0
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माण कार्य जटिल बन्दै गएको बताएका छन् । अधिकृत विक्रेता संघ पोखराको आठौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै थापाले सरकारले विमानस्थल निर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेको भएपनि शिलान्यासको संघारमा मुआव्जा विवाद बढेकोले विमानस्थल निर्माण कार्य जटिल बनेको बताए । विमानस्थल निर्माण सरोकार समिति तथा सहयोग समितिका संयोजक समेत रहेका थापाले मुआव्जा विषयमा विवाद गर्दा विमानस्थल निर्माण प्रक्रिया नै अवरुद्ध हुने भएकाले अनावश्यक विवाद नगरि सहमतिमा आउन सबै पक्षलाई आग्रह गरे । सभासद शारदा पौडेल सहितका केही व्यक्तिप्रति लक्षित गर्दै थापाले भने–‘केही व्यक्तिको उक्साहट, केही  व्यक्तिको स्वार्थका कारण मुआव्जा विवाद निस्किएको हो । यो विषय धेरै जटिल होइन, बनाइएको हो । यस विषयमा सबै गम्भीर बन्नुपर्छ । विमानस्थल यस क्षेत्रको आश्यकता हो । विमानस्थल निर्माणका लागि व्यक्तिगत स्वार्थ त्यागेर अघि बढ्नुको विकल्प छैन ।’ अध्यक्ष थापाले विमानस्थलका जग्गा धनीले मागेका रकम धेरै र सरकारले दिने भनेको मूल्य न्यून भएकाले बीच बाटो अपनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने–‘सरकारले जग्गाको मूल्य प्रतिरोपनी २२ लाखदेखि ४२ लाख रुपैयाँ निर्धारण गरेको छ, जग्गाधनीले चलनचल्तीको भाउ भन्दा निकै कम मूल्य निर्धारण भएको भन्दै आनाकै १८ लाख रुपैयाँ माग गरेका छन् र नदिए विमानस्थल निर्माण प्रक्रिया नै अवरुद्ध पार्ने चेतावनी दिएका छन् । दुवै पक्षको आ–आफ्नो अडान छाडेर बीचको बाटो अवलम्वन गर्न जरुरी छ । बीच बाटोबाट समस्या समाधान गर्नका लागि संयोजकको हैसियतले म पहल गर्नेछु ।’
पोखरा उद्योग वणिज्य संघको विधान संशोधनको विषयमा बोल्दै अध्यक्ष थापाले संघको पुृरानो विधान संशोधनका लागि अबको तीन महिनामा विशेष अधिवेशन आह्वान गर्ने बताए । विधान संशोधनका लागि पदाधिकारीको कार्यअवधि ६ महिना पुगेको हुनुपर्छ । मेरो नेतृत्वमा समिति बनेको ३ महिनामात्र भएको छ । हामीले भर्खरै मेला सम्पन्न गरेका छौं । अबको बैठकले विधान संशोधन प्रक्रिया अघि बढाउने अध्यक्ष थापाले जानकारी दिए । उनले भने–‘संघको २०५० सालको विधानले निकै समस्या पारेको छ । विधान संशोधनका लागि तीन पटकको प्रयास असफल भएका छन् । यस पटक व्यापक छलफल गरि विधान संशोधन गरिनेछ ।’ विधान संशोधनका लागि विशेष भूमिका निर्वाह गरिदिन वस्तुगत संघका अध्यक्षहरुलाई उनले आग्रह गरे ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका बाबुराम गिरीले पोखराकोे विमानस्थलका बारेमा उत्पन्न मुआव्जा विवादले आफूलाई चिन्तित तुल्याएको बताए । विमानस्थल हामी सबैको आवश्यकता हो । विमानस्थल निर्माणमा अनावश्यक विवाद निकाल्नु राम्रो होइन अध्यक्ष गिरीले भने । अध्यक्ष गिरीले उपयुक्त औद्योगिक नीतिको अभावमा धेरै समस्या रहेका कारण नेपालका उद्योग, व्यवसाय फस्टाउन नसकेको स्पष्ट पारे । ‘निजी क्षेत्रको सहयोग र लगानी बिना मुलुकको विकास असम्भाव छ यो कुरा सरकारले बुझेकाले समय सापेक्ष औद्योगिक नीति ल्याउन आवश्यक छ’–अध्यक्ष गिरीले भने । वर्तमान समयमा व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय नै धरापमा पर्ने अवस्था रहेकाले यस विषयमा गम्भीर बन्न अधिकृत विक्रेता संघलाई उनले आग्रह गरे ।
संघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्यले व्यवसायिक हकहितमा संघले धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारे । संघ स्थापना भएपछि व्यवसायमा देखिएका केही समस्या समाधान भएका छन् । सबैलाई संघको डर लागेको छ तर सोचेअनुरुप काम हुन नसकेको कर्माचार्यको भनाइ थियो । संघका अध्यक्ष सुरेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रुद्र मल्ल, पुस्तक व्यवसायी महासंघ कास्कीका उपाध्यक्ष हरि पोखरेल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष माधव पौडेल, संघका आर्थिक सल्लाहकार प्रा.डा. वेदनीधि शर्मा, उपाध्यक्ष हरिराज पन्त र महासचिव अनिल श्रेष्ठले व्यवसायिक हकहितका लागि संघको सक्रियता अझै बढ्नुपर्नेमा जोड दिएका थिए ।
यसैबीच अधिकृत विक्रेता संघले पोखरा उपमहानगरपालिका कार्यालयले टेण्डर आह्वान गरि सडकमा नै पार्किङ शुल्क उठाउने कामको विरोध गरेको छ । साधारणसभाको बन्दसत्रमा प्रस्तुत प्रस्तावमा पार्किङ शुल्क लिने निर्णयको विरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनमा समर्थन गर्नुका साथै व्यवस्थित पार्किङकोृ आवश्यकतामा जोड दिइएको छ । यसका साथै संघले गाडीको सामूहिक कोष स्थापना, लगानीकर्ता राहतकोष, व्यवसायिक प्रशिक्षण आयोजना गर्ने लगायतका निर्णय गरेको छ । उक्त विषय कार्यान्वयनका लागि संघका सल्लाहकार रिजन शेरचन संयोजक र होमकुमार राई, श्रीराम घिमिरे, उमेश श्रेष्ठ र तारानाथ ढुङ्गाना सदस्य रहेको एक उपसमिति गठन गरिएको संघका उपाध्यक्ष हरिराज पन्तले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
पोखराका थोक व्यवसायीहरुको छाता संस्था अधिकृत विक्रेता संघ पोखराका सदस्य तथा सल्लाहकारहरुले नै संघको कार्यशैलीप्रति गुनासो गरेका छन् । शनिबार सम्पन्न साधारणसभामा सहभागी उनीहरुले पछिल्लो समयमा संघको भूमिका र प्रभावकारिताका बारेमा समेत गुनासो गरे । कार्यक्रममा बोल्ने पूर्व अध्यक्ष तथा सदस्यरुले समेत संघले सोचेअनुरुप काम गर्न नसकेको बताएका थिए । कार्यक्रम शुरु गर्न करिब १ घण्टा ढिलाई भएपछि सदस्यहरुले प्रश्न उठाएका थिए । यसका साथै उनीहरुले सदस्यहरुले आफ्नो सदस्यता नविकरण नगरेको, लामो समयसम्म रकम  उठ्न नसकेको गुनासो गरेका थिए । साधारणसभाको बन्दसत्रमा कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले प्रस्तुत गरको प्रतिवेदनमाथिको छलफलमा सदस्यहरुले गतवर्षको क्यालेण्डरमा प्रकाशित विज्ञापनको ठूलो रकम अझैसम्म पनि उठाउन नसकेको भन्दै ेनेतृत्वको आलोचना गरेका थिए । गतवर्ष (२०७०) को क्यालेण्डरमा प्रकाशित विज्ञापनको शुल्क करिब ३ लाख रुपैयाँ र सदस्यता नविकरणबाटमात्र गतवर्ष ५६ हजार र यसवर्ष सदस्यता नविकरणको १ लाख ५४ हजार गरि कूल २ लाख १० हजार रुपैयाँ उठ्न बाँकी रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको साधारणसभाको बन्दशत्रमा सहभागी एक सदस्यले गोल्डेन न्यूज दैनिकलाई बताए । संघमा हाल ७७ जनामात्र सदस्य रहेका छन् ।

Post a Comment

 
Top