0
पृथ्वीराजमार्ग अन्तर्गत धादिङखण्डमा सञ्चालित होटलमा एक वर्षको अवधिमा करिब ५८ लाख यात्रुले खाना र खाजा खाने गरेका छन् । राजधानी भित्रिने र बाहिरिने यात्रुबाहक सवारीसाधनमा यात्रा गर्नेले यहाँका होटलमा खाना खाजा खाने र ठूलो रकम खर्च गर्ने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्लामा ८६ किलोमिटर मुख्य राजमार्गमा भए पनि ४० किलो मिटरभित्र खोलिएका ३२ वटा यात्रु होटलमा दैनिक १६ हजार यात्रुले खाना खाजा खाने गरेको तथ्याङ्क छ । ती यात्रुले वार्षिक रूपमा रु ९२ करोड १९ लाख ८६ हजार २५० बराबर खर्चने अनुमान गरिएको छ ।  धादिङको राजमार्ग क्षेत्रमा रहेका होटलको प्रारम्भिक अध्ययनपछि फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङले प्रतिवेदन सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । सोमबार सार्वजनिक गरिएको प्रारम्भिक चरणको अध्ययन प्रतिवेदनमा ५७८ वटा दिवा तथा रात्रि बस र ३५८ वटा माइक्रोबसका १५ हजार ६२५ जना यात्रुले दैनिक खाना तथा खाजा खाने गरेको उल्लेख छ । हरेक यात्रुले सरदर रु १५० का दरले मात्र खर्च गरेपनि रु २३ लाख २३ हजार ७५० खर्च हुन्छ । यात्रुले दसँैतिहार पर्ने महिना बाहेकको ११ महिनामा रु ७६ करोड ९१ लाख ६१ हजार २५० को होटलमा र रु एक करोड १५ लाखको हाराहारीमा होटल आसपासका खुद्रा तथा फलफूल पसलमा खर्च गर्ने अनुमान गरिएको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा यति धेरै आम्दानी हुने क्षेत्रमा सरकारी क्षेत्रको ध्यान नपुग्दा प्रशासनिक काम, रोजगारीको खोजी, अध्ययन अध्यापन र व्यापारिक काम लिएर राजधानी भित्रिने र बाहिरिने यात्रुलाई लक्षित गरी खोलिएका होटलको केही वर्ष अघिसम्म होटल मजदुर तथा मालिकसँग दोहोरो बोल्न नपाउने, बासी खाना खुवाउने, महँगो मूल्य असुली गर्ने, भान्छा कोठा फोहोर, शौचालय यात्रुमैत्री नभएको र जबर्जस्त खाने चीज बेचेको यात्रुको गुनासो आएपछि राजमार्गका होटल सुधार गर्न पहल थालिएको फियान नेपालका राजेन्द्र बस्नेतले बताए ।

Post a Comment

 
Top