0
नेपाल प्रेस युनियनको आशन्न पोखरा महाधिवेशनलाई व्यवस्थित र नमूनायोग्य बनाउने तथा महाधिवेशनपछि युनियनको संगठनलाई सुदृढ गर्ने सम्बन्धमा पूर्वी नेपालका विभिन्न जिल्लाहरुको भ्रमणमा गएको टोली पोखरा फर्किएको छ । महाधिवेशन व्यवस्थापन समितिका मूल संयोजक तथा युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली सहितको टोली पोखराबाट एक साता व्यापी भ्रमणका लागि अघिल्लो बुधबार निस्केको थियो । टोलीले तनहुँ, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, सिराहा, मोरङ, सुनसरी र झापा लगायतका जिल्लामा पुगेर युनियन सम्बद्ध पत्रकारहरुलाई भेटेर विभिन्न सुझाव लिएको छ । विभिन्न जिल्लाका पत्रकारहरुले युनियनको महाधिवेशन भदौ २१ र २२ गते भन्दा पछाडि सार्न नहुने कुरामा जोड दिंदै युनियनलाई पार्टीका सीमित नेताहरुको निर्देशनमा चल्न दिन नहुनेमा जोड दिएका थिए । युनियनको नेतृत्व कांग्रेसको व्यक्ति विशेष पछि लागेर नेतामुखीमात्र बनेको र गुटवन्दीलाई प्रश्रय दिएको आरोप लगाउँदै युनियनका विभिन्न जिल्लाका सदस्यहरुले युनियनबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चयन गर्ने परिपाटीको समेत अन्त्य गर्नुमा जोड दिएका थिए । उनीहरुले श्रमजीवि पत्रकार ऐन अनुसार पत्रकारहरुलाई सेवा सुविधा उपलव्ध गराउने र विभिन्न संचार माध्यमको सवलिकरणका लागि युनियनले सरकारलाई समेत दवाव दिनुपर्ने बताए । युनियनको महाधिवेशव पटक–पटक सारिएकोमा असन्तुष्टि प्रकट गर्दै युनियनका सदस्यहरुले महाधिवेशनको बाधकलाई पहिचान गर्नुपर्ने र केन्द्रीय समिति महाधिवशेनका लागि सक्रिय बन्नुपर्नेमा समेत जोड दिएका थिए ।
सुझाव लिनका लागि जिल्ला भ्रमणमा निस्किएका युनियनका केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन व्यवस्थापन समितिका मूल संयोजक पराजुलीले विभिन्न जिल्लामा आयोजित कार्यक्रममा युनियनको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको भन्दै महाधिवेशन पछि युनियनलाई कस्तो बनाउने भन्ने सम्बन्धमा सबैको सुझाव आवश्यक रहेको बताए । उनले महाधिवेशनमा जम्मा भएर नयाँ नेता चुन्नुमात्रै सफलता नहुने भएकाले युनियनको भावी नीति र कार्यक्रमका बारेमा देशभरबाट उपयुक्त सुझावको खाँचो औंल्याए ।
भ्रमण टोलीमा रहेका युनियनका मध्यमाञ्चल संयोजक दीपक आचार्यले युनियनको विधान संशोधन र युनियनले गर्नुपर्ने कामका बारेमा चर्चा गरेका थिए । महाधिवेशन अन्तर्ग आवास व्यवस्थापन उपसमितिका संयोजक टंक अधिकारी र युनियनका तनहुँ शाखाका पूर्व अध्यक्ष डम्मर अधिकारी लगायतले महाधिवेशनका बारेमा भैरहेको तयारीबारे जानकारी गराएका थिए । विभिन्न जिल्लाको कार्यक्रममा युनियन संवद्ध पत्रकारहरुले केन्द्रीय उपाध्यक्ष पराजुलीलाई आगामी नेतृत्व सम्हाल्न समेत आग्रह गरेकोमा पराजुलीले पहिले महाधिवेशन सुनिश्चित गर्नुपर्ने र त्यसपछि जोसुकै पनि उम्मेदवार बन्न सक्ने भन्दै आफूले संगठनमा झण्डै दुई दशक बिताएकोले संगठनका सदस्यहरुको चाहना र भावना अनुसारनै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।   छन् ।
