0
कास्कीको भदौरे तमागी गाविसको भदौरेमा यहि पुस १ गतेदेखि ६ गतेसम्म हुने १७औं भदौरे पञ्चासे महोत्सव २०७१ को तयारी पुरा भएको छ । आयोजक संस्था भदौरे क्लवले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि  महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । युवाहरुलाई खेलप्रति आकर्षित गरेर उनीहरुलाई समाज सेवामा लाग्न तथा कुलतबाट जोगाउन महोत्सवको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष अम्मर गुरुङ्गले जानकारी दिए । महोत्सवको अवसरमा भदौरे होम–स्टेको समन्वयमा पञ्चासे भ्रमणको व्यवस्था समेत गरिएको अध्यक्ष गुरुङ्गले जानकारी दिए । कास्कीको पर्यटकीय एवं धार्मिक स्थल पञ्चासेको नजिक हुन लागेको महोत्सवमा गाउँघरको परम्परा, रीतिरिवाज र संस्कृति झल्कने विभिन्न कार्यक्रम गरिने भएको छ । महोत्सवका अवसरमा हुने विभिन्न प्रतियोगिताहरुमध्ये पुरुष भलिवलमा करिब २० टीम, महिला भलिवलमा करिब ५ टीम, एकल नृत्य प्रतियोगितामा करिब ३० जना, छेलो फाल्ने प्रतियोगितामा करिब २५ जना र रस्साकस्सी प्रतियोगितामा ५ समूहले भाग लिने जानकारी क्लवका पूर्व अध्यक्ष आइन्दल गुरुङले गोल्डेन न्यूज दैनिकलाई बताए । महोत्सवको आकर्षणको रुपमा बाल उद्यान, पञ्चासे भ्रमण प्याकेज, जादु, प्रदर्शन, सूर्योदय र सूर्यास्तको अवलोकन, पप कन्सर्ट, गुरुङ्ग संगा्रहालयको प्रदर्शन, राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, मनसाय व्याण्डको प्रस्तुति, हास्य प्रहशन लगायतका कार्यक्रमहरु रहेको महोत्सव कार्यक्रमका संयोजक विवेक गुरुङ्गले जानकारी दिए ।
भलिबल प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय हुने समूहलाई नगद ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिने महोत्सवका संयोजक विवेक गुरुङ्गले जानकारी दिए । संयोजक गुरुङका अनुसार भलिबल प्रतियोगितामा  सेमिफाइनल पुग्ने २ समूहलाई नगद ५ हजारले पुरस्कृत गरिने छ । त्यस्तै नृत्य प्रतियोगितामा पहिलो, दास्रो, तेस्रो र सान्त्वना हुने २ जनालाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । महोत्सव आयोजना गर्नका लागि ८ लाख खर्च लाग्ने र १० लाग्ने आम्दानी हुने आयोजकले अनुमान गरेको छ । महोत्सवबाट बचत  रकमलाई समाज सेवा तथा पञ्चासेको विकासमा खर्च गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा होमस्टे कार्यक्रमका बारेमा जानकारी दिंदै सृजना आमा समूहकी अध्यक्ष दुर्गामाया गुरुङले होमस्टेमा १०० जना र होटलमा १०० गरि दुईसय जनालाई बसोबासको व्यवस्था गर्न सकिने बताइन । भदौरे क्लवका संरक्षक आशबहादुर गुरुङले महोत्सवले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै युवा वर्गलाई सामाजिक जागरणतर्फ प्रेरित गर्ने बताए । पत्रकार सम्मेलनमा स्थानीय भदौरे क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

Post a Comment

 
Top