काठमाडौं २४ असार ।(रासस)
नेकपा (एमाले)को नवौंँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । मंगलबारको बन्द सत्रमा समूहगत प्रस्तुतिपछि अध्यक्ष खनालले प्रतिनिधिबाट उठेका प्रश्न र सुझावमा जवाफ दिएपछि प्रतिवेदन पारित भएको हो । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीले पत्रकारलाई दिएको जानकारी अनुसार अध्यक्ष खनालले प्रतिवेदन माथि भएका छलफल र सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै मुलुकलाई प्रारम्भिक पुँजीवादको अवस्थाबाट समाजवाद तर्फ उन्मुख गराउनुपर्ने बताए ।
अध्यक्ष खनालले गुटबन्दीका कारण पाँच प्रतिशत मनोनयन हुन नसकेको र आयोजनाका क्रममा केही कमजोरी भएको स्विकार्दै आगामी दिनमा त्यस्तो अवस्था आउन नदिन ध्यान जाने विश्वास व्यक्त गरे । अध्यक्ष खनालले पार्टीमा नेता मात्रै हाबी भए भन्ने गुनासोका सम्बन्धमा केही हदसम्म त्यस्तो भए पनि अब पोलिटब्युरो र केन्द्रीय कमिटीको भूमिका बढाएर संस्थागत निर्णयको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिए । उनले राजनीतिक सिद्धान्तका रुपमा माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादलाई सँगसँगै जोडेर बुझ्न आग्रह गरे । उनले अहिले पनि पुँजीपति र मजदुर वर्गबीचको सङ्घर्ष कायम रहेको तर सामन्तवादको भने अवशेष मात्र बाँकी रहेको स्पष्ट पारे । यसैगरी अध्यक्ष खनालले सहमतिमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने आफ्नो धारणा कायमै रहेको दोहो¥याए । उनले भने,–‘पार्टीमा सिपी मैनालीपछि म भएँ, मपछि मदन भण्डारी, भण्डारी पछि माधव नेपाल, नेपालपछि म भएँ, अब को हुने तपाईंहरु नै निर्णय गर्नुस् ।” रेफ्रीले सिटी नबजाउँदै खेलाडी दौडिए झैंँ दुई समूहले प्रचार कार्य गरेकामा असन्तोष जनाउँदै खनालले पार्टीमा गुटबन्दीलाई सच्चाउन नसकिएको जनाएको नेता ज्ञवालीले जानकारी दिए ।
महाधिवेनशले राजनीतिक प्रस्ताव पारित गरेपछि अब निर्वाचनको प्रक्रिया शुरु हुनेछ । निर्वाचनको प्रक्रिया शुरु नहुँदै माधवकुमार नेपाल र र केपी शर्मा ओली पक्षले आफ्नो पक्षमा बहुमत आउने दावी गरेका छन् । उनीहरू दुवै नेताले वर्तमान अध्यक्ष खनालले आफूलाई समर्थन गर्ने र परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्ति गरेका छन् । यसैक्रममा वरिष्ठ नेता नेपालले अध्यक्ष झलनाथ खनाल सहित सिङ्गो पार्टीको समर्थन आपूmतिर भएकाले परिणमा आफ्ना पक्षमा पक्का बहुमत आउने जिकिर गरेका छन् । महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै उनले अध्यक्ष खनालले प्रस्तुत गरेको दस्तावेजमा आफ्नो पक्षको विचार समेटिएकाले पनि आफू अत्याधिक मत ल्याएर अध्यक्षमा विजयी हुने बताए । उनले भने–“महाधिवेशनका १९ वटा समूहगत छलफलले पनि हामीहरुलाई उत्साहित बनाएको छ ।”