0
अधिकांश मानिसहरु जन्मिएर नमरुन्जेलसम्म आफ्नो लागि काम गर्छन्, मेहनत गर्दछन् र यसैको आधारमा धन कमाउने र विलाशिताको जीवन निर्वाह गर्ने लक्ष्य राख्छन् । तर मुस्ताङ जिल्लाको लेतेमा जन्मिएका वसन्त गौचन भने आफूले सकेसम्मको परिश्रम र मेहनत गरेर धन आर्जन गरेपनि त्यो धन आफ्नो विलाशिताका लागि नभइ आफ्नो जिल्लावासी, असहय र विपन्नहरुका लागिमात्र खर्च गर्ने एक उदाहरणीय व्यक्तित्व हुन् । गौचनको योगदानको चर्चा उनको जीवनभरि नभएको होइन र जब उनले यो भौतिक संसारबाट अकस्मात बिदा लिन पुगे त्यसपछि भने उनको अभाव झनै खड्किएको छ । चाहे राजनीतिक क्षेत्र होस् या सामाजिक क्षेत्र होस् । त्यतिमात्र नभएर व्यवसायिक क्षेत्र र त्यसमा पनि पर्यटन क्षेत्रले गौचनलाई भुल्न सक्ने अवस्था रहँदैन । जीवनभर आफ्ना लागि भन्दा पनि अरुको खुशी र सुखमा रमाउने अनि अरुलाई नै सल्लाह, सुझाव र सेवा दिन रुचाउने गौचनको निधन विशेषगरि मुस्ताङवासी सर्वसाधारणका लागि निकै कष्टप्रद बन्ने देखिएको छ ।
पछिल्लो समयमा पोखरामा एयर डाइनेष्ट्री र मुक्तिनाथ होलिडेज ट्राभल एजेन्सी संचालन गरि पर्यटन व्यवसायको क्षेत्रमा निरन्तर सक्रिय गौचनको दिनचर्या पोखरामा बस्ने धेरैलाई जानकारी छ । बिहान करिब ५ बजे नै विमानस्थलमा पुगेर मुस्ताङतर्फ जाने यात्रुहरुका लागिमात्र नभई पोखराबाट काठमाडौं या अन्यत्र जाने सर्वसाधारणको सेवा तल्लिन रहने उनले कहिल्यै पनि आर्थिक लोभ र पदीय जिम्मेवारीको लालशा राखेनन् । हुन त उनले चाहना गरेको भए मुस्ताङ जिल्लाबाट मिल्न सक्नेसम्मको सर्वोच्च पद या जिम्मेवारी समेत उनले प्राप्त गर्न सक्थे ।
वि।सं। २०१० साल फाल्गुन ४ गते जन्मिएका गौचनले बिएस्ससी एग्रिकल्चरसम्म अध्ययन गरेर पनि सरकारी जागिर खाएनन् सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गर्ने मिनबहादुर शेरचनकी छोरी विमला गौचनसंगको वैवाहिक सम्वन्ध गासेका वसन्तका दुई छोरा मुकेश र अभिनेश तथा तीन छोरी रुवि, कादम र डिम्पल छन् । वसन्तको निधनले परिवारमामात्र नभइ थकाली समुदाय र मुस्ताङवासीका साथै कांग्रेसका नेता र कार्यकर्ताले समेत मन थाम्न सकेका छैनन् । उनीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्न आउनेहरु सबैको आँखा रसाउने गरेको छ । अझ नयाँ आगन्तुक त्यहाँ पुग्दा परिवारका सदस्यहरुको रुवावासीले सबै भावविह्ल बन्ने गरेका छन् ।
