0
इन्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखरामा आयोजित आइटि महासंघ नेपालको भेलाले पश्चिमाञ्चल अध्यक्षमा दुई वर्षका लागि तदर्थ समितिका संयोजक विष्णुहरि पौडेललाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा रमेश थापा, सचिव सुनिल दाहाल, कोषाध्यक्ष दिपकराज गिरी, सदस्यहरु विदुर देवकोटा, विक्रम अधिकारी र सुरेश सापकोटालाई चयन गरेको छ भने दुई सदस्य पछि थप गर्ने जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै  महासंघका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि राजु कुशवाहले सरकारी कार्यालयहरुलाई लक्षित गरि सूचना प्रविधिसँग सम्वन्धित कार्यक्रमलाई अगाडि बढाउन र जनचेतना अभिवृद्धि गर्दै सेवाग्राहीलाई सुसूचित गर्न सूचना र प्रविधिमा काम गर्ने संस्थाले पहल गर्नु पर्नेमा जोड दिए । उनले सूचना प्रविधिमा काम गर्नेले व्यक्तिगत भन्दा पनि बहुजन हितायमा समर्पित हुनुपर्ने धारणा राखे । पश्चिमाञ्चलका १२ जिल्लाबाट ७० भन्दा बढीको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विष्णुहरि पौडेलले सूचना र प्रविधिसँग सम्बन्धित संघसंस्था एवम् सरोकारवालासँग समन्वय गरेर कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । पौडेलले पश्चिमाञ्चलका १६ वटै जिल्लाका शाखा मार्फत् सरकारी र निजी संघ–संस्थाहरुलाई प्राविधिक सेवा र सेवाग्राहीलाई प्रविधिका बारेमा चेतना अभिवृद्धि गराउने जानकारी दिए । नेपाल सरकारका सरकारी कार्यालयमा  सूचना र प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीहरुलाई चुस्त–दुरुस्त शैलीमा छिटो छरितो सेवा प्रवाह गर्ने कार्यमा सहयोग पु¥याउनु आइटि महासंघको उद्देश्य रहेको छ । सेवाग्राहीलाई आवश्यक चेतना अभिवृद्धिसँगै सरकारी कार्यालयका कर्मचारीलाई दक्ष बनाउन क्षमता अभिवृद्धिका तामिलहरु सञ्चालन गर्ने छ । तदर्थ समितिका संयोजक विष्णुहरि पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुनिल दाहालले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव दिपकराज गिरीले गरेका थिए ।

Post a Comment

 
Top