0
पोखरा २२ असार ।
पोखरेली उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनको मिति अनिश्चित भएपनि महाधिवेशन बाट संघको नयाँ नेतृत्वमा पुग्नका लागि भने दौडधूप शुरु भएको छ । संघका वर्तमान अध्यक्ष संजीवबहादुर कोइराला र प्रथम उपाध्यक्ष विन्दुकुमार थापा अध्यक्ष बन्ने दौडमा उद्योगी व्यवसायी समक्ष औपचारिक तथा अनौपचारिक भेटघाटमा सक्रिय हुन लागेका छन् । यसअघिको महाधिवेशनमा पनि कोइराला र थापाबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको अवस्थामा संघका पूर्व अध्यक्षहरु सहित केही प्रतिष्ठित व्यवसायीहरुले सहमति र एकताको आधारमा संघलाई अघि बढाउने भन्दै अघिल्लो कार्यकाल कोइरालाका लागि तय गरिदिएका  थिए । पारिवारिक नाता सम्बन्धका कारण कोइराला र थापा ज्वाइँ जेठान पर्ने भएकोले पारिवारिक विखण्डन हुन नदिन र पोउवा संघमा एकता कायम गर्न सहमतिको प्रयास गरिएको र आफूहरुले सार्थकता पाएको जानकारी तत्कालिन अवस्थामा पूर्व अध्यक्षहरुले सार्वजनिक संचारमाध्यममार्फत समेत प्रवाह गरेका थिए । यसपटक पनि अघिल्लो पटकजस्तै कोइराला र थापा बीचमा नै चुनावी प्रतिस्पर्धा हुने निश्चित जस्तै देखिएपछि पूर्व अध्यक्षहरु समेत विभाजित बन्ने हुन् या अघिल्लो पटकजस्तो सहमतिको प्रयास गर्ने हुन् ? त्यो भने समयले बताउला तर कोइराला र थापा दुवैले आफ्ना लागि भन्दा पनि आफ्ना समर्थक र उत्तराधिकारीको खोजीलाई प्राथमिकता दिएको चर्चा पनि त्यत्तिकै छ । कोइरालाले आफ्नो समूहका ईश्वर कर्माचार्य र नारायण कोइरालाई नेतृत्वमा पु¥याउनका लागि बढी कसरत गरेको कतिपयको बुझाइ छ । कोइरालाले आफ्नो समूहका व्यक्तिहलाई नेतृत्वमा पु¥याउन नसक्ने हो कि भन्ने आशंकामा आफू नै दोस्रो पटकका लागि उम्मेदवार बन्न लागेको बताइन्छ । थापा भने यसपटक आफू स्वभाविक हिसावले अध्यक्ष पाउने विश्वासमा थिए । अघिल्लो पटक पूर्व अध्यक्षहरुको रोहवरमा गरिएको सहमति र संघको वहालवाला प्रथम उपाध्यक्ष समेत भएकाले पनि थापाले विश्वास गर्नुलाई अश्वभाविक मान्न सकिन्न । कोइरालाले अध्यक्ष बनेपछि आफू अझै बलियो भएको र उद्योगी व्यवसायीको मन जित्न सफल भएको दावी गर्न थालेका छन् । उनले पोखरा बजारको फूटपाथलाई व्यवस्थित गर्न र व्यवसायीहरु माथि पोखरा उपमहानगरपालिकाले लगाएको कर एवं अन्य विषयमा आफूले प्रभावकारी भूमिका निर्वाह गरेका कारण सदस्य व्यवसायीले समर्थन गर्ने विश्वास लिएका छन् । तर कोइरालाप्रति असहमति प्रकट गर्नेहरुको पनि आफ्नै तर्क छ । पोखराको फूटपाथ व्यवस्थित गर्न पोउवासंघमात्र नभइ नगरपालिका र विभिन्न संघसंस्था, स्थानीय सुरक्षा तथा प्रशासनिक  अधिकारीहरु र संचारकर्मीहरु समेतको संयुक्त प्रयासले मात्र फुटपाथ व्यवस्थित हुन सकेको कुरालाई कुनै एक व्यक्तिले मात्र जस लिन नपाउने बताएका छन् ।
यसका साथै कोइरालाका प्रतिस्पर्धी मानिएका थापाले समेत अध्यक्षले नेतृत्व गर्ने अवसर पाएपनि पोउवासंघको सबै टिमको सहयोग र समर्थनका कारण कतिपय काम प्रभावकारी देखिएको तर कतिपय निर्णय गर्न तथा ति निर्णयको कार्यान्वयन गर्न नेतृत्व तहबाट सही भूमिका निर्वाह हुन नसकेको भन्दै आफ्ना मतदाता व्यवसायीहरु समक्ष पुग्न थालेका छन् । यस पटक पोखरा उद्योग वाणिन्य संघले सदस्यता शुल्क र सदसयहरुले आफ्नो व्यवसायिक तथा औद्योगिक प्रतिष्ठानको दर्ता र नविकरणका लागि तिर्नुपर्ने शुल्कमा भारी वृद्धि गरेपछि कतिपय सदस्यले नेतृत्वमा रहेका कोइरालाको आलोचना गर्न थालेको बताइन्छ । पोउवासंघमा यसपटक करिब दुईहजार पाँचसय सदस्य रहने अनुमान गरिएको छ ।
पोउवासंघको महाधिवेशन आगामी भदौको अन्तिम तथा असोजको पहिलो साता हुने सम्भावना रहेपनि संघले औपचारिक रुपमा मिति तोकिसकेको छैन । चुनाव नजिकिंदै जाँदा उम्मेवारहरु लाई राजनीतिक रङ्ग दिने प्रयास समेत हुने गर्दछ । कोइराला र थापामात्र अध्यक्षको दावेदार कायम रहेमा कोइरालालाई वामपन्थी र थापालाई प्रजातान्त्रिकको विल्ला भिराएर कम्युनिष्ट र कांग्रेसको रुपमा समेत विभाजन गर्ने प्रयास हुने सम्भावनालाई पनि नर्कान सकिन्न ।

