0
कानूनमन्त्री एवं नेपाली कांग्रेसका नेता नरहरि आचार्यले विवादित विषयलाई थाँती राखेर भए पनि माघ आठ गते संविधान जारी गर्नुपर्ने बताएका छन् । स्याङ्जाको चिलाउनेवासमा अवस्थित जनप्रदीप उच्च माविको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मन्त्री आचार्यले संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणाली लगायतका विषयमा अझै मत भेद रहेकाले यी सबै विषयलाई थाती राखेर पनि संविधान घोषणा गर्नु जरुरी रहेको बताए । मन्त्री आचार्यले देशमा संविधान चाहने र नचाहने शक्तिहरुका बीचमा टकराव उत्पन्न भएको भन्दै संविधान बन्न नदिने तत्वलाई अव जनताले खवरदारी गर्नु पर्ने वताए । एकीकृत नेकपा माओवादीले संविधान नचाहेर नै यो वा त्यो वहानामा आन्दोलनका नाममा मोर्चा बन्दी गरेको उनले बताए । अबपनि संविधान वनाउन नसक्ने हो भने नेपाली जनताले अहिलेका राजनीतिक दल र नेताहरुलाई माफी नदिने उनले बताए । उनले सहमतिवाट संविधान बनाउन नसकिए सहमतिबाट भएपनि संविधान जारी गर्नुपर्ने बताए । शिक्षाको गुणस्तरले मात्र देशको उन्नति र प्रगति हुने भन्दै मन्त्री आचार्यले दक्ष जनशक्तिलाई स्वदेशमा नै बसेर नयाँ कामको सुरुवात गर्ने वातावरण मिलाईनु पर्ने बताए । उनले अहिले राष्ट्र संविधान निर्माणमा केन्द्रित भएको बताउँदै उनले संविधान बनिसकेपछि विकास निर्माणका कामले गति लिने विश्वास व्यक्त गरे । २०२१ सालमा स्थापित जनप्रदीप उच्चमाविले स्याङ्जाको उत्तरी भूभागको शिक्षमा विशेष योगदान पुर्याएको समेत मन्त्री आचार्यले चर्चा गरे । सो अवसरमा मन्त्री आचार्यले जनप्रदीप स्वर्ण स्मारिकाको पनि विमोचन गरेका थिए ।  कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति एव सभासद कमलप्रसाद पँगेनी, पूर्व कृषि मन्त्री त्रिलोचन ढकाल, उर्जा मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेल, पूर्व प्रधानाध्यापक पीताम्वर नेपाली, ठाकुरप्रसाद शर्मा, कृष्णवन्धु पौडेल, कृष्णप्रसाद सापकोटा, पूर्व गाविस अध्यक्ष गुणाखर सापकोटा लगायतले आ–आफ्ना भनाई राखेका थिए । सो अवसरमा चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले आफ्नो लोक प्रस्तुति राखेका थिए । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । कानूनमन्त्री नरहरि आचार्यले सोमबारै स्याङ्जाको रंगेठाँटीमा रहेको प्रधुम्न पनेरु उच्चमाविको नयाँ भवनको शिलान्यास समेत गरेका छन् ।

Post a Comment

 
Top