0

वि.पि. जस्तो विश्वविख्यात समाजवादी चिन्तक, नेपालको सर्वाधिक लोकप्रिय नेता, मुर्धन्य साहित्यकार २००७ सालको राणा विरोधी क्रान्तिका नायक, पहिलो जननिर्वाचित प्रधानमन्त्री, भारतको स्वतन्त्रता संग्राममा सहभागी भए वापत जेल सजायं भोगेका भारतीय जनताका परम् मित्रका वारेमा इतिहासमा धेरै लेखिएको छ र पछि पनि लेखिने छन् । यस लेखमा वि.पि. संग म र मेरो परिवारको जीवन्त सम्बन्धका बारे केही खुड्काहरु मात्र प्रस्तुत गरेको छु ।
२०१२ साल फागुनको कुरा हो, शिवरात्री भन्दा २ दिन अघि लम्जुङ्ग, करापुटारको कार्यक्रममा जाने सिलसिलामा कास्की लेखनाथ चोकको उत्तरपट्टि पर्ने पुरानो अर्घौं बजारको एउटा घरमा वि.पि., सुवर्ण सम्सेर, डा. तुलसी गिरी, श्रीभद्र शर्मा, योगेन्द्रमान शेरचन, मीनबहादुर गुरुङ्ग, श्रीकान्त अधिकारीले विहानको खाना खाने र स्थानीय साथीहरुलाई भेट्ने कार्यक्रम थियो । त्यो घर त्यतिवेलाका कर्मठ र उत्साही युवा नेता बावुराम श्रेष्ठको हो । व्यापारिक प्रयोजनका लागि काठको ढिक राखेर मूल बाटोमा बनाएको घरमा उहाँहरु बस्ने व्यवस्था थियो ।
बिहान सवेरै मेरो वुवा श्री नारायणदत्त रानाभाट र गुरु श्री रसमोहनले हामी दुई जना केटाहरुलाई लिएर आधा घण्टाको हिडाइ पछि अर्घौ बजार पुग्नु भयो । कार्यकर्ताहरु धेरै जम्मा भएका थिए । फुलमाला लिएर स्वागत गर्न लामबद्ध भएका कार्यकर्ताहरुको पंक्तिमा हामी पनि उभियौ । केही क्षणमा पोखराबाट नेताहरु आई पुग्नु भयो । भव्य स्वागत भयो । नारा घन्किए, वीर विश्वेश्वर(जिन्दावाद, सुवर्श सम्सेर) जिन्दावाद ।
राडी विछ्याएको त्यसमाथि गलैंचा । नेताहरु आ–आफ्ना आसनमा बसेपछि परिचय सुरु भयो । स्थानीय नेताहरु पहिले अनि कार्यकर्ता र हामी विद्यार्थीको पालो थियो । श्रीभद्र, मीनबहादुर, श्रीकान्त मैले पहिले देखिनै चिनेका नेता हुनुहुन्थ्यो । वि.पि., सुवर्ण, डा. गिरी र योगेन्द्रमान नाम धेरै सुनेका तर मैले नदेखेका नेताहरु हुनुहुन्थ्यो । हामीलाई नजिकै लगेर वुवाले परिचय गराउनुभयो । ‘‘यो मेरो छोरा र यो पण्डितको छोरा ।” हामी दुई केटाहरु थियौ–तारानाथ रानाभाट र कृष्णमोहन दाइ ।
सुवर्णजी, डा.गिरी र योगेन्द्रमानले हेरी मात्र रहनुभयो । वि.पि.ले मेरो वुवा तीर हेरेर सोध्नु भयो । ‘‘यहाँ स्कुल छ कि छैन? यिनीहरु पढ्दै छन् नि !” वुवाले भन्नु भयो, ‘‘पढ्दै छन् । गाउँमै स्कुल छ । काठमाण्डौका भैरवप्रसाद अर्याल मास्टर छन् । मेरै घरमा बस्छन् । यिनीहरुले अंग्रेजी पढ्न सुरु गरेकोभर्खर डेढ बर्ष भयो ।” हामी पट्टी हेरेर वि.पि.ले भन्नु भयो –‘‘राम्रो पढ्नु । म फेरी आउँदा भेट्नु पर्छ ।” त्यो दिन स्कुल गएनौ । साँझ घरमा भैरव सरले नेताहरुका बारेमा सोध्नुभयो । उहाँले वि.पि. र सुवर्णजीका बारे धेरै लामो कुरा सुनाउनु भयो । वुवा, काकाहरु, दाईहरुले त बुझ्नु भयो र बीचबीचमा वुवाले पनि आफुले जानेका कुरा थप्दै जानुभयो तर मैले भने काँग्रेस, नेता,प्रजातन्त्र, कार्यकर्ता, गोर्खे, भरत सम्सेर  आदि शब्द मात्र बुझे ।
