0
लेखनाथका निर्माण व्यवसायीहरुका लागि व्यवसाय सुधार सम्वन्धी एक हप्ते तालिम सम्पन्न भएको छ । अनौपचारिक रुपमा निर्माण कार्यमा रहेका व्यवसायीहरुलाई उद्यमशिलता तथा व्यवसायिक योजना निर्माणमा सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान काठमाण्डौंले तालिम संचालन गरेको हो । अनौपचारिक रुपमा निर्माण व्यवसाय अगाल्दै आएका उनिहरुका लागि बजार पहिचान, निर्माणमा गुणस्तरियता, नाफा नोक्सानको सम्भाव्यता तथा सरकारी निकायबाट मान्यता दिलाउन सहयोग पुग्ने तवरले प्रशिक्षण गरिएको थियो । तालिममा औद्योगिक व्यवसाय प्रतिष्ठानका प्रमुख प्रशिक्षक रामप्रसाद तिवारी, बरिष्ठ प्रशिक्षक मुकुन्द ज्ञवाली लगायतले सहजीकरण गरेका थिए । तालिममा लेखनाथ नगरक्षेत्रभित्रका २० जना निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो । निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष किशान सिंह गुरुङ्गको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमा प्रशिक्षकद्वय तिवारी र ज्ञवाली एवं सहभागीका तर्फबाट दुर्गादत्त अधिकारी, मोतिकाजी श्रेष्ठ, भीमबहादुर नेपाली लगायतले तालिमबाट औपचारिक व्यवसाय संचालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Post a Comment

 
Top