0

काठमाडौँ, १७ असार । समानुपातिक विज्ञापनको वृद्धि रकमको भुक्तानी माग गर्दैै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा धर्नामा रहेका तीन दर्जन पत्रकार आज प्रहरीको नियन्त्रणमा परेका छन् नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यकाका तीन वटा शाखाको नेतृत्वमा अर्थ मन्त्रालय परिसरमा गरिएको सो धर्नाबाट महासङ्घका केन्द्रीय सदस्यहरू ईश्वरी वाग्ले, रामहरि सिलवाल, राजु लामा, काठमाडौँ शाखाका अध्यक्ष गोविन्द चौलागाईं, ललितपुरका अध्यक्ष लेखनाथ न्यौपाने, पत्रकारहरू देवेन्द्र चूडाल, सीता शर्मा, यशोदा अधिकारी, रामकृष्ण अधिकारीलगायत ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गिरफ्तार गरिएका पत्रकारलाई अहिले सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ । प्रहरी वृत्तमा भेट्न महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट, उपाध्यक्ष खिलबहादुर भण्डारी र महासचिव उजिर मगरलगायतको टोली पुगेको थियो । अध्यक्ष डा. विष्टले शान्तिपूर्ण धर्नामा रहेका पत्रकारलाई गिरफ्तार गरेर प्रेस स्वतन्त्रताको उल्लङ्घन गरेको भन्दै पत्रकारका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले आजै आफूहरूले अर्थमन्त्रीसँग यसबारे कुराकानी गर्ने जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा आफूहरूको मागका आधारमा २५ प्रतिशत वृद्धि गरिएको सो रकम आर्थिक वर्षको अन्त्यसम्ममा पनि प्राप्त नभएपछि धर्ना दिने काम भएको हो । रासस

Post a Comment

 
Top