त्यो घटनाले थाहा नपाउने गरी मलाई पनि काँग्रेस बनाएछ । एक त घरको वातावरण नै काँग्रेसी राजनीतिको । सधै जसो धेरै साथी सल्लाह गर्न हामै्र घरमा जम्मा हुन्थे । यी गोर्खेहरुले सताउने भए, यिनलाई तह लगाउनु पर्छ, हाम्रो संगठन मजवुत पार्नुप¥यो भन्ने चर्का–चर्का कुरा पनि हुन्थे । झन नेताहरुलाई प्रत्यक्ष देखेपछि त मेरो जिज्ञासा बढ्दै गयो । घरमा नेपालपुकार आउँथ्यो । पढेर सवैलाई सुनाउने मेरै काम थियो ।
२०१४ सालमंसिरको घटना हो । २२ गतेबाट भद्र अवज्ञा आन्दोलन सुरु गर्ने कार्यक्रम थियो । कार्यकर्ताहरुले सरकारी अड्डामा पिकेटिङ गरेर कामकाज रोक्ने योजना बन्यो । प.३ नं. इलाकाको सदरमुकाम पोखरामा हुने आन्दोलनका लागि विद्यार्थी स्वयंसेवक छानियो । हामी २२ जना जति थियौ । एक जना केटी थिइन,  देउरालीको शिव दिदी (नेता ओमकारराज शर्माको छोरी) धेरै त बजार र अरु गाउँका थिए, मैले नचिनेका । चिनेका मध्ये मौजाका भेषजंग गुरुङ, कुंडहरका पुलिन्द्रमान श्रेष्ठ, गणेशमान पालिखे, कृष्णबहादुर गुरुङ (अनदु), कृष्णमोहन दाइ, मेघमणि भण्डारी र टीकाराम पण्डित थिए ।
पार्टी अफिस, नालाको मुखमा हामीलाई तर्कबहादुर कुंवर र दिलबहादुर श्रेष्ठले तालिम दिनु भयो अड्डामा जाने बाटो छेकेर सुतेका सत्याग्रही नेता कार्यकर्तालाई सेवा पु¥याउने; पुलिसले, कर्मचारीले पिटे वा लछार पछार पारे भने सुरक्षा दिने; अनुसाशित भएर उभिइरहने; मुख नलाग्ने, नरिसाउने; आँफू दिशा पिसावमा जानु परे आफ्नो ठाउँमा अर्को साथीलाई जिम्मा दिएर जानु पर्ने आदि नियम सुनाउनु भयो ।
बडाहाकिमको ढोका, मोहोरिया टोलमा, हुलाक अड्डामा, माल अड्डा, विध्यवासिनीमा रहनु पर्ने स्वयंसेवक खटिए । म र केही साथी अदालत र झ्यालखाना जाने गल्लीमा खटियौं । भीमसेनथान अगाडीको धारा देखि एउटा सांगुरो गल्ली थियो । त्यो गल्ली भरी लम्पसार परेर नेता कार्यकर्ता सुतेका थिए । हिड्न हुने ठाउँ नै थिएन । कर्मचारी, पुलिस वा सर्वसाधारणले अड्डासम्म जाने हो भने सत्याग्रहीको शरीरमा टेकेर जानु पर्ने थियो । सर्वसाधारण मान्छे त जान सक्ने कुरै भएन, डि.,अरु कर्मचारी पनि हच्किएर धाराको छेउमा उभिए । प्रहरी भने हप्की दप्की गर्दै थिए । तर कुनै बल प्रयोग भने गर्न सकेनन्, दिन वित्यो । शान्तिपूर्वक कार्यक्रम सम्पन्न भयो । यसरी नेपाली काँग्रेसको विधिवत् स्वयंसेवक बनेपछि सुरुभएको मेरो राजनीतिक यात्रा र सक्रियता निरन्तर छ  र रहने छ ।
