0
लामिछानेछाने घर्ती क्षेत्रीहरुको इतिहास अध्ययन गर्न क्रममा क्षत्री समाजका निर्वतमान अध्यक्ष एवं इतिहास्विद डा. दिलबहादुर क्षेत्रीसँगको प्राप्त जानकारीका आधारमा हाम्रा अग्रजहरुले रचेको इतिहासलाई नयाँ पुस्तासम्म जानकारी गराउनका लागि उहाँ हाम्रा प्रेरणाका रुपमा डा. क्षत्री रहनुभएकोछ । साथै इतिहास्विद स्व. मोहनबहादुर मल्ल र मल्लाजका मुलधामी थलबहादुर क्षत्रीको टिपोटको आधारबाट हाम्रो इतिहास प्रष्ट पार्न खोजेको छु हामी लामिछानेछाने घर्ती क्षत्रीको सम्बन्ध मानव सभ्यताको उषाकालदेखी रहनुका साथै यस मुलुकका निर्माता र संरक्षणकर्ता भएको स्वयं इतिहास साक्षी छ । खस आर्यहरुको नेपाल प्रवेश हजारौं बर्ष पहिले कुमाउँ गढवाल हुँदै भएको पाइन्छ ।
खस साम्राज्यको इतिहासमा थरको उत्पत्ति पेशा र स्थान विशेष नामबाट भएको पाइन्छ भने जहाँसम्म घर्ती शब्द स्थानविशेषबाट उत्पत्ति भएको हुनाले यसको इतिहास धेरै लामो र पुरानो छ । गढवालको  घर्त भन्ने गाउँको नामबाट घर्ती थर बनेको देखिन्छ । अतः घर्ती क्षत्रीहरु स्पष्ट भन्न सकिन्छ की कहिकतैबाट झरेका हैनन् यिनीहरु शुद्ध खस हुन् । घर्ती क्षत्रीहरु गढवाल हुँदै पश्चिम नेपाल जुम्लाको राजधानी सिञ्जा लामाथाडामा बसोबास गरेका र खस भाषामा लामा भनेको लामो र थाडा शब्दले छानो अर्थ दिने हुनाले लामाथाडामा रहेका घर्ती क्षत्रीहरु अन्ततः लामिछानेछाने घर्ती क्षत्रीले चिनिए । लामिछानेछाने घर्ती क्षत्रीहरुको पुर्खा सिञ्जा लामाथाडाबाट धेरै पहिले वसाइसर्ने क्रममा विभिन्न स्थान हुँदै हालको म्याग्दीको दाना हुँदै मल्लाज डाँडाकोट आई स्थायी बसोबास गरी त्यहाँ आफ्नो राज्य नै कायम गरेर लामो समयसम्म शासन समेत गरेको पाइन्छ ।
मल्लाजमा घर्ती क्षत्रीहरुको राज्यको शासनकाल अवधि वि.सं. १२४३ देखि वि.सं. १५६८ सम्मको अवधि रहेको देखिन्छ । मल्लाजमा घर्ती क्षत्रीहरुको राज्य रहेको प्रमाण डाँडाकोटमा तलाउ र त्यसै वरिपरि रहेको पुरानो दरवारको भग्नावशेषबाट स्पष्ट हुन्छ । घर्ती क्षत्रीहरुको शासनराज्य खुरकोट, वाजुङकोट र देउपुरकोटसम्म रहेको कुरा मल्लाज निवासी घर्ती क्षत्रीका कुलपुजाका मुलधामी थलबहादुर घर्ती क्षत्रीले इतिहास अध्ययन गरेको टिपोटबाट प्रष्ट हुन्छ । घर्ती क्षत्रीहरुको शासन अवधि पर्वते बममल्ल राजाहरुको राज्य स्थापना हुनुपूर्व मल्लाजमा घर्ती रजौटाहरुको शासन रहेको देखिन्छ ।
मल्लाजका घर्ती क्षत्रीहरुको बैवाहिक सम्बन्ध बगाले थापाहरुसँग गरेका हुनाले हाम्रा मष्टले थापा मष्टलाई मामा भनी सम्बोधन गर्दछन् । घर्ती क्षत्रीहरुले थापा कुलमा वैवाहिक सम्वन्ध गरेतापनि आफ्ना छोरी बढेकाले मल्लाजमा सजातीय कुटुम्ब नभएकोले तिनीहरु रुकुम (धुलिकोट) पुगी त्यहाँका कार्कीहरुसँग सरसल्लाह गरि १२ जना कार्कीका यूवक लिएर मल्लाजमा ल्याई आफ्ना छोरीहरुसँग वैवाहिक सम्बन्ध जोडनुका साथै घर्ती क्षत्रीहरुले आफ्ना छोरी ज्वाईलाई हकभोग गरेका जमिन दिए । त्यस पछाडि बैवाहिक सम्बन्धपछि दुवैथरि संगठित भएर बस्नु समान दायित्व वन्यो । शासनसत्तामा घर्ती राजा र कार्की मन्त्री काजी भए भने घर्ती कार्कीहरुबाट सेनाको फौज तयार भएको पाइन्छ ।
