0
यातायात ब्यवस्था कार्यालय गण्डकीले मंगलबारदेखि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिने भएको छ । यसअघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिँदै आएको कार्यालयले सेवाग्राहीको चाप बढेको भन्दै सेवा समय थप गरेको हो । यसअघि ७ घण्टा सेवा दिँदै आएपनि भोलिदेखि भने २ सिफ्टमा बिभाजन गरेर १२ घण्टा सेवा दिने तयारी गरिएको कार्यालय प्रमुख भरत पौडेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । आज मंगलबारदेखि बिहान ६ बजेदेखि १२ बजेसम्म पहिलो सिफ्ट र १२ बजेदेखि साँझ ६ बजेसम्म दोश्रो सिफ्ट गरी २ सिफ्टमा सेवा दिनेछ । यातायात ब्यवस्था मन्त्रालयको निर्देशन अनुसार उपभोक्ताको चाप बढी हुने ठाउँहरुमा १२ घण्टा सेवा दिने तयारी भएको पौडेलले बताए । यातायात व्यवस्था कार्यालय गण्डकीमा अहिले दैनिक ४ सय भन्दा बढी सेवाग्राही सेवा लिन आउने गरेका कार्यालयले जनाएको छ । पहिले सवारी र लाईसेन्स फाँट एउटै कार्यालयमा रहेपनि गत साउनदेखि छुट्टाछुट्टै भएका थिए । लाईसेन्सबाट छुट्टिएपछि अहिले कार्यालयले सवारी साधनको दर्ता, नविकरण, जाँचपास, सरुवा सहमति, अञ्चलीकरण र रुट ईजाजत पत्र लगायतका सेवा दिँदै आएको छ ।

Post a Comment

 
Top