२०१५ सालको आम निर्वाचनका वेला क्षेत्र नं १०२ मा पनि स्वयंसेवक भएर हामी धेरै साथीले काम ग¥यौं । कागजको सानो टुक्रामा मतदाताको नाम, क्रम संख्या र गाउँ टोल उल्लेख गरेर हामी आफैले परिचय पत्र लेख्यौ । गाउँ–गाउँका लागि स्वयंसेवकका टोली बनाइए । कन्धनीडाँडा, राखीडाँडा, बरालडाँडा, विमिरापानी, धुवाँखोला र काफघारीका घर–घरमा परिचय पत्र पु¥याउने र रुख चिन्ह टाँसेको बाकसमा भोट राख्न मतदातालाई सिकाउने टोलीको नेता मलाई बनाएका थिए ।
२०१७ साल पौष १ गते प्रजातन्त्र माथि नै राजाले अन्तर्राष्ट्रिय र अनैतिक प्रहार गरेर शासन आफ्नो हातमा लिएपछि हाम्रो परिवारको आपत र अपमानका दिन सुरु भए। वुवा जेल पर्नुभयो । गाउँंमा भारा–पर्म, हली–बाउसे, सरसापट नपाउने भयौ । गाउँका जाली फटाहा, प्रहरी, कर्मचारी र सिआइडीले हाम्रा इष्टमित्र र छरछिमेकीलाई तर्साए, धम्क्याए । नारायणदत्त र रसमोहनको परिवारलाई सहयोग गरे थुनिनु पर्ने डर त्रास देखाए । चार बर्ष (२०२२)सम्म हामी समाजवाट बहिस्कृत भएर बस्न बाध्य भयौ लुकेर गर्ने काममा सहयोग, अलीअली नुन, मट्टितेल, धान, पराल, कोदो, मकै सबै छिमेकी इष्टमित्रले दिन्थे तर प्रत्यक्ष अगाडी पर्ने हिम्मत कसैको थिएन ।
वुवा जेलमा, १५ बर्षको जेठो छोरो म स्कुल जानु पर्ने, अरु भाइबहिनी सानै थिए् । तर आमाले बडो हिम्मत र धैर्यका साथ घर सम्हाल्नु भयो । धेरैकष्ट सहेर, हण्डर खाएर अपमानित भएर पनि विचलित हुनु भएन । अते
(अन्तर्राष्ट्रिय तत्वको अपमानजनक उच्चारण) की जोई, कैदीकी राँड जस्ता गाली आमाले खप्नु भयो । जोरी पारी र फटाहा पन्चहरुले कालो काँग्रेसको खलक भनेर हियाउथे ।
२०१८ पुसमा पोखरा जेलभित्र रहेका २५ जना राजबन्दी र अरु महिला पुरुष कैदीहरुले प्रत्यक्ष देख्नेगरी भवनको दलिनमा माथि खुट्टा तल टाउको पर्ने गरी मेरो वुवालाई झुण्ड्याएर पैतालामा कोर्राले हान्ने प्रहरी र उभिएर हेर्ने बडाहाकिम तेजबहादुर प्रसाई, एस.पी. चिन्ताबहादुर बस्नेत अहिले पनि जीवित हुनुहुन्छ । पुलिस इन्सपेक्टर खडानन्द न्यौपाने भने स्वर्गे भएको धरै बर्ष भयो । उहाँहरुले अरु राजबन्दीलाई पनि यस्तै दण्ड भोग्नु पर्ने धम्की दिनु भयो । वुवाको दुवै खुट्टा सुनिएर हात्तीपाइले रोग लागेजस्तो भएका थिए । हजुरमुमा र म भेट्न जाँदा वुवा मुढो पल्टिए जस्तै अचेत भएर सुतिरहेको देख्यौ । जेलमा बस्ने अन्य साथीहरुको सेवासुश्रुसा पाएर बुवा त बाँच्नुभयो तर त्यही आघात सहन नसकेर हजुरमुमा फागुन महिनामा बित्नुभयो । गाँउलेहरुले अकारनामा गरेर १३ औं दिनको कार्य सिद्धिने बितिकै जेलमा बुझाउने गरी वुवालाई तेस्रो दिनमा मात्र क्रियाकर्ममा समेल गराइयो । १३ औ दिनको काम उम्किएपछि अकारनामा कागजमा सही गर्ने नातागोता र छिमेकी मिलेर वुवालाई साँझपख जेलमा बुझाएर फर्किए । त्योवेला सहनु परेको यस्ता यातना अपमान, दुःख र कठिनाई सम्झंदा अहिले पनि ९२ बर्षीय मेरो आमा भलभली रुनुहुन्छ । म पनि संवेदनशील हुन्छु । २०२२ सालको दशंै अगाडि वुवा जेलमुक्त हुनुभयो ।
