0

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार संघर्ष समितिले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाएको छ ।समितिका सचिव एवं प्रवत्ता बोधराज कार्कीले जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा विमानस्थल निर्माण क्षेत्रका जग्गाधनीलाई उचित मुआब्जा दिनुपर्ने, विमानस्थल वरपर तोकिएको मापदण्ड, नाला निर्माण, सिंचाई र स्थानीय विकास निर्माणका विषयमा ध्यानाकर्षणमा गराइएको छ । ज्ञापन पत्र बुझाउनुअघि विहान १० देखि ११ बजेसम्म जग्गाधनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीको मुख्य प्रवेशद्वारमा धर्ना समेत दिएका थिए। उनीहरुको धर्नाका कारण केहि समय कार्यालयको सेवा समेत प्रभावित बनेको थियो।  धर्नामा पोखरा – १४, १५ र १८ का जग्गाधनीहरु सहभागि थिए । धर्नापछि आयोजित सभामा बोल्दै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार संघर्ष समितिका अध्यक्ष बलराम कुँवर, सचिव बोधराज कार्की र कार्य सम्पादन समितिका सदस्य भिमसेन थापाले आफुहरुको आन्दोलन रहर नभएर बाध्यता भएको बताए । समितिको नेतृत्वमा मङ्सिरको २६ गतेदेखि पहिलो चरणको आन्दोलन शुरु भएको हो। २६ गते पोखराको अमरसिंहचोकमा विरोध सभा, २८ गते छिनेडाडाँस्थित अन्तर्राष्ट्रिय विमानस्थल परियोजनस्थलमा धर्ना दिइएको थियो । पुस ३ गते विमानस्थल क्षेत्रभित्र भइरहेको माटो परिक्षण तथा नाप जाँच लगायतका कार्य बन्द गराएपछि पहिलो चरणको आन्दोलन सकिने छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पछिल्लो पटक सरकारले अधिग्रहण गरेको ६ सय २९ रोपनी जग्गाको उचित मुआब्जा मागगर्दै स्थानीयहरुले आन्दोलन शुरु गरेका हुन् । सरकारले दिन लागेको मुआब्जा अति नै न्यून भएको जग्गाधनीहरुको भनाई रहेको छ । उचित मुआब्जा नदिए विमानस्थल निर्माणका लागि जग्गा समेत नदिने बताएका छन् । सरकारले विमानस्थलका लागि थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गर्ने तयारी गरेको छ । विमानस्थलका लागि चारदशक अघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप जग्गा अधिग्रहणका लागि मुआब्जा लिन आउनु भन्दै सूचना पनि प्रकाशित गरिएपछि मुआब्जा कम भएकोभन्दै जग्गाधनी आक्रोशित बनेर आन्दोलनमा उत्रेका हुन् । 

Post a Comment

 
Top