काठमाडौं २५ असार ।(रासस)
भू–मध्य रेखीय प्रशान्त महासागरमा देखिएको इलनिनोको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सक्रिय हुन नसक्दा यसवर्षको मनसुनी वर्षा दशदिन ढिलो गरी १० जुनमा सक्रिय भएको, सक्रिय भएपछि पनि मध्य तथा पश्चिम नेपालमा सक्रिय हुन १४ दिन लागेको र जेठ–असार (जुन–जुलाई) महिनामा कम वर्षात् भएको विभागले जानकारी गराएको छ । जल तथा मौसम विज्ञान सम्बन्धी जानकारी दिन आज यहाँ आयोजित छलफलमा विभागका उपमहानिर्देशक शिव नेपालले यस वर्ष अघिल्ला वर्षभन्दा नेपालमा कम वर्षा हुने विश्व मौसम सङ्गठनले आँकलन गरेको र विभागको आँकलन पनि यही नै रहेको बताए । “पश्चिमी वायुको प्रभाव बढी रही पूर्वीय वायुलाई रोकेको कारण यस वर्ष कम मनसुन सक्रिय हुन्छ र सक्रिय हुने समय पनि कम हुन्छ”–उनले भने ।
नेपालमा जुन, जुलार्ई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन सक्रिय हुने र अक्टुबर महिनालाई मनसुन फर्किने महिनाका रुपमा लिने गरिन्छ । सन् २००३ देखि २०१३ सम्मको आँकडालाई केलाउने हो भने मनसुन सुरु हुने र फर्किने सयममा परिवर्तन भइराखेको विभागले उल्लेख गरेको छ ।उपमहानिर्देशक नेपालले विभागअन्तर्गत विभिन्न स्थानमा रहेका १३ वटा स्टेसनले देखाएको आँकडामा यस वर्षको मनसुनी वर्षा सरदरभन्दा कम रहेको देखाएको बताए । भू–मध्य रेखीय प्रशान्त महासागरमा करिब सात वर्षको अन्तरालमा इलनिनोको प्रभाव देखिने गर्दछ । आकाशे पानीमा निर्भर गर्नुपर्ने नेपालको कृषि प्रणाली भएकाले कम वर्षातले कृषि क्षेत्रमा नकारात्मक असर पर्न सक्ने विभागले प्रक्षेपण कार्यक्रममा गरेको छ । वर्षा नभएका कारण पश्चिम नेपाललगायत अन्य ठाउँमा तापक्रम सरदरभन्दा बढी रहेको विभागले जनाएको छ । विभागले यस वर्ष जुन, जुलार्ई, अगष्ट र सेप्टेम्बर महिनामा मनसुनको प्रभाव कम हुने आँकलन पनि गरेको छ । कार्यक्रममा विभागका अर्का उपमहानिर्देशक सरजु वैद्यले मनसुनको उतार चढावले गर्दा तापक्रम साधारणभन्दा बढी रहेको बताए । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराज शर्माले जल तथा मौसम विज्ञानलाई आधुनिकीकरण गर्न विभागले विभिन्न कार्य गरेको जानकारी दिए । विज्ञान, प्रविधि तथा वातावरण सचिव डा कृष्णचन्द्र पौडेलले कुन दिन पानी पर्छ र रोपाइँ गर्छु भनेर कृषक सूचना र जानकारी कुरेर बसिरहेका हुन्छन्, उनीहरुलाई सही जानकारी दिन आवश्यक रहेको बताए ।
Post a Comment