२०२५ सालमा वि.पि. गणेशमान जेलबाट छुट्नु भएपछि पहिलो सार्वजनिक खुसीयाली हामीले मंसिर ८ गते खुल्ला सभा र भाषण गरेर मनायौ । ले.न.पा.डाँडाको नाक प्रहरी चौकी अगाडि जिल्लाका नेता र कार्यकर्ताहरुलाई मैले आफ्नै नामबाट निमन्त्रणा पत्र छपाएर वितरण गर्ने आयोजकहरुको सचिव म नै हुँ । कार्यक्रमको सभापति चुडामणिजी थिए । धेरै नेताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यो कार्यलाइ पञ्च र प्रशासनले अपराध ठाने । चुडामणि र म पक्राउ प¥यौं । उप–प्रधानपञ्च भएकोले चुडामणिलाई भोलिपल्टै छाड्यो । मलाइृ भने सात दिन थानामा राखेर हप्की–दप्की गरिरहे । पछि जिल्ला छाड्न नपाउने र प्रत्येक शुक्रवार थानामा हाजिर हुनुपर्ने सर्तमा हेडमास्टर सुर्यनाथजी, श्रीकान्तजी र मेरो वुवाको जिम्मा लगाएर मलाई छाडियो । निमन्त्रणा पत्र छाप्ने प्रेसका धनी चिनबहादुर बडागामीलाई पनि प्रशासनले निकै दुःख दिएको थियो ।
वनारसमा वि.पि.लाई जिल्लाको रिपोट बुझाउने र उताबाट पार्टीका प्रचार सामाग्री (तरुण पत्रिका) ल्याउने काम काँग्रेस नेता डिलबहादुर श्रेष्ठ ‘रनर’ हुनुहुन्थ्यो । २०३२ सालको असारमा दाइ बनारस जाँदा वि.पि.ले हाम्रो परिवारको वारेमा सोध्नुभएछ । अरु कुराका  अतिरिक्त मेरो सानो छोरा आतंकको शारीरिक बनोट र कमजोर स्वास्थ्य सम्बन्धमा वि.पि.लाई बताउनुभएको रहेछ । त्यही साल मंसिरमा वि.पि.ले वोलाउनुभयो । श्री धीरबहादुर गुरुङजी र म पुग्यौ । पार्टी संगठनको स्थिति र प्रचार–प्रसारको प्रभाव बारे रिपोर्ट ग¥यौ । त्यही क्षण वि.पि.ले मेरो सानो छोराको स्वास्थ्य सम्बन्धमा प्रश्न गर्नुभयो । म छक्क परें–कसरी यो कुरा थाहा पाउनुभयो भन्ने लाग्यो । धीरबहादुरजीले के गरी थाहा भयो वि.पि. भनेर सोध्नु भयो । डिलबहादुर आउँदा मलाई भनेका थिए भन्नु भयो । त्यतिबेला आतंक डेढ बर्षको थियो । मैले भने ‘‘अस्वाभाविक ठुलो टाउको र पुड्को शरीर छ । टाउकोको आकार घट्ने पनि होइन, शरीरको आकार लम्बिने पनि होइन । खाएपछि बान्ता भइहाल्ने औषधि मुलो ग¥यौं । झारफुक पनि गरियो । केही लागेन । यस्तै छ वि.पि. वावु ।” ‘‘त्यस्तो रोगको उपचार यहाँ लुधियानामा हुन्छ । आमाको दुध छुटेको भए बालकलाइ मात्रै, दुध नछुटेको भए आमा छोरा दुवैलाई यहाँ पठाउनु । म उपचार गराउँछु । चिन्ता नलेउ, बरु ढिला गर्नु हुन्न । जति सक्दो छिटो ल्याउनु ।”
घर फर्के पछि धीरबहादुरजी र मैले वुवासंग सल्लाह ग¥यौ । ‘‘कुरा त राम्रो हो, वि.पि. जस्तो ठुलो दिलको मान्छे, हाम्रो नेताले त्यस्तो जिम्मेवारी लिनु हाम्रा लागि सौभाग्य हो । तर केही खर्च पनि त पठाउनु पर्ला । खाने, बस्ने र अरु सुविधा र संरक्षण वि.पि.ले गर्नु भए पनि डाक्टर र औषधिको खर्च लाग्ला । सबै भार उहाँलाई पार्नु हुन्न । पैसाको बन्दोवस्त गरौ अनि पु¥याउँला ।”यस्तै अलमल र अनिर्णयको अवस्थामा बसी रहेको वेला वि.पि.को चिठी आयो । २८÷०३÷१९७६ मा वि.पि.ले लेख्नुभएको चिठीः–तै पनि पठाउन सकिएन । वि.पि.ले वनारसबाट जुन साथी आउँदा पनि ताकेता गर्ने हामी पठाउन नसक्ने ।
