0
पोखरा–१४, १५ र १८ का जग्गाधनीले आइतबार छिनेडाडाँ स्थित अन्तर्राष्ट्रिय विमानस्थल परियोजनस्थलमा मुखमा कालोपट्टी बाँधि धर्ना दिएका छन् । आइतबार बिहान भैरहेको वर्षाको समेत कुनै प्रवाह नगरी उनीहरुले विहान १० देखि ११ बजेसम्म धर्ना दिएका हुन् । विरोध सभा र धर्ना रहर नभएर बाध्यता हो क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार संघर्ष समितिका सचिव तथा प्रवक्ता बोधराज कार्कीले भने–हामीलाई सरकारले उचित मुआब्जा दिएर मात्र विमानस्थल निर्माण कार्य शुरु गर्नुपर्छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पछिल्लो पटक सरकारले अधिग्रहण गरेको ६ सय २९ रोपनी जग्गाको उचित मुआब्जा माग गर्दै स्थानीयहरुले शुक्रबारदेखि पहिलो चरणको आन्दोलन शुरु गरेका हुन् । शुक्रबार पोखराको अमरसिंह चोकमा विरोधसभा समेत गरिएको थियो ।
सरकारले दिन लागेको मुआब्जा अति नै न्यून भएको जग्गाधनीहरुको भनाई रहेको छ । उचित मुआब्जा नदिए विमानस्थल निर्माणका लागि जग्गा समेत नदिने बताएका छन् । धर्नापछि आयोजित सभामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार संघर्ष समितिका अध्यक्ष बलराम कुँवर, सचिव एव प्रवक्ता बोधराज कार्की र कार्य सम्पादन समितिका सदस्य राजु थापाले बोलेका थिए । सङ्घर्ष समितिको अगुवाईमा पुस १ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने र ३ गते विमानस्थल क्षेत्रभित्र भइरहेको माटो परीक्षण तथा नाप जाँच लगायतका कार्य बन्द गराउने सङ्घर्षका कार्यक्रमहरु सार्वजनीक गरिएको छ । सरकारले विमानस्थलका लागि थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गर्ने तयारी गरेको छ ।
विमानस्थलका लागि चारदशक अघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप जग्गा अधिग्रहणका लागि मुआब्जा लिन आउनु भन्दै सूचना पनि प्रकाशित गरिएपछि मुआब्जा कम भएकोभन्दै जग्गाधनी आक्रोशित बनेर आन्दोलनका उत्रेका हुन् ।

Post a Comment

 
Top