मुस्ताङमा एसएलसीसम्मको अध्ययन पश्चात् थप अध्ययनका लागि २०२७ मा काठमाडौं पुगेका गौचनको सम्पर्क तत्कालिन अवस्थामा नेपाली कांग्रेसका नेता विपि कोइराला र कृष्णप्रसाद भट्टराईसंग हुन पुग्यो । काठमाडौ।मा बस्ने क्रममा उनी क्षेत्रपाटी नजिक  थिए । त्यसैक्रममा पछिल्लो समयमा कांग्रेस नेता गणेशमान सिंहसंग पनि उनको सम्पर्क बढ्यो । त्रिचन्द्र कलेजमा अध्ययन गर्ने र कांग्रेसका शीर्ष नेताहरुसंगको सम्पर्कले थकाली परिवारका वसन्तमा पनि राजनीतिक चेतना बढ्दै गयो । हुन त उनका बुबा  जोगप्रसाद गौचन तत्कालिन राजा वीरेन्द्रसंग निकट भएकाले गौचन परिवारमा राजनीतिले प्रवेश पाइसकेको थियो । काठमाडौंको बसाइले वसन्त कांग्रेस र प्रजातन्त्रको पक्षमा उभिएपछि आफ्नै बुबा र छोराको बीचमा राजनीतिक द्वन्द समेत नउव्जिएको होइन । तत्कालिन अवस्थामा गौचनले कांग्रेसमा लागेर प्रजातन्त्रको लडाइँमा सक्रियता देखाउन थालेपछि पञ्चायती शासनकालमा उनलाई अनेक किसिमको दुःख दिन खोजियो । वि।सं।२०४६ सालको जनआन्दोलन अघि वसन्तले करिब ४ वर्ष अर्धभूमिगत जस्तै भएर जीवन बिताउन बाध्य भए । काठमाडौंमा रहँदा २०४२ सालमा पञ्चायती शासन विरुद्ध नेपाली कांग्रेसले शुरु गरेको सत्याग्रहको आन्दोलन र त्यसै अवस्थामा रामराजा प्रसाद सिंहको नेतृत्वमा मुलुकका विभिन्न स्थानमा भएको बम काण्डको प्रहार गौचन माथि पनि आइप¥यो । जसका कारण पञ्चायती शासकबाट दुःख कष्ट झेल्नुपर्ने भएपछि उनी काठमाडौं बाट पोखरामा आइ पुम्दीभुम्दी गाविसमा अर्धभूमिगत अवस्थामा बस्ने पुगे । करिब ४ वर्षको समय उनले कास्कीको पुम्दीभुम्दीमै रहेर सामान्य गाउँलेको शैलीमा काम गरेर बिताउन बाध्य भए । त्यस बेला उनलाई पोखराका अगुवा पर्यटन व्यवसायी हरिध्वज तुलाचन समेतले पर्यटन व्यवसायमा लाग्न सुझाव दिएका थिए तर त्यसअघि उनले एउटा व्यवसाय संचालन गर्नेक्रममा तत्कालिन शासकले दिएको दुःख र यातना सम्झिंदै फेरि व्यवसाय गर्ने हो भने यस्तै दुःख पाउनुपर्ने सम्भावना व्यक्त गरी व्यवसायप्रति रुचि देखाएनन् ।
तर २०४६ सालको जन आन्दोलनपछि मुलुकमा प्रजातन्त्रको पुनर्वहालीसंगै वसन्तमा व्यवसायिक उत्प्रेरणा जाग्यो । उनले हेलिकोप्टर तथा विमानको उडान सम्बन्धी काम र दुःख परेका सर्वसाधारणलाई सेवा पु¥याउने अभियानलाई तीव्रता दिए । त्यसबेला राजनीतिक रुपमा उनी नेपाली कांग्रेसका सबैजसो नेताहरुसंग निकट बनिसकेका थिए । अझ भन्ने हो भने त्यसबेला कांग्रेस नेता गिरिजा प्रसाद कोइरालासंगको उनको सम्बन्ध प्रगाढ रहन पुग्यो । त्यसपछिका हरेक राजनीतिक घटनाक्रममा उनी नेपाली कांग्रेसका नेता र इमान्दार सिपाही बनेर प्रजातन्त्र र कांग्रेसका लागि अहोरात्र खटे । तर उनले कुनै पदको लोभ गरेनन् ।
