0

बिहीबारबाट शुरु भएको नेकपा एमाले को नवौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ । पूर्व निर्धारित अपराह्न १ बजेको सट्टा साढे ३ बजेदेखि बन्दसत्र प्रारम्भ भएको छ । स्थायी कमिटीमा सहमति जुट्न नसक्दा पाँच प्रतिशत मनोनितबिना नै बन्दसत्र प्रारम्भ भएको हो । बन्दसत्रमा १३ सदस्यीय अध्यक्ष मण्डल, स्टेरिङ कमिटी तथा सात सदस्यीय बहस नोट कमिटी गठन भएको छ । बन्दसत्रले उद्घाटनका दिन भृकुटीमण्डप बाहिर कार्यकर्ताले गरेको अराजक व्यवहारलाई माफी दिन नसकिने प्रस्ताव  पारित गर्नुका साथै स्थानाभावका कारण कार्यकर्तालाई उद्घाटनमा समावेश गर्न नसकिएकामा माफी मागेको छ ।   बन्दसत्रले ‘पार्टीकी आमा’ सहना प्रधानको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने प्रस्ताव पारित गरेको नेता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनी अहिले बल्खुस्थित अस्पतालमा उपचार रत छन् ।  यस्तै बन्दसत्रमा कुनै पनि नेताको पक्षविपक्षमा होहल्ला नगर्ने प्रस्ताव पारित भएको छ । यसैगरी नयाँ नेतृत्व चयन नगरेसम्म वर्तमान केन्द्रीय कार्यसमिति भङ्ग नगरिने प्रस्तावसमेत पारित भएको बताइएको छ ।
यसैगरी महाधिवेशनको बन्दसत्रमा संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी विषयको प्रकाशन वितरण गरिएको विषयमा विवाद भएको छ ।  अध्यक्षमण्डलका सदस्य तथा महासचिव ईश्वर पोखरेलले कार्यक्रम सञ्चालन गरिरहेका बेला केन्द्रीय सदस्य डा विजय पौडेलको सम्पादनमा मदन भण्डारी अध्ययन केन्द्रले प्रकाशनमा ल्याएको ‘हाम्रा धारणाहरू’ नामक पुस्तिकाका कारण विवाद सिर्जना भएको हो ।
सो पुस्तिकामा एमालेका वैकल्कि केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष राजेन्द्र राईको ‘एमालेमा नेतृत्व हस्तान्तरणको बहस’ शीर्षकको लेखमा नेता ओलीको स्वास्थ्यस्थिति पार्टीलाई नेतृत्व गर्ने अनुकूल नभएको जनाइएको छ । सो विषयमा युवा सङ्घ नेपालका सचिवालय सदस्य परशुराम बस्नेतले आपत्ति जनाएपछि उनको धारणामा अन्य प्रतिनिधिले पनि सहमति जनाउँदै होहल्ला गरेका थिए । प्रतिनिधिले यसबारे माफी माग्न तथा स्पष्ट धारणा नआएसम्म बन्दसत्र सञ्चालन गर्न नहुने अडान लिएपछि तनाव उत्पन्न भएको थियो ।
महासचिव पोखरेलले सो विषयमा अध्यक्षमण्डलले छानबिन गरी तत्काल धारणा दिने बताएपछि स्थिति साम्य भएको छ । केही प्रतिनिधिले सो पुस्तक च्यातेका थिए । पुस्तकको १६८ पृष्ठमा भनिएको छ, “पार्टी प्रमुख हुन अब उहाँको स्वास्थ्यले पनि साथ दिँदैन, दौडधूप गर्ने त कुरै छाडौंँ, केही मिनेट बैठकमा बस्न सक्ने अवस्था पनि उहाँको छैन ।”
पुस्तिकामा अगाडि भनिएको छ, “उहाँको बोली व्यवहारमा थप कुरा गर्ने हो भने उहाँमा अझै सुधार नआएकाले पार्टी राम्रोसँग चल्न सक्दैन, पार्टीमा न्यायपूर्ण जिम्मेवारी बाँडफाँटको अवस्था हुँदैन, उहाँ विकृति विसङ्गतिलाई केही होइन भन्ने ठाउँमा हुनुभएकाले नेता हुनुभयो भने पार्टीभित्र विकृति विसङ्गति झन् बढ्ने, संस्थागत हुनेछ, निष्कर्षमा उहाँ र पार्टी हितका लागि उहाँलाई पार्टी प्रमुख बनाउन उचित हुनेछैन, उहाँलाई पार्टी प्रमुख बनाउन उचित हुने छैन ।” बन्द सत्रभित्र प्रकाशन तथा पत्रपत्रिका वितरण गर्न नपाउने आचारसंहितालाई ध्यान नदिई सो प्रकाशन वितरण गरिएको ओली समूहको आरोप छ ।  यसबारे अध्यक्ष मण्डलले अध्ययन गरी निष्कर्ष दिने भनी महासचिव पोखरेलले प्रतिबद्धता व्यक्त गरेपछि मात्रै स्थिति साम्य भएको थियो ।