मल्लाजमा रहेको घर्ती क्षत्रीहरुको राज्य शासनकालमा विभिन्न अप्ठ्यारो अवस्था सिर्जना भई युद्धसम्म भएको इतिहासविद् स्व. मोहनबहादुरका अध्ययनबाट जानकारी लिन सकिन्छ । वि.सं. १५६० तिर कास्की थुमेराज राक्सेले रुपसिंह नामको सेनापतिको नेतृत्वमा एक फौज पठाएर देउपुर, वाजुङ र खुरकोटमा तैनाथ रही बसेका घर्ती क्षत्रीका फौजमाथि हमाल गरि घर्ती कार्कीका फौजलाई मारी मल्लाजसम्म आइपुगेछन् । मल्लाजमा घर्ती कार्की सैनिक बन्दोवस्त राम्रो भएकोले रुपसिंहका फौज मारिएपछि रुपसिंह अब मरिने भयो भनि भाग्नेक्रममा बाँच्ने आशा नभएपछि रुपसे छहराको तलाउमा हामफालेर मरेछ । त्यसपछाडि केही बचेका सैनिकहरुले रुपसिंह मारिएको खबर राक्सेलाई सुनाएपछि पुनः सुरक्षा व्यवस्था राम्रो गरि मल्लाजमा आक्रमण गरेछन् । मल्लाजका घर्ती कार्कीहरुका सेना युद्ध जित भयो भनि तितर–वितर अवस्थामा रहेको बेलामा राक्सेका सेनाले आक्रमण गर्दा धेरै जवान, नावालक, महिला मारिएपछि राजा सिंहविर भाग्नेक्रममा उनलाई बाण लागेपछि अब मरिने भइयो भनी उनी राक्सेका सेनाबाट मर्नुभन्दा आफै मर्नु उपयुक्त ठानी पुर्णगाउँको तलाउमा हामफाली मरे । उता रानी रुक्मिणी आफ्नो माइत ढोलठानामा पुगीछन् भने दुई राजकुमार सन्तु र सिंहराजलाई पौडेल ब्राह्मणले आफ्ना बंशका पौडेल दाजुभाई कास्की लाहाचोक र घाचोकमा भएकोले उतै लगेर लुकाएर बचाएछन् । राक्सेका सेनाले मल्लाजको पुर्णगाउँमा  सैनिक अड्डा जमाएर बस्यो । बचेका घर्ती कार्कीहरुका सेना आफुसँग भएका हातहतियार लिई हालै पर्वत राज्य स्थापना गरेका डिम्ब शाहीका गुहार मागेपछि उनले रतन वानियाँको नेतृत्वमा एक फौज पठाई राक्सेसँग युद्ध गरि जित हासिल गरेछन् त्यसपछाडि  युद्ध जितेका दिनबाट मल्लाजदेखि देउपुृरसम्मको भुभाग पर्वत राज्यमा गाभिएको कुरा इतिहासविद् स्व. मोहनबहादुर बताएको पाइन्छ ।
बाँसखर्कबासीहरुले घर्ती कार्कीहरुलाई पुनः आए हुन्थ्यो र उनीहरुसँग हातहतियार भएकोले जंगली जनावरबाट सुरक्षित हुने महसुस गरि त्यहाँका पौडेल बाह्मणले लाहाचोकमा विहावारी गरि बसेका राजकुमार सन्तु सिंहराजलाई लिएर आएको पाइन्छ । तर पनि उनीहरुलाई मल्लाजमा बस्न मन नलागेपछि उनीहरु मल्लाज लेकफाँटमा बसेको पाइन्छ ।
अतः कालान्तरमा मल्लाज बाट कोही भाइ बसाई सर्ने क्रममा तत्कालिन कास्कीको रामजा तिलाहार हालको पर्वतमा आइपुगेर हाम्रा पुर्खा बसेका छन् भने कोही रामजा तिलाहारबाट स्याङजा माझबोट बसाइसरि गई बसेका छन् जुन इतिहासविद् डा. दिलबहादुर क्षेत्रीका पुर्खा रहेका छन् ।
(लेखक ने.वि.संघ केन्द्रीय सदस्य हुन् ।)
गोविन्द लामिछाने

Post a Comment

 
Top