गुणस्तर शिक्षाका लागि विद्यालय सुधार्ने कि शिक्षा नीति भन्ने विषयको बहष चलिरहेका बेला अनुसन्धानकर्ताले नीतिगत अन्योल, विद्यालयमा एकल व्यवस्थापन नहँुदा शिक्षा प्रणाली जटिल बन्दै गएको बताएका छन् । विभिन्न नीतिको मारमा उच्चमावि शिक्षा परेको अनुसन्धानकर्ताको भनाइ छ । लेकसीटि कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले शनिबार आयोजना गरेको कचहरीमा उच्चमाध्यमिक तहको शिक्षा नीति र यसको अभ्यासबारे अनुन्धान गरेका गीरधारी सुवेदीले आफ्नो अनुसन्धान सार्वजनिक गर्दैै उच्चमावि तहको शिक्षा समस्यामा रहेको बताए । नीतिगत परिवर्तन र एकल व्यवस्थापन गर्न नसकेको खण्डमा उच्चशिक्षाबाट आशावादी हुन नसकिने उनले बताए ।
विद्यालयमा रहेका भौतिक पक्षले मात्र विद्यार्थी बस्दैनन् भन्ने प्रमाण पाईएको अनुसन्धानका क्रममा भेटिएको जानकारी दिए । ‘विद्यालयमा प्रयाप्त पुर्वाधार हुँदाहुँदै पनि विद्यार्थी रहेनन । पाल्पा र गोरखाका विद्यार्थी आफनै विद्यालयमा पुर्वाधार हुँदाहुँदै पनि अन्यत्र पढ्न गएका छन्’ आफ्नो अनुसन्धानबारे बोल्दै उनले भने, ‘भवन, ल्याव, सामग्री सबै छन् तर विद्यार्थी छैनन । यस्तो हुनुमा पक्कै नीतिको कमजोरि हो ।’
विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाले अदृष्य ढंगले विद्यालयमा राजनीति छिरेको पाएको उनले बताए । कुनैपनि विद्यालय एउटै नेतृत्वमा संचालन हुँदा राम्रो हुने गरेको पनि उनले बताए । सुवेदीले कास्की, स्याङजा, पाल्पा, रुपन्देही, झापा लगायतका क्षेत्रका उच्चमाविको बारेमा अध्ययन गरेका थिए । अध्ययनको क्रममा स्याङजा र कास्कीका विभिन्न सातवटा विद्यालयलाई नमुनाको रुपमा छनौट गरिएको थियो ।
विद्यालयमा अनुशासन खस्कँदै गएको पनि उनले अनुसन्धानका क्रममा पाएका छन् । सरकारी निर्णय, उच्चमावि शिक्षा परिषद्को निर्देशिका, राजनीतिक दलका शैक्षिक नीतिले पनि उच्चशिक्षामा फरक पारेको उनले बताए । सुवेदीले उच्चमावि शिक्षालाई गुणस्तरीय बनाउन एकल व्यवस्थापनमा संचालनमा हुनेगरि एकीकृत शिक्षा नीति परिवर्तन गर्नुपर्ने, परीक्षा पद्धती र समय तालिका परिवर्तन गर्नुपर्ने, शैक्षिक सत्रको परिवर्तन गर्नुपर्ने सुझाव पाएको जानकारी दिए । पाठ्यक्रम संरचना परिवर्तन गर्न आवश्यक रहेको पनि उनले अनुसन्धानको क्रममा पाएका छन् ।
अभ्यासगत आधारमा हेर्दा स्वदेशकै केहि उच्चमाविमा भारतीय पाठ्यक्रम पढाई हुने गरेको समेत उनले बताए । ‘नेपालमा भारतीय पाठ्यक्रम पढाइ हुने गरेको छ । तर सरकारलाई थाहा छ्रैन । त्यस्तै सामुदायिक उच्चमाविका विद्यार्थीलाई आफू संचालक रहेको उच्चमाविमा लैजाने व्यवस्थापक पनि पाईएका छन्’ उनले भने, यसले पनि शिक्षाको गुणस्तरमा असर पारेको छ । कतिपय नीजि विद्यालयका शिक्षकहरु स्नातकोत्तर उत्तीर्ण पनि छैनन ।’ अनुसन्धानकर्ता सुवेदीले उच्चमावि स्वीकृति दिने क्रममा केहि आधार समेत नहेरिएको बताए । सम्बन्धन माग गर्ने क्रममा रकम जम्मा गर्ने र प्रमाणपत्र पेश गरेको आधारमा बाँडिएको पाएको पनि उनले बताए ।
अनुसन्धानबारे बोल्दै प्राध्यापक डा. विश्वकल्याण पराजुलीले उच्चशिक्षाको अबको बाटोबारे स्पष्ट हुनुपर्ने बताए । पराजुलीले उच्चशिक्षामा देखिएका समस्या समाधानका लागि पहल गर्ने पक्षबारे पनि स्पष्ट हुनुपर्ने बताए ।
पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख गेहेन्द्रश्वर कोइरालाले उच्चशिक्षामा चरम अराजकता रहेको देखिएकोले यसप्रति गम्भिर हुनुपर्ने बताए । उच्च शिक्षाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबैले पहल गर्नुपर्ने उनले बताए । अर्का सहभागि पृथ्वीनारायण क्याम्पसका विद्यार्थी आमोद दाहालले शिक्षकहरु व्यवहारिक हुन नसकेको बताए । उनले शिक्षकले व्यापारिक भूमिका निभाएको बताए । सुवेदीका अनुसार नेपालमा अहिलेसम्म ३ हजार ५ सय ९६ उच्चमाविमा ७ लाख ६४ हजार ७ सय २५ जना विद्यार्थी अध्ययनरत छन् । नेपालमा २०४९ सालबाट उच्चमावि कक्षा संचालन गर्न सम्बन्धन दिन थालिएको थियो ।
Post a Comment