अग्रज पर्यटन व्यवसायी हरिध्वज तुलाचनका अनुसार शुरुमा सुशिलमान शेरचनसंग मिलेर वसन्तले रिड ट्राभल संचालन गरि मुस्ताङ लगायतका विकट जिल्ला र गाउँहरुमा हेलिकोप्टर सेवा संचालन गरेर बिरामी र असहायलाई सेवा दिन शुरु गरे । व्यवसायिक दौरानकै क्रममा वसन्तले मुस्ताङमा धेरैलाई कांग्रेस बनाए । तर आफूले कहिल्यै पनि लाभको पद लिन चाहेनन् । यसैगरी मुस्ताङका कांग्रेस नेता आनन्द शेरचनले वसन्त गौचनलाई मुस्ताङको एक मुख्य शक्तिका रुपमा लिन्छन् । हामी मुस्ताङमा रहेर राजनीति र समाजसेवामा तल्लिन भयौं तर हामीलाई पनि राजनीति र समाजसेवाको बाटो देखाउने काम वसन्तले नै गर्दथे । उनी सम्झन्छन्–‘वसन्तले कांग्रेसको सधैं भलो चाहने र आफूपनि कांग्रेसको कार्यकर्ता भएपनि अन्य पार्टीमा पनि समभाव राख्दथे । त्यसैले सबैले उनलाई मुस्ताङको बलियो शक्तिको रुपमा लिंदै आएका थिए ।’
आनन्द र हरिध्वजको कुरामात्र नभई मुस्ताङबाटै कांग्रेसको राजनीतिमा स्थापित व्यक्तित्व सुशिलमान शेरचन पनि वसन्तलाई आप्mनो अभिभावक जस्तो सम्झन्छन् । ‘उहाँ अत्यन्त मिलनसार र अरुलाई अर्ति उपदेश दिने खालका व्यक्तित्व हुनुहुन्थ्यो तर कहिल्यै पदको चाहना गर्नुभएन । यदि उहाँले मुस्ताङबाट पार्टी, जनप्रतिनिधि वा सरकारको विभिन्न जिम्मेवारीमा रहन चाहेको भए सजिलै पाउन सक्नुहुनथ्यो ।’–शेरचनले भने–‘जीवनको उत्तरार्धमा पनि वसन्तले मुस्ताङमा नेपाली कांग्रेसको आन्तरिक विवाद यथाशीघ्र सुल्झाउनुपर्ने खाँचो औंल्याउनुहुन्थ्यो ।’
पर्यटन व्यवसाय र ठेक्का पट्टामा समेत लागेका वसन्तले व्यवसायिक क्षेत्रबाट राम्रै पैसा कमाउन सक्थे तर उनको ध्यान आफूले आर्जन गरेको पैसा विपन्न र असहायका लागि खर्च गर्नेतर्फ नै जान्थ्यो । कसैको औषधि उपचार गर्न तथा समस्यामा परेकाहरुलाई काठमाडौं जोमसोम या जोमसोम–काठमाडौंमात्र नभएर हेलिकोप्टरको माध्यमबाट अन्यत्र कतै पु¥याउँदा पनि वसन्तले पैसामा लोभ गरेनन् । कसैलाई निःशुल्क त कसैलाई न्यूनतम् शुल्कमा सेवा दिएर सबैको मन जिते । उनको योगदान सम्झिंदै हरिध्वज तुलाचन भन्छन्–‘विभिन्न संघसंस्थामा लागेर सेवा दिन्छौं भन्नुभन्दा पनि एउटै काममा निरन्तर लागेर सेवा दिनु महत्वपूर्ण हुँदोरहेछ भन्ने कुरा वसन्तको कामबाट पुष्टि भएको छ ।’
मुस्ताङमा रहँदाका वसन्तका साथी नरसिंह शेरचनका अनुसार वसन्तले २०२६ सालमा जोमसोम मा अध्ययन सकेर पोखरा आइ एसएलसी परीक्षामा सहभागी भएका थिए । त्यो व्याच मुस्ताङको पहिलो एसएलसी व्याच हो । त्यसपछि उनी अध्ययन गर्नकै लागि काठमाडौ। पुगे । थकालीको छोरा भएर पनि व्यवसाय गर्ने र धन आर्जन गर्ने कुरामा भन्दा वसन्तको ध्यान प्रजातन्त्र, नेपाली कांग्रेस र जनताको हित र सेवामा नै केन्द्रित रहन पुग्यो । उनलाई पटक–पटक कांग्रेसको तर्फबाट सभासद बन्न समेत दवाव आएको थियो । तर उनले आफ्नो पारिवारिक अवस्था र भविष्यमा हुन सक्ने व्यवहारिक समस्यालाई आत्मसाथ गरेर कुनै पद लिन चाहेनन् ।’
