0
गोल्डेन न्यूज संवाददाता
पोखरा ५ साउन ।
पोखरा–६, केदारेश्वर महादेवमणि सेवाश्रम समिति बोलबमधाम बैदाम, पोखराले आयोजना गरेको बोलबम कार्यक्रम सोमबार सुरु भएको छ । हजारौं भक्तजनले बगरस्थित सेतीनदी किनारबाट पवित्र जल उठाइ गाइघाटमा १०८ धारा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकी सहित ८ किलोमिटर पैदलयात्रा गरी बोलबमधाम केदारेश्वर मन्दिरको १०८ शिवलिङ्गमा जलार्पण गरेका हुन् । बैदामस्थित केदारेश्वर मन्दिरमा जल चढाउन भक्तजनको बिहानैदेखि दिउँसोसम्म घुइँचो लागेको थियो ।
केदारेश्वर मन्दिरले जल चढाउने कार्यक्रमलाई थप व्यवस्थित गर्दै अघिल्ला वर्षझै यस वर्ष यो कार्यक्रम आयोजना गरेको मन्दिरका पिठाधीश डा. लेखनाथ आचार्यले बताए । बोलबम कार्यक्रमलाई व्यवस्थित बनाउन केदारेश्वर मन्दिरका चारवटै द्वार खुला गरी भक्तजनलाई पूजाआजा गरी जल चढाउने व्यवस्था मिलाइएको थियो । साउन महिनामा भगवान शिवको आराधना गर्दै शिवमन्दिरमा जलार्पण गर्ने कार्यक्रम विभिन्न ठाउँमा रहे पनि आठ संजोगका कारण केदारेश्वरमा भने बोलबमको खास महत्व रहेको बोलबम संयोजक शंकर खरालले बताए । केदारेश्वरमा मूलमन्दिर बाहेक परिसरमा समेत भक्तजन लाई जल चढाउन १०८ वटा शिवलिङ्ग स्थापना गरिएको छ । गाईघाटमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रा गरेर मन्दिरमा पुगेर १०८ शिवलिङ्गमा जल चढाउन पाउँदा आपूmलाई निकै सन्तुष्टि मिलेको सहभागी भक्तजनले प्रतिक्रिया दिएका छन् । १२औं पटकको बोलबम कार्यक्रममा पनि भक्तजन जल लिन बिहानै गाइघाट पुगेका थिए । भजनकीर्तन सहित पैदलयात्रा गरी बैदामस्थित केदारेश्वर मन्दिर पुगेका थिए । बोलबममा केटाकेटी, युवायुवती सहित वृद्धवृद्धाको पनि उल्लेख्य सहभागिता थियो ।
बोलबम कार्यक्रममा साँस्कृतिक संयोजकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीको स्वरमा गेरुबस्त्र धारणा गरेका भक्तजन पञ्चेबाजाका साथ भजनकीर्तन सडकमा नाँच्दै हिड्दा पोखरा पूरै बोलबममय बनेको थियो । बोलबम सुरक्षा व्यवस्थामा विजयपुर व्यारेक, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा ट्राफिक प्रहरीले सहयोग पु¥याएका थिए ।
साउन महिनामा भगवान शिवको आराधना गरी शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । भगवान शिवले सृष्टिपालना तथा सम्भारमा अष्ठमूर्ति स्वरुपधारणा गरेको वर्ण शिवपुराणमा उल्लेख रहेको र साधकले आफ्नो साधना प्राप्ति गर्न पनि अष्ठसिद्धि गर्नुपर्ने धार्मिक मान्यता रहेको हुँदा साउन महिना भगवान शिवको महिना भएको भन्दै बोलबम भक्तजन साउनमा शिवको आराधना गर्दछन् ।
गुप्तेश्वरमा पनि भक्तजनको भीड
पोखरा उपमहानगरपालिका वडा नं. १७ छोरेपाटस्थित गुप्तेश्वर महादेव गुफामा पनि सोमबार भक्तजनको दिनभर भीड लाग्यो । साउन महिनामा भगवान शिवको आराधना गरी शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास अनुरुप गुप्तेश्वरमा पनि भक्तजनले पूजाआजा गर्नुका साथै शिवको मूर्तिमा जल चढाए । गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले यसअघिका वर्षहरुमा पनि श्रावण महिनाको प्रत्येक सोमबारका दिन विशेष पूजाको व्यवस्थापन गर्दै आएको र त्यसकार्यलाई यसवर्ष पनि  निरन्तरता दिइएको समितिका अध्यक्ष खगराज आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसवर्षको श्रावण महिनाको पहिलो सोमबार करिब ४५० भक्तजन सहभागी भई पूजाआजाका साथै महादेवको मूर्तिमा जल अर्पण गरेको समितिले जनाएको छ । बिहान ६ बजेदेखि शुरुभएको पूजा बेलुका ४ बजेमात्र सम्पन्न भएको थियो । मन्दिरमा सहभागी हुने सम्पूर्ण भक्तजनलाई प्रसादको विशेष व्यवस्था समेत गरिएको र आगामी तीनवटै सोमबार पनि प्रसादको व्यवस्था गरिने समितिकी कार्यसमिति सदस्य विन्दु कार्कीले जानकारी दिइन ।

Post a Comment

 
Top