यसैगरी झापामा आयोजित कार्यक्रममा प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईं र सचिव उमाकान्त खनाल लगायतले युनियन प्रत्यक्ष रुपमा पार्टीसंग सम्बन्धित हुन नहुनेमा जोड दिए । यस्तै मोरङमा आयोजित कार्यक्रममा युनियनका पूर्वाञ्चल संयोजक शेखर रेग्मीले भ्रमणबाट देशभरका पत्रकारको समस्या र युनियनको अवस्था समेत बुझ्न सजिलो हुने भन्दै महाधिवेशनका लागि पूर्वाञ्चलबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए । युनियनका जिल्ला अध्यक्ष मिनकुमार नवोदित, केन्द्रीय सदस्य लिलावल्लभ घिमिरेले युनियनलाई नेविसघ र तरुण दल जस्तो बनाउने प्रयास भैरहेको भन्दै चिन्ता प्रकट गरे । अग्रज पत्रकार कुमुद अधिकारी, दीपेन्द्र ठाकूर, केदार रिजाल, अनन्त न्यौपाने, विक्रम निरौला, विनोद सुवेदी, कुमार रेग्मी लगायतले महाधिवेशनलाई सुनिश्चित गर्न केन्द्रीय समितिले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
यसैगरी मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा  युनियनका नारायणी अञ्चल संयोजक राममणि दाहालले युनियनको जिल्ला र केन्द्रबीच समन्वयको अभाव रहेको भन्दै युनियनले श्रमजीवि पत्रकार ऐनको पुनरावलोकन गर्न र मोफसललाई केन्द्रित गरी विज्ञापन नीति ल्याउन दवाव दिनुपर्नेमा जोड दिए । कार्यक्रममा युनियनका राजन दाहाल, सुपिन्द्र बस्नेत, सविन न्यौपाने लगायतले महाधिवेशनमा चुनावी प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन हुनुपर्ने भन्दै कांगे्रसमा महाधिवेशन प्रतिनिधि पठाउने व्यवस्था हटाउन सुझाव दिए ।
चितवनमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार गणशेखर शर्मा, महेन्द्र श्रेष्ठ, ईश्वर जोशी, राजेश्वर खनाल, अनिल ढकाल, दीवा भट्टराई विष्णु काफ्ले सृजना अर्याल, शारदा शर्मा, सविता पौडेल, श्याम पौडेल र युनियनका जिल्ला अध्यक्ष नारायण अधिकारी लगायतले यसनियनको नेतृत्व युनियनकै सदस्यहरुले चुन्न पाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेताको आशिर्वाद माग्ने र युनियनकै नेतृत्व पाउने अवस्थाको अन्त्य रहेको बताएका थिए ।
यसैगरी सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा पनि युनियन सम्बद्ध पत्रकारले इटहरी महाधिवेशन पछि युनियनको नेतृत्वले अपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाए । उनीहरुले युनियनको विधान संशोधनका साथै नेपाली कांग्रेस, नेपाल ट्रेड युनियन कांग्रेससंगको सम्बन्धको बारेमा पनि महाधिवेशनले स्पष्ट मार्ग निर्देशन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा युनियनकै जिल्ला अध्यक्ष गणेश निरौला, पूर्व केन्द्रीय उपाध्यक्ष याम प्रधान, चेतन धमला, वलराम सुवेदी, पवन अधिकारी हेमराज दाहाल, दिनेश गिरी, अमर खड्का लगायतले महाधिवेशनका लागि विभिन्न सुझाव दिएका थिए ।

Post a Comment

 
Top