0
सुशिल दर्नाल
 विभिन्न माग राखेर ४१ दिनदेखि रिले अनशनमा बस्दै आएका मिर्गौला पीडित अनसनकर्मीमध्ये तीनजनाको मृत्यु भइसेकेको छ । केही दिनअघि रत्नपार्कस्थित शान्ति बाटिकामा अनसन बस्ने क्रममा तीनजनाको मृत्यु भएपनि सरकार, नागरिक समाज, अधिकारकर्मी र सरोकारवाला सङ्घसंस्थाले अहिलेसम्म कुनै चासो देखाएको पाइदैन् । अनसनका क्रममा मिर्गौला पीडित श्याम खड्की (काठमाडौँ) असार ३ गते, श्याम खत्री क्षेत्री (ललितपुर) को  असार १६ गते र नातीभाइ डङ्गोल (काठमाडौँ) को असार ३० गते मृत्यु भएको हो । सम्पूर्ण मिर्गौला रोगीलाई निःशुल्क रक्त शुद्धीकरण सेवा निरन्तर दिनुपर्ने र आर्थिक अवस्था अत्यन्त कमजोर भएका मिर्गौला रोगीका लागि मिर्गौला प्रत्यारोपण वा औषधि सेवन महँगो भएकाले निःशुल्क उपचार गरिदिनुपर्ने लगायतका सात सुत्रीय माग गर्दै मिर्गौला पीडितहरू जेठ २७ गतेदेखि शान्ति बाटिकामा रिले अनसनमा बस्दै आएका छन् ।
राष्ट्रिय मिर्गौला पीडित सङ्घ नेपालको अगुवाइमा सुरु गरिएको अनसन दैनिक चार घण्टा, आठ घण्टा हुँदै असार २९ गतेबाट दैनिक १२ घण्टासम्म पुगको छ ।  सङ्घका अध्यक्ष चिन्तामणि पोखरेलले अनशन बसेको महिनौँ दिनसम्म पनि राज्य, सरकारले र नागरिक समाजले कुनै वास्ता नगरेको गुनासो गर्दै आत्मदाह गर्ने चेतावनी दिए । संसारभर बढ्दै गएको उच्च रक्तचाप, मधुमेह र खाद्य तत्वमा मिसिएको जटिल किसिमका रासायनिक तत्वले मिर्गौला पीडितका रोगीहरू बढ्दै गएको पाइन्छ । नेपालमा यस रोगको बारेमा यकिन तथ्याङ्क नभएपनि कूल जनसङ्ख्याको ९ प्रतिशत मानिसमा यो रोग लाग्नेगर्छ । जसमध्ये १० प्रतिशत मानिसको दुवै मिर्गौला पूर्ण खराब भएको मिर्गौलापीडित सङ्घको भनाइ छ ।
मिर्गौला मानिसको एक संवेदनशील अङ्ग भएपनि सो रोगको बारेमा समयमै सचेत गराउने र उपचार पाएको खण्डमा ९० प्रतिशत विरामीको मिर्गौला जोगाउन सकिन्छ । जनस्तरमा चेतनाको कमी र आवश्यक प्रचारको कमीले यो रोग झन जटील बन्दै गइरहेको छ । मकवानपुर बज्रवाराही–४ का अनसनकर्मी मिर्गौला पीडित दीपककुमार न्यौपानेले भनेृे– “हप्ताको दुईपटक रक्त शुद्धीकरण गर्दा मात्रै अहिलेसम्म करिब रु १५ लाख खर्च भइसकेको छ, सम्पत्ति पनि सबै सकियो, अहिलेसम्म ऋण गरेर चलिरहेको थिए केही उपाय नभएपछि अनसन बस्नुपरेको छ ।”
चार वर्षदेखि मिर्गौला रोगको उपचार गराउँदै आएका न्यौपानेले घरमा कमाउने आफू मात्र भएको हुँदा आफूलाई रोग लागेपछि तीन छोरा÷छोरी र श्रीमतीलाई साँझ बिहान दुई छाक टार्नसमेत धौधौ भएको बताए । मिर्गौला पीडितले आफ्ना माग पूरा नभए साउन २० गते स्वास्थ्य मन्त्रालय अगाडि सामूहिकरूपमा आत्मदाह गर्ने बताउँदै आएका छन् ।  महासङ्घका महासचिव समिर पोखरेलले सरकारले निःशुल्क रक्त शुद्धीकरण गर्ने माग मात्र पूरा गरेको खण्डमा अनसन तोड्ने बताए । दुवै मिर्गौला खराब भएपछि स्वस्थ्य व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु एक मात्र विकल्प हुँदा हुँदै प्रत्यारोपणको लागि करिब रु आठ लाख र त्यसपछि औषधि सेवनको लागि महँगो धनराशि खर्चिनुपर्छ । रोग लागिसकेपछि काम गरेर खान नसक्ने हुँदा पारिवारिक बोझ बन्दै जाने र उसँग आश्रित परिवारको विचल्ली तथा उठिवास नै लाग्ने गरेको भन्दै मिर्गौला पीडित गिरीप्रसाद पुनले दुखेको सुनाए । मिर्गौला पीडित सङ्घका अध्यक्ष पोखरेलले निजी अस्पतालले रक्त शुद्धीकरण गर्दा एकपटकमा करिब रु तीन हजार र सरकारी अस्पतालले करिब रु एक हजार ५०० लिने गरेको जानकारी दिऐ । २०६२ सालदेखि मिर्गौलाको उपचार गराउँदै आएका पोखरेलका अनुसार अहिलेसम्म करिब रु ३० लाख खर्च भइसकेको र भएको सम्पत्ति पनि सबै सकिएको छ ।  आफ्ना माग पूरा गर्ने सवालमा मन्त्री, सरकारी सचिवहरू, दलका नेता तथा सरोकारवाला सङ्घसंस्थाले मागप्रति गम्भीरता देखाउँदै आएपनि व्यावहारिकरुपमा कार्यान्वयन हुन नसकेको मिर्गौला पीडितको भनाइ छ ।

Post a Comment

 
Top