0

नेपाली समाजमा अझै पनि एचआइभी र एड्स सङ्क्रमित भन्ने बित्तिकै हेयको दृष्टिले हेर्ने सोचमा परिवर्तन आइसकेको छैन । त्यसैले कैयौँ एचआइभी र एड्स सङ्क्रमितहरू आफूमा भएको रोग बताउन र खुल्न हिच्किचाउने गर्छन् । बैतडीकी १३ वर्षीया मञ्जु चन्द भने आफू एचआइभी सङ्क्रमित भएको कुरा लुकाउन चाहँदिनन् । कीर्तिपुर भत्केपाटी स्थित सफलता एचआइभी शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत उनी आफूलाई एचआइभी भएको पनि थाहा छ र यो लाग्नुको कारण पनि, त्यसैले उनले आफूमा रहेको रोग अरूका अगाडि लुकाइनन् । उनी भन्छिन्, “मेरो ड्याडी भारतमा कामका लागि जानुहुन्थ्यो त्यही बेला उहाँलाई एड्स लागेको थियो र ममीलाई पनि त्यो रोग स¥यो । हामी जन्मिएपछि हामी पनि एचआइभी सङ्क्रमित भयौँ ।’ उनको एक भाइ पनि छ । उनीहरूको जन्म भएको केही समयपछि नै आमाबाबुको मृत्यु भयो । उनीहरूको काकाकाकीले हेरचाह गर्न थाले । उनीहरूलाई बारम्बार झाडापखाला लाग्ने, बान्ता हुने भएपछि जचाउँदा एचआइभी पोजेटिभ देखियो । त्यसपछि उनीहरूका काकाकाकी पनि उनीहरूदेखि डर मान्ने गर्न थालेका थिए ।
उनले भनिन्, “त्यतिबेला हामीलाई एड्स भनेको के हो भन्ने थाहा थिएन तर गाउँलेले गरेको दुव्र्यवहार र घृणाले साह्रै रुन मन लाग्थ्यो हाम्रा ममी ड्याडी भएको भए यस्तो हुने थिएन भन्ने लाग्थ्यो ।’ चन्द भन्छिन्, त्यही बेला एउटा पत्रिकामा हाम्रो अन्तर्वार्ता छापियो र त्यही पढेर यस विद्यालयबाट सर जानुभयो र हामी पनि यतै आयौँ । अहिले उनी र उनको भाइलाई यसै विद्यालयमा पढ्ने र बस्ने व्यवस्था मिलाइएको छ । सल्यानका प्रकाश भण्डारी सो विद्यालयमा आएर पढ्न थालेको पनि चार वर्ष भइसकेको छ । यहाँ सबै आफू जस्तै एचआइभी सङ्क्रमित बालबालिका भएकाले पनि कसैले कसैलाई हेय वा नराम्रो व्यवहार नगर्ने उनले अनुभव गरेका छन् । तेह्र वर्षका भण्डारीलाई छ वर्षको हुँदा एचआइभी भएको थियो । आमाबाबुबाटै एचआइभी सरेको उनी र उनको बहिनीलाई आमाबाबुको मृत्युपछि मामाघरमा पठाइएको थियो । तर पछि एचआइभी सङ्क्रमित भएको मामाघरमा थाहा हुनेबित्तिकै वास्ता गर्नै छाडिदिए–उनले भने । अङ्कलले मामाघरमा पठाउँदै अब यहाँ नफर्किनु भनेको शब्द उनी अझै पनि सम्झन्छन् । तर मामाघरमा पनि उनीहरूले माया पाउन सकेनन् र त्यहाँको स्थानीय रेडक्रस सोसाइटीको सहयोगमा उनीहरू यहाँ आएका हुन् । अहिले उनीहरू यही विद्यालयमा बसेर अध्ययन गरिरहेका छन् । उनीहरू जस्तै एचआइभी सङ्क्रमित २१ बालबालिका सो विद्यालयमा आश्रय लिइरहेका छन् । आफन्तबाट अपहेलित भएर बाँच्नुको पीडा भोगिसकेका उनीहरू अब जीवन आफूमा भएको रोग लुकाएर नबस्ने बताउँछन् ।     सदनका अध्यक्ष राजकुमार पुनले नेपालभरका बालबालिकालाई शिक्षित बनाउने आफ्नो लक्ष्य रहेकाले यो सुरुवाती कदम भएको बताए । आफू पनि दुर्गम जिल्ला रुकुमको भएकाले उनलाई दुर्गम क्षेत्रमा एचआइभी सङ्क्रमित बालबालिकालाई हेर्ने दृष्टिकोणका बारेमा राम्ररी थाहा थियो । त्यसैले उनले २०६६ देखि नै यस्ता बालबालिकाको सहयोगका लागि काम थालेका थिए ।
सुरुमा काठमाडौँमा चारजना सङ्क्रमित बालबालिकालाई ल्याएर संस्था चलाउन खोज्दा कसैले पनि कोठा भाडामा नदिएको उनले सुनाए । उनले भने, “त्यसपछि मैले रुकुममा रहेको मेरो जग्गा बेचेर अहिले यहाँ घर किनेर घरमा नै वैकल्पिक विद्यालयका रूपमा सञ्चालन गरिरहेको छु ।” विभिन्न पत्रपत्रिकामा यस्ता बालबालिकाको बारेमा छापिएको समाचारका आधारमा उनी त्यस क्षेत्रमा पुग्ने र सम्बन्धित निकायको रोहवरमा बालबालिकालाई ल्याउने गर्दछन् ।  सङ्क्रमित बालबालिकामा हेमोग्लोबिन कम हुने, हाइड्रोसिलजस्ता रोगले पनि बेलाबेलामा सताउने गरेको उनले बताए । अरू बेलामा समस्या नभए पनि रातको समयमा बालबालिकालाई सञ्चो नभएमा अस्पताल पु¥याउनै समस्या रहेकाले एउटा एम्बुलेन्सको व्यवस्था हुन सके ठूलो राहत पुग्ने उनको भनाइ छ । एचआइभी तथा एड्स सङ्क्रमित आमाहरूले एआइभी औषधिको नियमित प्रयोग र पर्याप्त मात्रामा सन्तुलित पौष्टिक आहार खाने हो भने उनीहरूबाट जन्मने बालबालिकामा ९९ प्रतिशत यो रोग नसर्ने सम्भावना रहेकाले सङ्क्रमित आमाले यसबारे सचेत हुन उनले सुझाए ।

Post a Comment

 
Top