यतिकैमा वि.पि.ले १३÷०८÷ १९७६ मा लेख्नु भएको अर्को चिठी आयो । महत्वपूर्ण विषयमा छलफल गर्न २ जना प्रतिनिधि आउनु भनेर । पार्टीको जिल्ला सभापति धीरबहादुरजी र म गयौ । दक्षिण एशियामा विकसित भएको राजनीतिक परिस्थिति, नेपाली काँग्रेस र वि.पि.का प्रति भारतीय प्रधानमन्त्री इदिरा गान्धीजीको अशोभनीय दवाव, नेपालमा बढ्दै गएको राष्ट्रिय संकट र नेपाली काँग्रेसले यो संकटलाई टार्न दिनु पर्ने नेतृत्वदायी भूमिकालाई मध्यनजर राखेर वि.पि. स्वदेश फर्कने निर्णयमा पुगेर देशभरबाट साथहिरुलाई बोलाएर परामर्श सुरु गर्नु भएको रहेछ । हामी सबै साथीहरुलाई राखेर ‘‘राष्ट्रिय एकता र मेलमिलाप” को नीति लिएर नेपाल फर्कने निर्णय गरेका छौ । मिति पनि मंसिरको तोक्नु भयो । तर पछि सरेर पौष १६ गते मात्रै गणेशमानजी सहित स्वदेश फर्कनु भएको हो ।
त्यस सन्दर्भमा वि.पि.को वक्तव्य तयार भैसकेको रहेछ । हामीलाई निर्देशन दिंदै भन्नुभयो । ‘‘व्यापक रुपमा यो वक्तव्य वितरण गर्ने व्यक्ति–व्यक्तिलाई पठाउने, पञ्च, कर्मचारी, प्रहरी–सेनाले पढ्न पाउने गरी बाँड्ने, संगठन विस्तार गर्ने । तपाइहरुले सोचे जस्तो र पञ्चहरुले चाहे जस्तो राजाले मलाई फाँसी दिन सक्दैनन् । देशको सार्वभौमिकता नै खतरामा रहेको वेला मलाई मारेर राजाले आफुलाई थप जोखिममा पार्ने छैनन् । ढुक्क भएर काम गर्नुहोला । निर्दलीय पञ्चायत धेरै दिन टिक्दैन । प्रजातन्त्र फिर्ता दिन राजा बाध्य हुनेछन्” यो निर्देशन र प्रचार सामाग्री लिएर हामी विदा हुन खोज्दा वि.पि.ले मेरो छोराको स्वास्थ्य बारे मलाई सम्झाउनु भयो ।  हाम्रो भाग्य र आतंकको पुरपुरो नै त्यस्तै रहेछ ! चिन्ता, दुःख र पीडा आजीवन भोग्नु पर्ने भयो । हामीले उपचारका लागि छोरालाई वनारस पठाउन सकेनौं ।
२०३३ पौष १६ मा गणेशमान जी सहित वि.पि. नेपाल फर्कनु भयो , थुनिनुभयो । उपचारका लागि राजाले अमेरिका जाने मौका दिए । जानुभयो । उपचार सकेर नेपाल आउने क्रममा २०३४ कार्तिकमा नेपाली काँग्रेसको सम्मेलन भारतको पटनामा बोलाउनुभयो । सुवर्णजीले कार्यवहाक सभापतिको जिम्मेवारी वि.पि.लाई फिर्ता गर्नुभयो । वि.पि.ले त्यही सम्मेलनमा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाउनुभयो । अञ्चल–अञ्चलका कार्यकर्तालाई भेट्ने काममा गण्डकीका साथीहरु पुग्यौं । म हलमा प्रवेश गर्ने वितिकै वि.पि.ले ‘‘तारा, तिम्रो छोराको स्वास्थ्य कस्तो छ ? भनेर सोध्नु भयो । म भावविहल भैहाले । साथीहरु पनि छक्क पर्नुभयो । २०३२ साल देखिको कुरा अहिलेसम्म सम्झनुहुन्छ । कत्रो स्नेह हो ! कार्यकर्ताको दुःख, कष्टका प्रति कति ठूलो चिन्ता र संवेदनशीलता राख्ने नेता हो ! स्वयं हामी आमा वाबुले भारी मन लिएर खप्न तयार भएको वेदना प्रति उहाँको अभिभावकीय सोच देख्दा अहिले पनि हामी आश्चर्य चकित हुन्छौं ।
