0


नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले समृद्ध नेपाल निर्माणका लागि बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचारलाई व्यावहारिक प्रयोगमा ल्याउनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिद्वारा बिपी कोइरालाको शतवार्षिकीका अवसरमा सोमबार आयोजित ‘समृद्ध नेपालका लागि बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा उहाँले बिपीले नेपालको भौगोलिक अवस्थिति एवम् वास्तविकतामा आधारित रही समृद्ध नेपालको परिकल्पना गरेको बताए । उनले बिपी कोइरालाको योगदानका जगमा नेपाल वर्तमान अवस्थामा आइपुगेको बताउँदै भने–अब संविधान लेखन प्रक्रियालाई निष्कर्षमा पु¥याएर नेपाललाई दिगो समृद्धिको मार्गमा उन्मुख गराउनुपर्छ । काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राजनीति आफ्ना लागिभन्दा पनि राष्टूका लागि गर्नुपर्ने बिपीको चिन्तनलाई आत्मसात् गर्नुपर्ने बताए ।  काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बिपीले परिकल्पना गरेको समृद्ध नेपालका लागि उहाँले अघि सारेको प्रजातान्त्रिक समाजवादको चिन्तनलाई उपयोग गर्नुपर्ने बताए ।  काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले बिपीको सपना साकार पार्न नेपालको जारी संविधान लेखन प्रक्रियालाई सम्पन्न गरी दिगो शान्ति र विकासका मार्गमा देशलाई लैजानुपर्ने बताए । काँग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले समृद्ध नेपालका लागि राष्ट्रियता, प्रजातन्त्र र समाजवाद वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको बताए । काँग्रेसका युवा नेता गोविन्द भट्टराईले युवा वर्गको सशक्तीकरणमा जोड दिएका बिपीको चिन्तनमा आधारित रही वर्तमानमा पनि युवालाई सशक्त पार्दै उनीहरूलाई समृद्ध नेपाल निर्माणको अभियानमा लगाउनुपर्ने बताए ।  कार्यक्रममा सभासद् एवम् नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्ण तथा नेताहरू दीपक भट्टराई, दीपा शिवाकोटी, मनहरि श्रेष्ठ, शुभराम बस्नेतलगायतले बिपीले सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

Post a Comment

 
Top