0
संविधान सूचना केन्द्र पोखराको आयोजनामा संविधान निमार्णको सवालमा नागरिक सचेतना र संवाद विषयक अन्तक्र्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा संविधान सूचना केन्द्र गण्डकी प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङ्गले संविधान सूचना केन्द्रको अभियान, संविधानसभा नियमावली २०७०, अन्तरिम संविधान, अघिल्लो संविधानसभाका सहमति र विमतिका विषयहरुमा आफ्नो प्रस्तुति राखेका थिए । अबको संविधानले सबैखाले विभेद्को अन्त्यलाई प्राथमिकता दिनुपर्ने र यदि विभेद्को अन्त्य नभएमा फेरी पनि द्वन्द्व नआउला भन्न नसकिने तर्फ राजनीतिक पार्टीहरु सचेत हुनुपर्ने कुरामा पनि उनले जोड दिएकी छन् । सहनशिला महिला समूहका अध्यक्ष सुमित्रा कोइरालाले महिला अधिकार अब कानून र बोलीमा मात्रै नभएर व्यवहारमा पनि कार्यान्वयनको लागि सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिइन । यस्तै महिला विकास केन्द्रका तीर्थ श्रेष्ठले पुरुष सरहनै समान भएर अघि बढ्न सक्ने वातावरण सहितको संविधान बन्नुपर्ने र शिक्षामा पनि घर परिवारबाट छोरा र छोरीको बिचमा विभेद् गर्न नहुने बताए ।
रातोमाटा आमा समूहकी गोमा सोतीले अबको संविधानमा राज्यका हरेक निकायमा महिला सहभागितालाई ५० प्रतिशत संविधानमा सुरक्षित गर्नुपर्ने र आमाको नामबाट नागरिकता प्रप्तिमा सहजता निमार्ण हुनुपर्ने मा जोड दिइन । राष्ट्र विकासका लागि आधा हिस्सा भएको महिलार र  पुरुषको राज्यका हरेक निकायमा समान अवसर र सहभागिता सुश्चिित हुनुपर्ने र नेपालमा भएको लैङ्गिक विभेदको अन्य भएमा देश समुन्नत हुने र त्यसको लागि महिलामैत्री संविधान आजको आवश्यकता भएको सहभागीहरुको भनाइ थियो । संविधान सूचना केन्द्र गण्डकी प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन संविधान सूचना केन्द्रका जनसम्पर्क अधिकृत विशाल रानामगरले गरेका थिए ।

Post a Comment

 
Top