0

बागलुङ, ३ साउन ।
वर्षापछि आएको पहिरोले बागलुङका दुई लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण दगातुम्डाँडा गाविसका दुई आयोजनामा विद्युत् आपूर्ति बन्द भएको छ ।तल्लो लब्दी खोला लघु जलविद्युत् आयोजनाको दगातुम्डाँडा–९ सक्न्यारमा रहेको विद्युत् गृहमा माथिबाट पहिरो खस्दा पेनेस्टक पाइपमा क्षति पुगेको आयोजना व्यवस्थापनले जनाएको छ । ठूलो ढुङ्गोसहितको पहिरोले नौ वटा पेनेस्टक पाइपमा क्षति पुग्दा विद्युत् उत्पादन कार्य पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरोका कारण रिजर्भ ट्याङ्कीमा समेत क्षति पुगेको प्रहरी चौकी खर्वाङका हवल्दार पिताम्वर शर्माले जानकारी दिनुभयो । विद्युत् अवरुद्ध भएपछि दगातुम्डाँडा गाविस वडा नं. ९, ३ र २ का करिब २०० घर परिवार अँध्यारोमा बस्न बाध्य भएका छन् । पहिरो हटाई आयोजनाको मर्मत सम्भार गर्ने तयारी भइरहेको जनाइएको छ । त्यस्तै सोही गाविसको वडा नं ६ मा सञ्चालित गिरौँदीखोला लघुजलविद्युत् आयोजनाको मुहान बाढीले पुरेपछि विद्युत् उत्पादन कार्य अवरुद्ध भएको छ । गिरौँदीखोलामा आएको बाढीले आयोजनासम्म आउने नहरको मुहान पूर्ण रुपमा पुरेको छ । मुहान पुरिएपछि विद्युत् आपूर्ति अवरुद्ध हुँदा  गाविसका करिब एक हजार १०० घरपरिवारमा विद्युत् सोवा बन्द भएको छ ।  दुवै आयोजनाको मर्मत सुधारको काम अघि बढाइएको स्थानीयवासीले बताएका छन् ।

Post a Comment

 
Top