“पार्टी अध्यक्ष खनालले प्रस्तुत गरेको दस्तावेजबाट सबै प्रतिनिधि लाई सन्तोष मिलेको छ, यसमा मेरो समूहको विचार परेको छ, यसले गर्दा हाम्रो समूहको विजयी सुनिश्चित छ” अध्यक्षका उम्मेदवार वरिष्ठ नेता नेपालले भने । पार्टीको लक्ष्यअनुसार एमालेलाई नयाँ उचाइमा पु¥याउन युवा नेतृत्वको कार्यसमिति बन्ने र यसबाट एमाले नवाँैं महाधिवेशन सिङ्गो वामपन्थी इतिहासमा कोसेढुङ्गा साबित हुने धारणा राखे । उनले अध्यक्ष खनालको समूहसहितका कार्यकर्ता आफ्नो पक्षमा आउने बताउँदै आफ्नो समूह सक्षम, योग्य र मुलुक हाँक्ने सक्ने भएको जिकिर गरे । उनले भने–“एमालेसँग धेरै चुनौती भए पनि सामना गर्दै मुलुकको आर्थिक समृद्धिको दिशामा लाग्ने छौँ ।” वरिष्ठ नेता नेपालले महाधिवेशनमा निर्वाचनका समयमा पक्ष र विपक्ष हुनु स्वाभाविक हो भन्दै नेपाली राजनीतिमा एमालेले अरुका लागि समेत उदाहरणीय संस्कार सिकाउनुपर्नेमा जोड दिए । उनँले पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा भइरहेको र अब पुस्तान्तरण हुन मात्रै बाँकी छ भने । यसैगरी नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका अध्यक्ष झलनाथ खनालले वरिष्ठ नेता माधवकुमार नेपालको समूहलाई समर्थन गर्ने भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । महाधिवेशनस्थल मा पत्रकारसँग कुरा गर्दै नेता ओलीले खनालले नेतृत्व हस्तान्तरणका लागि आफूलाई पटक–पटक वचन दिएको जिकिर गर्दै खनाल र नेपालको समीकरण बनेमा सहमतिका साथ नेतृत्व हस्तान्तरणका लागि मात्रै बनेको हुन सक्ने बताए । नेता ओलीले भने, ‘औचित्य, तर्क र न्यायका आधारमा नेतृत्व हस्तान्तरण हुनुपर्छ, मैले १५ वर्ष चलाएँ, अब २० वर्ष चलाउँछु भन्ने आधारमा होइन ।’ खनालले स्वास्थ्यले साथ दिएमा आफूलाई समर्थन गर्नेबारेमा पटक पटक वचन दिएको र पछिल्ला दिनमा पनि कुराकानी भइरहेको स्पष्ट गरे। उनले इतिहासलाई फर्काउन नहुने भन्दै प्रतिनिधि नेतृत्व हस्तान्तरणका पक्षमा रहेको जिकिर गरे ।
यसैगरी नेता ओलीले आफूहरु पदाधिकारी थप्ने विषयमा पनि सहमत नभएको र त्यस्तो प्रस्ताव शोभनीय नहुने स्पष्ट गरे । चीनजस्तो देशमा सात जनाको स्थायी कमिटी रहेको स्मरण गर्दै उनले १५ जनाको पदाधिकारीलाई डोकामा नहट्ने संज्ञा दिए । बढी पदाधिकारी हुने प्रस्तावले व्यक्तिलाई अपेक्षा बढाएको र उम्मेदवारको लर्काे लागेको प्रतिक्रिया उनले दिए । पार्टी अध्यक्ष खनालको संयोजकत्वमा रहेको कार्यदलले आफूसँग परामर्श नगरी सो प्रस्ताव ल्याएको पनि उनले बताए । ओलीले विद्युतीय मतदान गर्ने पूर्वनिर्णयलाई विवादमा ल्याइएका कारण महाधिवेशन लम्बिने भएको बताए । यसैगरी एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने पार्टीको ३५ वर्षीय लक्ष्य पूरा गर्ने खालको नयाँ नेतृत्व आउनुपर्ने बताएका छन् । एमाले महाधिवेशनका अवसरमा पत्रकारसँग कुरा गर्दै उनले एमाले महाधिवेशनले समृद्ध नेपाल बनाउने ३५ वर्षीय नीति तथा कार्यक्रम तय गरेको र त्यो नेतृत्व पूरा गर्न सक्ने नेतृत्व आउनुपर्नेमा जोड दिए । कार्यवाहक प्रधानमन्त्री रहेका गौतमले भने,–“ एक वर्षभित्र सङ्घीयता सहितको लोकतान्त्रिक संविधान, स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि पार्टीको ३५ वर्षीय लक्ष्यको ठोस कार्ययोजना तय हुन्छ ।” उनले पार्टी र मुलुक हाँक्न सक्ने सक्षम नेतृत्व महाधिवेशनबाट आउनुपर्ने मा जोड दिँदै त्यसका लागि आफूले ओलीलाई अध्यक्ष बनाएर जाने तयारी गरेको बताए । उपाध्यक्ष गौतमले भने,–“नेता ओलीले ४५ वर्ष राजनीतिक जीवन बिताउनुभएको छ, न्यायको सिद्धान्तअनुसार पनि उहाँलाई अध्यक्ष बनाएर जानुपर्छ ।
Post a Comment