निर्देशनका क्रममा आफ्नो स्वाथ्यका बारे छोटो विवरण राख्दै हामीलाई भन्नुभयो । ‘‘अव नेपाल फर्केपछि मलाई त थुनिहाल्छ । पार्टीको जिम्मेवारी कार्यवाहक सभापति किसुनजीले सम्हाल्नु हुनेछ । तपाइहरुले पुरा सहयोग गर्नु होला । देशमा ठूलो परिवर्तन हुनेछ, त्यो अवस्थामा हाम्रो पार्टीको भूमिका निर्णयक हुनु पर्छ । देश र प्रजातन्त्र बचाउने जिम्मेवारी हाम्रो हो ।”
२०३६ सालको जनमत संग्रहको वेला वि.पि. पोखरा आउनु भयो । एयरपोर्टमा प्लेनबाट ओर्लने वितिकै मेरो अभिवादन र स्वागत स्वीकार गरे पछि मलाइृ भन्नु भयो –‘‘तिम्रो आमा, श्रीमती र छोरालाई भोली निवासमा लिएर आउनु ।” अर्को दिन वुवा, आमा, नर्मदा र आतंकलाई लिएर उहाँको निवासमा पुग्यौं । मेरो आमाको काखमा रोगी बालक आतंक थियो । वि.पि.ले आतंकको टाउको सुम्सुम्याउनु भयो । मेरो आमालाई उहाँले ‘‘आमा” भनेर सम्बोधन गर्नुभयो । भन्नुभयो–‘‘आमा, पीर नलिनु यसको उपचार म गराउँछु ।” आमा र नर्मदाले मन थाम्न सक्नुभएन । डाँको छोडेर रुन थाल्नुभयो । वि.पि.ले नर्मदालाई सम्झाउँदै भन्नुभयो–‘‘बैनी नरोउ, म काठमाडौं फर्केपछि तिमीहरुलाई बोलाउँछु ।” हाम्रो परिवारका बुवासहित ६ जनालाई राम्रोसंग चिन्नुहुने वि.पि.प्रति हामी कति कृतज्ञ छौं र आभारी छांै, पाठकहरुले अनुमान लगाउने बिषय हो ।
यसरी, नेपालको सर्वभौमिकता, प्रादेशिक अखण्डता र स्वतन्त्र अस्तित्वका प्रवक्ता, नेपाली जनताका लागि अकुण्ठित मानव अधिकार र बहुदलीय प्रजातान्त्रिक साशन पद्धतिको हकका लागि आजीवन संघर्षशील जननेता, राष्ट्रिय एकता र मेलमिलापको नीतिका प्रणेता वि.पि. कोइराला अहिले हामीहरुका बीच हुनुहुन्न । तर उहाँको कालजयी विचार, स्पष्ट सन्देश र उहाँले तय गर्नुभएको लक्ष्य र नीतिलाई अनुशरण गर्दै प्रत्येक नेपालीले अनुसरण गर्नु युगको माग भएको छ ।
परम्परादेखि हाम्रो जीवन पद्धति र पहिचानका रुपमा विद्यमान विविधता बीचको एकता, सद्भाव, सहिष्णुता र समभाव नेपाली मात्रमा रहनुपर्छ । एकतामा मात्रै हाम्रो देशको भविश्य अटल र उज्जल छ । तर एउटा शर्त छ –प्रत्येक नेपाली चाहे बिचारका, राजनीतिका, जातजातिका, भूगोल र भेकका, धर्म र संस्कृतिका, भाषा र रहनसहनका भिन्नतामा रहेका हुन्, सबै नेपालीले, त्यसमा पनि तरुण–युवा–विद्यार्थी पुस्ताले वि.पि.बाट शिक्षा लिंदै राजनीति मात्र होइन हर पेशा–व्यवसाय, सेवा र क्षेत्रमा क्रियाशील रहेर पनि देशको उन्नति र प्रगतिमा निष्ठापूर्वक मेलमिलाप, सहमति र सहकार्यका साथ अगाडि बढ्नु जरुरी छ ।
तारानाथ रानाभाट
 (लेखक ः नेपाली काँग्रेसका पूर्व महामन्त्री हुन् ।)

Post a Comment

 
Top