पोखराका व्यवसायी प्रकाश शेरचनको विचारमा वसन्त गौचनले आफ्नो व्यवसायिक दौरानमा पैसा कमाएको भएपनि सामाजिक सेवामा नै बढी पैसा खर्च गरे । सायद त्यसैले हो कि उनको महत्व यसबेला झन बढेको आभाष भएको छ । उनले आफ्नो जीवनमा धेरै साथीभाइ र इष्टमित्र कमाएको र नेतृत्वले समेत उनलाई बढी नै विश्वास गर्ने वातावरण तयार भएको थियो ।
पार्टी र सर्वसाधारणले महत्व दिएकोले नै हुनुपर्छ उनको निधनपछि काठमाडौंमा भएको अन्त्येष्टि कार्यक्रममा र पोखरामा संचालन भइरहेको मृत्यु संस्कारमा सहभागी हुनेहरुको संख्या उल्लेखनीय रह्यो । वसन्तका भाइ तथा संविधान सभाका सदस्य रोमि गौचन पनि कांग्रेसलेमात्र नभई अन्य पार्टीका नेता कार्यकर्ता र मुस्ताङवासी सम्पूर्णले वसन्तको योगदानलाई सम्झिएका छन् । त्यसैले होला प्रधानमन्त्री सुशिल कोइराला, उपप्रधानमन्त्री प्रकाशमान सिंह, कांंग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौलासहित पार्टीका अधिकांश केन्द्रीय सदस्यहरु र नेताहरु वसन्तको काठमाडौंमा भएको अन्त्येष्टिमा सहभागी बने । त्यसपछि पोखरामा भइरहेको मृत्यु संस्कारमा पनि मुस्ताङवासीको उल्लेख्य सहभागिता रहेको छ । यसले पनि के स्पष्ट पार्दछ भने वसन्त नेपाली कांग्रेस र आम सर्वसाधारणका लागि एक अनुकरणीय व्यक्तित्व हुन् ।
राजनीतिक रुपमा अर्को पार्टीमा लागेको भएपनि सत्यनारायण शेरचनलाई वसन्तको निधनले दुःखी तुल्याएको छ । अरुलाई परेको पीडा आफैमाथि परेको महसूस गर्ने वसन्तले पैसा नहुनेहरुलाई समेत हेलिकोप्टरको सेवा दिने गरेको सत्यमानको भनाइ छ । उनका अनुसार वसन्तले सधैं कांग्रेसको राजनीति गरे तर उनी सबै मुस्ताङवासीका लागि सर्वमान्य व्यक्तित्व मानिन्छन् ।
वसन्तका भाइ रोमी गौचनले पछिल्लो समयमा आफ्ना दाजु वसन्त गौचन पार्टीका नेताहरुको कार्यशैलीप्रति केही असन्तुष्ट बन्नुभएको बताउँछन् । जनताको चाहना बमोजिम नेताहरुले काम गर्नुप¥यो, नेपाली कांग्रेसले पनि समाजवादी बाटो छोड्न भएन । जुनसुकै तरिकाले पनि निर्धारित समयमा संविधान जारी गर्नुपर्ने जस्ता कुरामा दाजु वसन्तले चिन्ता लिने गरेको सभासद रोमी बताउँछन् ।
