0
व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सभासद्हरू ले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सभासद्हरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण सफल बनाई नेपालको हितमा उपयोग गर्न, स्थानीय निकायको निर्वाचन चाँडो सम्पन गर्न, २६ सभासद्को चाँडो मनोनयन गर्न, विद्यालय स्रोत व्यक्तिलाई अपमानपूर्वक जिल्लान्तर सरूवा नगर्न, शिक्षक÷कर्मचारीको दुर्गम भत्ता कटौती नगर्न र नन्दप्रसाद अधिकारी दम्पतीको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
यस्तै, सामुदायिक रेडियोलाई लोककल्याणकारी विज्ञापन दिइनुपर्ने, सिंहदरबारमा सभासद्लाई तीनजना कार्यकर्ताको प्रवेश गराउन दिइनुपर्ने, दाङको अञ्चल अस्पतालमा चिकित्सक पठाइनुपर्ने, जय पृथ्वीबहादुर सिंह मार्गमा भएको अवरोध, पाँचथरमा झुसिलकिराको प्रकोप नियन्त्रण गर्नुपर्ने, वीर अस्पतालको अस्तव्यस्तता समाप्त गर्नुपर्ने र शून्य समयमा उठाइएका प्रश्नबारे मन्त्रीहरुले जवाफ दिनुपर्ने विषय पनि उनीहरुले उठाएका थिए । शून्य समयमा सभासद्हरू राजन केसी, रामहरि खतिवडा, रामहरि सुवेदी, विमल केडिया, विशाल भट्टराई, विसरामप्रसाद चौधरी, बुद्धिराम भण्डारी, लालबहादुर गुरुङ, लालबहादुर राउत, बबिना मोक्तान लावती, विकास लम्साल, राजु खनाल, राधाकृष्ण कँडेल, राधादेवी तिमल्सिना, रामअयोधीप्रसाद यादव, रामकुमार राई, रामकृष्ण यादव, रामचन्द्र यादव, रामनारायण बिँडारी, रञ्जुकुमारी झा, ललितजङ्ग डाँगीले आ–आफ्ना धारणा राखेका थिए ।
यसैगरी संविधानसभा, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकले तत्कालीन संवैधानिक समिति अन्तर्गत गठित विवाद समाधान उपसमितिले गरेका निर्णयहरुमाथि छलफल गरी सहमतिको प्रतिवेदन तयार गर्न आठ सदस्यीय उपसमिति गठन गरेको छ । सो उपसमितिलाई यही साउन २० गतेभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको छ । उपसमितिमा अर्जुननरसिंह केसी, केशवप्रसाद वडाल, डिम्पलकुमारी झा, दिलनाथ गिरी, प्रेमबहादुर सिंह, लक्ष्मण राजवंशी, लक्ष्मणलाल कर्ण र शिवकुमार मण्डल केवट रहेका छन् ।
समितिका शाखा अधिकृत लक्ष्मण अर्यालले दिनुभएको जानकारीअनुसार बैठकमा प्रारम्भिक वार्ता उपसमितिले यही साउन ११ र १२ गते संविधानसभा बाहिर रहेका राजनीतिक दल, सरोकारवाला  र सशस्त्र समूहसँग भएका वार्ताबारे जानकारी गराइएको थियो । सो उपसमितिले संविधान सभा बाहिरका विभिन्न आठ राजनीतिक दलसँग वार्ता गरेको थियो ।

Post a Comment

 
Top