0
सहारा क्लब पोखराको आयोजनामा गत फागुन २० देखि चैत १ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालित बाह्रौँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय शनिबार सार्वजनिक गरिएको छ ।‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यबाट आयोजित उक्त प्रतियोगितामा रु २९ लाख एक हजार ७६७ बचत भएको छ ।उक्त रकम पोखराको दोविल्लामा स्थापित सहारा एकेडेमी सञ्चालनमा खर्च गरिने क्लवद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । क्लबले एघारौं प्रतियोगितामा भन्दा झण्डै दोब्बर मुनाफा गर्न सफल भएको छ । गतवर्ष १६ लाख ५६ हजार ६ सय ६४ रुपियाँ बचत गरेको थियो । १२औं प्रतियोगिताबाट ७८ लाख ६२ हजार ७ सय ६४ रुपियाँ आम्दानी गरेको थियो भने ४९ लाख ६० हजार ९ सय ५७ रुपियाँ खर्च भएको सहाराले जनाएको छ । क्लबले मुख्य प्रायोजक मार्फत ९ लाख, सह प्रायोजकबाट ४ लाख, उप–प्रायोजकहरुबाट १ लाख ५० हजार, पोखरा उपमहानगरपालिका बाट १ लाख, रोयल बिग मास्टरबाट १ लाख, राष्ट्रिय खेलकुद परिषदबाट १ लाख, पृथ्वीराजमार्ग बस व्यवसायी समितिबाट १ लाख, नोभा शुद्व र ताजा दूधबाट ९५ हजार, ईको पानीबाट ७० हजार सहयोग स्वरुप प्राप्त भएको सहाराले जनाएको छ । यसका साथै प्रतियोगिताको टिकटबाट ३१ लाख ३९ हजार १ सय १७ रुपियाँ र सिजनल टिकटबाट २ लाख १६ हजारका साथै व्यानर विज्ञापनबाट १९ लाख ३८ हजार ९ सय १० रुपयाँ आम्दानी भएको छ ।
यसैगरी क्लबले प्रतियोगितामा मैदान व्यवस्थापन तर्फ ३ लाख ८० हजार ८ सय ८० रुपियाँ, खेलाडी प्रोत्शाहन खर्च ६ लाख २७ हजार रुपियाँ, खेलाडी दैनिक भम्रण भत्ता  १२ लाख ६८ हजार ३ सय २० रुपियाँ खर्च, रेफ्रीतर्फ २ लाख ६० हजार ५ सय ५ रुपयाँ भएको शनिबार पोखरामा आयोजित आय–व्यय सार्वजनिक समारोहमा क्लबका कोषाध्यक्ष विश्वराज बरालले जानकारी दिए । क्लवका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष केशवराज बराल राखेका थिए भने महासचिव केशवबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए । यसैबीच क्लवका अध्यक्ष वीरभद्र आचार्यले समग्र पश्चिमाञ्चलवासीको उत्साहजनक सहभागिता र सहयोगले प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनुका साथै पोखराको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुगेको बताएका छन् । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै उनले सहारा क्लवका पदाधिकारी, सदस्य, सहयोगी एवं शुभचिन्तकको कडा मेहनत, पोखरेली तथा पश्चिमाञ्चल वासीको सहयोग एवं फुटवलप्रेमीको मायाका कारणले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र यसमा संचारकर्मीको महत्वपूर्ण भूमिका भएको बताए । सहारा क्लवको प्रयासमा पोखराको सहारा एकेडेमी निर्माण सम्पन्न भएको र त्यसको संचालनमा चुनौति रहेका भन्दै अध्यक्ष आचार्यले फुटवल प्रतियोगिताबाट प्राप्त आम्दानी र क्लवका लागि प्राप्त हुने सबै सहयोग एकेडेमी संचालनमा खर्च गरिने बताए । एकेडेमीलाई दीर्घकालिन संचालनका लागि करिब तीन करोडको अक्षयकोष स्थापना गर्ने तयारी भएको अक्षयकोषका लागि रकम संकलन भइरहेको उनले जानकारी दिए ।

Post a Comment

 
Top