0
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रम अन्तर्गत शनिबार पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भयो । संस्थाका संस्थापक अध्यक्ष एवम् सह–प्राध्यापक तथा लोक साहित्यकार हुमकान्त पाण्डेद्वारा लिखित, सङ्कलित तथा सम्पादित लोक साहित्यका दुई पुस्तक ‘मागल’ र ‘लोक वाङ्मयका कोसेली’ लोक साहित्यका मौलिक एवम् दुर्लभ कृतिका रुपमा बाहिर आएका छन् । विशेष गरी माङ्गलिक कार्य अर्थात् संस्कार (सन्तान जन्मँदा, छैटी, न्वारन, विवाह ब्रतबन्ध आदि) विशेषमा गाइने मागल गीतलाई दैवी शक्ति वा देवताको कर्म मानिन्छ । नेपाली, मैथिली, भोजपुरी बज्जिका, अवधि लगायतका भाषामा मूल रूपमा गाइने मागल भगवान नारायणको प्रयत्नद्वारा सर्वप्रथम स्वर्गबाट पृथ्वीमा ल्याइएको जनविश्वास पाइन्छ । मागल उत्पत्तिको गाथा पुरुषसँग जोडिए पनि गाउने काम प्रायः नारीले गर्छन् र यो लामो लयका साथ नेपालका सुदूर पश्चिमी जिल्लाहरु (डोल्पा, दार्चुला, जुम्ला, बझाङ आदि) मा गाइने परम्परा छ । यस विषयमा ‘मागल’ मा विस्तृत उल्लेख पाइन्छ भने लोक ‘वाङ्मयका कोसेली’ पुस्तकमा लोकगीत, वाली, छुट्किलो भारत, पडेली, जुम्ली उखान आदिको सङ्कलन र चर्चा गरिएको छ ।
कृतिका टिप्पणीकारद्वय प्राध्यापकहरू हरि कुमार ओझा र जगन्नाथ रेग्मीले दुवै पुस्तक लोक साहित्यका धरोहर भएका र अब समालोचकका लागि कृति मूल सामग्री बन्न सक्ने ठोकुवा गरे । कार्यक्रममा प्रा.डा.शर्वराज आचार्य, उपाध्यक्ष दीपेन्द्र पराजुली तथा सदस्यहरू विष्णुप्रसाद शर्मा, श्रीराम घिमिरे, भूमिराज बस्ताकोटी, भोलानारायण रेग्मी, सुरज पौडेल लगायतले पुस्तकका बारेमा समीक्षा गरेका थिए । पाण्डेका यस अघि पनि हुम्लाको लोक साहित्य  (२०५८) कर्णालीका लोककथा  (२०७०) लगायतका कृति प्रकाशित छन् । संस्थाका अध्यक्ष प्रा.डा. विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन डा.शालिकराम सुवेदीले गरेका थिए ।

Post a Comment

 
Top