यस्तै नेकपा (एमाले) को नवौंँ महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन पेस गर्दै शुक्रबारको बन्द सत्र सकिएको छ ।  जनताको बहुदलीय जनवाद (जबज) को रक्षा, प्रयोग र विकासका मान्यतालाई आत्मसात् गर्दै केन्द्रीय कमिटीका सर्वसम्मतिले पारित गरेको सो प्रतिवेदनलाई शनिबार बिहान ९ बजेदेखि सुरु हुने बन्दसत्रमा अध्यक्ष खनालले व्याख्यासहित प्रस्तुत गर्नेछन् । प्रतिवेदनमा राजनीतिक क्रान्तिको नेतृत्व गर्ने कार्य पूरा भएकाले अब आर्थिक समृद्धि हासिल गर्न देशलाई अगाडि बढाउने नेताका रूपमा पार्टीलाई विकास गर्न जोड दिइएको छ ।
‘पार्टीका सामु राष्ट्रिय हित र जनताको सुखसमृद्धिलाई केन्द्र भागमा राख्दै सामन्ती अवशेषलाई समाप्त पार्ने, प्रगतिशील उत्पादकशक्तिको तीव्रताका साथ विकास गर्ने, आर्थिक विकासलाई केन्द्रविन्दुमा राखेर राष्ट्रलाई अघि बढाउने र मुलुकलाई समुन्नति तथा समृद्धिको दिशातिर छिटो छिटो अग्रसर गराउने कार्यभार छन्’– प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै जबजलाई मार्गदर्शक सिद्धान्तको रुपमा अवलम्बन गरिएकाले त्यसअनुसरा समाजवाद लोकतान्त्रिक विधिभित्रै रहेर निर्माण हुने तथा समाजवादको पनि राजनीतिक व्यवस्था आधारभूत रुपले लोकतान्त्रिक गणतन्त्र नै हुने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “लोकतान्त्रिक गणतन्त्रलाई स्वच्छन्द पुँजीवादको विकासतर्फ अगाडि बढाउन चाहने बुर्जुवावर्ग र लोकतान्त्रिक गणतन्त्रको आर्थिक(सामाजिक तथा साँस्कृतिक ढाँचा विकास गर्दै समाजवादतर्फ जाने श्रमजीवीवर्गबीचमा अन्तरविरोध चर्किँदै गई समाजवाद सम्मको ढोका खुलेको छ
तोडफोडबारे छानबिन गरिने
सो प्रतिवेदनलाई प्रतिनिधिका बीच वितरण गरिएपछि अध्यक्ष मण्डलका अध्यक्ष विद्यादेवी भण्डारीले शुत्र,को बन्दसत्र स्थगनको घोषणा गरिन् । उनले उद्घाटनसत्र सञ्चालन भइरहेका बेला बाहिर भएको तोडफोड र नाराबाजीको घटनाका सम्बन्धमा स्थायी कमिटीको बैठकले छानबिन गर्ने निर्णय गरेको जानकारी गराइन । बन्द सत्रमा एक प्रकाशनका विषयमा उत्पन्न विवादमा अध्यक्षमण्डलले अबदेखि त्यस्ता गतिविधि हुन नदिने गरी सोह्रबुँदे आचारसंहिता जारी भएपछि विवाद अन्त्य भएको हो । 
अध्यक्ष मण्डलका सदस्य भीमबहादुर रावलले बन्दसत्रमा पार्टीका आधिकारिक दस्तावेजमा लेखिएका विषय बाहेक अन्य विषयलाई औपचारिक छलफलको विषय नबनाउने, त्यस्ता सामग्री बन्दसत्रमा वितरण नहुने, वितरण गरेमा औपचारिक जानकारीको विषय नबनाउने तथा प्रकाशनलाई च्यात्ने काम पनि कसैले नगर्ने गरी आचारसंहिता जारी गरिएको बताएपछि विवादको अन्त्य भएको हो ।

Post a Comment

 
Top