0

    पोखरा, २९ असार । अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका– संसद्मा प्रस्तुत गरेको आव २०७१÷७२ को बजेटप्रति पोखराका उद्यमी, पर्यटन व्यवसायी र महिला गृहिणीले मिश्रित प्रतिक्रिया दिएका छन्     पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव नारायण कोइरालाले बजेटले कृषि, ऊर्जा, शिक्षा, शिक्षा र पर्यटन पूर्वाधारमा विशेष जोड दिएकाले सकारात्मक भएको टिप्पणी गर्नुभयो । बजेट समयमै प्रस्तुत हुनु सकारात्मक पक्ष भए पनि यसको कार्यान्वयन फितलो हुने गरेकामा दुःख व्यक्त गर्दै उहाँले बजेटमा व्यक्तिगत र पारिवारिक खर्चको सीमा बढाएर करमा छुट दिइनु राम्रो पक्ष हो भन्नुभयो ।  पर्यटन व्यवसायी वासु त्रिपाठीले बजेटले परम्परागत र ठूला पर्यटन उद्योगको विकासलाई सम्बोधन गर्न नसकेको धारणा राख्नुभयो । पोखराको चक्रपथ, पोखरा–लुम्बिनी दु्रतमार्ग र युवा रोजगारका बारेमा बजेट मौन रहेको उहाँको भनाइ थियो । उहाँले पर्यटन उद्योगको विकासमा रु ५० अर्बभन्दा बढी निजी क्षेत्रको लगानी भएको पोखरालाई बजेटले कत्ति पनि छुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । अर्का पर्यटन व्यवसायी गोविन्द पहारीले प्रत्येक निर्वाचन क्षेत्रका लागि पूर्वाधार विकासका लागि छुट्टाइएको रु पाँच करोड सकारात्मक पक्ष भए पनि यसको कार्यान्वयनमा दुरुपयोग हुन नदिन सबै सजग हुनुपर्नेमा जोड दिनुभयो । बजेट निकै महत्वाकाङ्क्षी छ भन्दै उहाँले कृषिमा आधुनिकीकरण, सौर्यबत्ती विकास, महिला सशक्तीकरण जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । पोखरा नयाँ बजारकी गृहिणी दिलमाया गुरुङले बजेटले मूल्यवृद्धि नियन्त्रणमा कुनै ठोस योजना नल्याएकामा दुःख व्यक्त गर्दै बढ्दो मूल्यवृद्धिले कम आय भएका परिवारलाई निकै मारमा पारेको धारणा राख्नुभयो । रासस
––––––––

Post a Comment

 
Top