयका साथै पर्वतमा पनि प्रहरी नायव उपरीक्षकको रुपमा काम गरि प्रहरी उपरीक्षकमा बढुवा भएपछि क्षेत्रीय प्रहरी गणमा गणपतिको रुपमा कार्यरत थिए ।

Post a Comment

 
Top