यतिबेला वसन्तको निधनले कांग्रेसजन र मुस्ताङवासीहरु त दुखित बनेका छन् नै यसका साथै उनले संचालन गरेको एयर डाइनेष्टी र मुक्तिनाथ होलिडेजले निरन्तरता पाउने कि नपाउने भन्ने प्रश्न सबैले उव्जाएका छन् । वसन्तसंगै ति दुै संस्थामा रहेर ६ वर्षदेखि काम गरेका वसन्तकै भान्जा सदिप तुलाचन भन्दछन्–‘अव मैले मामाको व्यवसायलाई निरन्तरता दिन जरुरी सम्झेको छु । उहाँले गर्नुभए जति सेवा सबैलाई दिन नसकुँला तर उहाँको इज्जत र प्रतिष्ठाका लागि पनि मैले हरसम्भव प्रयत्न गर्नेछु ।’  सदिपले अंग्रेजीमा स्नातकोत्तर गरेपछि एमफिल गर्ने सोच हुँदाहुँदै पनि मामा वसन्तसंग पुगेर ६ वर्षअघि ती दुवै संस्थाको कारोवारमा सरिक भएका थिए ।
स्वास्थ्य उपचारका लागि पोखराबाट काठमाडौं हुँदै भारतमा पुग्दा समेत वसन्तले हरेष नखाएको बताउँछन् उनका आफन्तहरु । अरुको दुःखमा साथ दिने वसन्तले आफूलाई भएको पीडा समेत अरुसंग देखाउन चाहेनन् । भारतको अस्पतालमा अन्तिम अवस्थामा पुग्दा पनि उनले आफूलाई सामान्य असर परेको भएपनि चिन्ता नलिन र अँध्यारो मुख नगर्न सबैलाई आग्रह गरिरहन्थे । उनका साथी जयन्द्रलाई अन्तिम समयमा फोन गरेर पनि जयन्द्रसंग सम्पर्क हुन नसकेको कुराले अहिले जयन्द्र समेत पश्चातापमा परेका छन् । उहाँले अस्पतालको बेडबाट अन्तिम अवस्थामा गरेको फोन समेत मैले उठाउन नपाउँदा म आफैलाई दुःख लागेको छ । जयन्द्रले धेरैसंग यही कुरा राख्दै आएका छन् । जहिले पनि आफ्नो भन्दा अरुको र त्यसमा पनि विपन्न र असाहयलाई सेवा गर्न पाउँदा रमाउने वसन्तले कांग्रेसको एकता र संगठन सुदृढ गर्ने कुरामा धेरै चिन्तित हुन्थे । उनलाई अन्तिम अवस्थामा एयर एम्वुलेन्सबाट भारतमा उपचारार्थ लैजाँदा मात्रै पनि २० लाख रुपैयाँको हाराहारीमा खर्च भएको छ । पार्टीले अथवा सरकारले गौचनको उपचार खर्च बापत केही सहयोग गरे राम्रो हुने भनाई छ कतिपय उनका शुभचिन्तकको ।
जेहोस् पञ्चायत कालदेखि गणतन्त्रसम्म आइपुग्दा वसन्तले धेरैलाई सेवा गरेका छन् र एक आदर्श पुरुषको रुपमा चिनिएका छन् । यसका साथै प्रजातन्त्रवादी तथा कांग्रेसको नेता रहेर पनि कहिल्ःयै स्वार्थको राजनीति नगर्ने इमान्दार, मृदुभाषी र वरिष्ठ समाजसेवीको दर्जामा उभिएका वसन्तको योगदानलाई स्मरण गर्दै उनले देखाएको बाटोमा हिंड्न सक्ने हो भने मात्र उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । यसतर्फ विशेषगरि नेपाली कांग्रेसको केन्द्रदेखि जिल्ला तहले समेत वसन्तको नाम र योगदानलाई चीरस्थायी बनाउन उपयुक्त पहल गर्नु आवश्यक छ ।
                                                                                                                                    गंगाधर पराजुली


                                                                                                                       


Post a Comment

 
Top