0
प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जुनियर लेभलको फुटबल उपाधि ढुंगेसाँघु बोर्डिङ स्कुलले जितेको छ । आइतबार हेमजामा भएको फाइनलमा स्नो भ्यू स्कुललाई २–० ले पराजित गर्दै ढुंगेसाँघु बोर्डिङ स्कुलले जुनियर फुटबल प्रतियोगिताको उपाधि जितेको हो । तेस्रो स्थानको लागि भएको खेलमा हिमाञ्चल बोर्डिङ स्कुलले पोखरा एकेडेमीलाई टाइब्रेकरमा ४–३ ले पन्छायो । पोखरा रङ्गशालामा भएको सिनियर फुटबलमा सोसल पब्लिक स्कुल, नोभेल इन्टरनेशनल स्कुल, नेपाल आदर्श आउमावि र ताराकुञ्ज बोर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको खेलमा समूह ए को सोसलले भ्यूपोइण्ट स्कुललाई १–०, नोभेलले बेथानीलाई ३–०, समूह बी को ताराकुञ्जले शान्तिदीपलाई २–१ तथा नेपाल आदर्शले न्यू मिलिनियम एकेडेमीलाई २–० ले पराजित गरेका हुन् । सेमिफाइनल पुस १ गते हुनेछ । छात्रा भलिबलतर्फ पनि सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको खेलमा नोभेल इन्टरनेशनल स्कुलले न्यू मिलिनियम एकेडेमीलाई २५–११, २५–८, केफ उमाविले सृजना उमाविलाई २५–२०, २५–२० ले पराजित गरेको छ । सोमबार टप्स र नोभेल तथा हिलपोइण्ट र केफ उमाविबीच सेमिफाइनल खेल हुनेछ । छात्रतर्फ नोभेल इन्टरनेशनल स्कुलले डायमण्ड उमाविलाई २५–१०, २५–११ ले पराजित ग¥यो । पोखरा पब्लिक स्कुल र अल्फा बोर्डिङ स्कुलबीचको अर्को खेल एक–एक सेटको बराबरीमा भएको स्थितिमा खराब प्रकाशका कारण स्थगित गरेको र सोमबार सुरुबाटै खेलाइने प्याब्सन कास्कीका सहसचिव राजु अधिकारीले जानकारी दिए । सोमबार नै रिभरडेल स्कुल र नवदीप बोर्डिङ स्कुल तथा हिलपोइण्ट र हिलसाइड बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुनेछ । एथलेटिक्सतर्फ सम्पूर्ण खेल वर्षाका कारण स्थगित गरिएको र सोमबार नियमितरूपमा सञ्चालन हुने प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । टेबुलटेनिस छात्र सिङ्गलतर्फ न्याश्नल इन्भेन्टिभ बोर्डिङ स्कुलका विवेक भुजेल प्रथम, स्टेप बाई स्टेप उमाविका सुजन पौडेल द्वितीय र हिलपोइण्ट हाइस्कुलका रितेश बाँस्तोला तृतीय भएका छन् । डबल्सतर्फ न्याश्नल इन्भेन्टिभ बोर्डिङ स्कुलका विवेक भुजेल र प्रकाश मगरको जोडी प्रथम, डायमण्ड उमाविका अभिषेक सुवेदी र विपिन बरालको जोडी द्वितीय तथा सिद्धार्थ बोर्डिङ स्कुलका प्रवेश थापा र मनित थापाको जोडी तृतीय भएको छ । छात्रा सिङ्गलतर्फ हिलपोइण्ट हाइस्कुलका सविना गुरुङ प्रथम, स्टेप बाई स्टेप उमाविका सुस्मिता सुवेदी द्वितीय तथा डायमण्ड उमाविका तृप्ती क्षेत्री तृतीय भएका छन् । छात्रा डबल्सतर्फ न्याश्नल इन्भेन्टिभ बोर्डिङ स्कुलका नम्रता लामिछाने र सुशिला मगरको जोडी प्रथम, सृजना उमाविका मना थापा र सञ्जीना पाण्डेको जोडी द्वितीय तथा हिलपोइण्ट हाइस्कुलका सविना गुरुङ र सीता शर्माको जोडी तृतीय भयो ।

Post a Comment

 
Top