0
पोखरा उपमहानगरपालिका वडा नं. १८ बाच्छेबुडुवामा रहेको बात्स्यायन वृद्ध आश्रममा आश्रित कास्कीको गहतेका ९८ वर्षीय पर्वान गुरुङलाई रातपरेपछि बाहिर निस्कनै डर लाग्थ्यो । दिसाव–पिसाबको लागि अँध्यारोमा शौचालयसम्म पुग्न धेरै कठिन हुन्थ्यो । अझ बिजुली नभएको बेला त गुरुङलाई कोठामै बस्न पनि नरमाइलो हुन्थ्यो । गुरुङजस्तै हाल यस आश्रममा ९ जना आश्रित छन् जसमध्ये ६ महिला र बाँकी पुरुष । उनीहरु सबैलाई रातपरेपछि बाहिर निस्कन धेरै गाह्रो थियो । तर हिजोआज रातपरेपनि खासै समस्या छैन् । कारण हो त्यहाँ जडान गरिएको २ वटा सोलार प्यानलले ।
शान्तिदीप अभियानद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिट पोखरा तथा तिब्बेटियन शरणार्थी क्याम्प व्यापारिक एशोसिएशन पृथ्वीचोकले शनिवार आश्रममा आयोजना गरेका एक कार्यक्रममा सोलार प्यानल सेट हस्तान्तरण गरिएको हो । विभिन्न जिल्लाबाट आश्रममा जिवन बिताउन बाध्य भएका वृद्धवृद्धाहरुका लागि सो सहयोग गरिएको शान्ति दिप अभियानद्वारा सञ्चालित आकस्मिक रक्तदान पोखराका स्वयंसेवक हरिश्चन्द्र शर्माले बताए । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै उनले विश्वमा शान्ति स्थापना, आखा दान र रक्तदान जस्ता अभियानलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।  एउटा प्यानलबाट ८ वटा बत्ति बालिएको छ । हरेक कोठा र शौचालयमा समेत बत्ति भएपछि आश्रित वृद्धवद्धाहरु उत्साहित भएका छन् । बात्स्यायन वृद्ध आश्रमका अध्यक्ष गोकर्ण कार्कीले वृद्धाश्रम हाल सबैको आश्रमको रुपमा विकास भएको  बताउँदै यहाँसम्म आइपुग्दा विभिन्न कठिनाई व्यहोर्नुपरेको उल्लेख गरे । पोखरा लगायतका विभिन्न व्यक्तिहरुले आफ्ना पुण्यतिथि, जन्मदिन र विभिन्न पर्वहरुमा आश्रममा आएर सहयोग गर्ने गरेको जानकारी दिए । आकस्मिक रक्तदान युनिटका संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार सोलार प्यानल जडानका लागि करिव २० हजार रुपैयाँ खर्चिएको छ । तिब्बेटियन शरणार्थी क्याम्प व्यापारिक एशोसिएशन पृथ्वीचोकका अध्यक्ष खडानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रमा क्याम्पका मिमलाल श्रेष्ठ, कास्की मोटरसाइकल वर्कसप एशोसिएशनका अध्यक्ष माधव खतिवडा, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव जयराम अधिकारी लगायतले अवका दिनमा सबै वृद्ध हुनुपर्ने प्राकृतिक नियम भएको बताउँदै उनीहरुको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

Post a Comment

 
Top