पोउवासंघमा पुरानो समिकरणमा फेरवदल हुने

यसपटक पोउवासंघको चुनावमा अघिल्लो पटकको सन्तुलन भने खलबलिने देखिएको छ । अघिल्लोपटक संजीवको पक्षमा लागेका ईश्वर कर्माचार्य, नारायण कोइराला, हीरा भट्टराई, दामु अधिकारी र दीलिप सुवेदीले आफ्नो क्याम्प परिवर्तन नगरेको भएपनि रविन्सन प्रजू र पवन प्रजापति लगायतका केहीले भने संजीवलाई छाडेर विन्दुको समर्थन गर्न लागेको बताइन्छ ।
यसैगरी विन्दुको पक्षमा अघिल्लो पटक लागेका देव क्षेत्री, मिनराज काफ्ले, प्रकाशदेव पालिखे र विन्दु कोइराला सुवेदी यसपटक पनि थापा भन्दा बाहिर नजाने अवस्थामा रहेका छन् । सदस्यद्वय विश्वशंकर पालिखे र दीलिपराज श्रेष्ठ अहिलेसम्म सन्तुलित भूमिकामा रहेपनि पटक–पटक एउटैले नेतृत्व लिनुपर्छ भन्ने कुरामा भने श्रेष्ठ अझैसम्म सहमत बन्न नसकेको बताइन्छ । अन्य सदस्यहरु मध्ये धनीराम बराल सञ्जीवको पक्षमा देखिने सम्भावना छ । एसोसिएटतर्फका इन्द्र कुँवर विन्दु थापाको पक्षमा लाग्ने कतिपयको बुझाइ रहेपनि अध्यक्ष कोइरालाले मनोनित गरेका  सदस्यहरु पोमनारायण श्रेष्ठ, राम बसेल र बलराम पहारी भने कोइरालाकै पक्षमा कायम रहने बताइन्छ ।  पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुले यसपटक पनि सम्भव भएसम्म सहमतिको प्रयास गर्ने तर सहमति कायम गराउन उनीहरु असफल बनेमा पूर्व अध्यक्षहरु समेत यसपटक कोइराला र थापाको पक्षमा विभाजित बन्ने देखिन्छन् । जसअनुसार कोइराला र थापा दुवै उम्मेदवार कायम रहेमा कोइरालाको पक्षमा पूर्व अध्यक्षहरु अशोक पालिखे, रमेश कर्माचार्य र आजाद श्रेष्ठ देखिने र थापाको पक्षमा आनन्दराज मुल्मी, राजेन्द्र लालचन, दीपक श्रेष्ठ, सुरेजराज भण्डारी, हेमबहादुर प्रधान, कृष्णमोहन श्रेष्ठ देखिने सम्भावना रहेको कतिपय व्यवसायीको अनुमान छ । व्यवसायीहरुले संघका पूर्व अध्यक्षहरुलाई कोइराला र थापाको पक्षमा विभाजन गर्न लागेको भएपनि संघका पूर्व अध्यक्ष वसन्त उदासलाई दोस्रो पटक झिनो मतले हराएर अध्यक्ष बनेका रमेश कर्माचार्य पनि विगतमा ‘वान मेन वान टर्म’ अर्थात एक व्यक्तिलाई एक पटकमात्रै अध्यक्ष बन्न दिनुपर्छ भन्ने मान्यता राख्ने मध्येका हुन् । उनले त्यही नाराका आधारमा उद्योगी व्यवसायीको समर्थन पाएर अध्यक्ष बनेको भएपनि उनलाई समर्थन गर्ने अधिकांश भने यतिबेला अर्को समूहमा देखिन लागेको बताइन्छ ।

Post a Comment

 
Top