निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलका कारण पोखरा–१४ का दक्षिणी भेगमा बसोबास गर्ने स्थानीयबासीहरुलाई वर्षाको पानीले विस्थापित भएका छन् ।
विमानस्थलले आफ्नो क्षेत्रमा जम्मा हुने वर्षाको पानी नियन्त्रण नगर्दा तल्लो भेगमा बस्ने १ सय ५० घर धुरी र तीन सय रोपनी खेतीयोग्य जमिन वगरमा परिणत भएको छ । गत मंगलवार परेको पानीले स्थानीय विष्णुमाया भण्डारीको घरमा भेलबाढी पसेपछि परिवार विस्थापित भएको छ ।
उनीहरुलाई तत्काल नेपाल रेडक्रस सोसाइटी, वडा प्रहरी कार्यालय रामबजार र स्थानीय वासीको सहयोगमा उद्धार गरिएको थियो । ६ जनाको परिवार रहेका भण्डारीलाई हाल मझेरीपाटनमा रहेको शिवमार्ग टोल विकास संस्थाको आमा समूहको भवनमा आश्रय दिइएको छ । यसैबीच बिहीवार शिवमार्ग टोल विकास संस्थाका अध्यक्ष कोपिला श्रीषको अध्यक्षतामा बसेको बैठकले पोखरा विमानस्थल लगायतका सम्बन्धित संस्थाहरुलाई तत्काल नियन्त्रण गर्न ज्ञापनपत्र बुझाउने निर्णय भएको छ । वर्षायाम शुरु भएकाले यस क्षेत्रका स्थानीयवासीहरुलाई थप विस्थापित हुन नदिन तत्काल पहल गर्नुपर्नेमा स्थानीवासीहरुले जोड दिएका छन् ।
समन्वय समिति वडा नं. १४ का अध्यक्ष राम कार्की, स्थानीयवासीहरु अमरप्रसाद ढुङ्गाना, रामचन्द्र ढुङ्गाना, पावर्ती ढुङ्गाना, पृथ्वी कुवँर लगायतले निर्माणाधीन विमानस्थलमा जम्मा भएर जाने पानीका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनेतर्फ सरकारको पुनः ध्यानाकषर्ण गराएका छन् । चाडो भन्दा चाडो ढल बनाएर पानीको निकास दिन पीडितहरुले आग्रह गरे ।
Post a Comment