0

पार्टीभित्र देखिएको अन्तरकलहलाई समाधान गर्ने उद्देश्यले बसेको एकीकृत नेकपा(माओवादी)को विवाद समाधान समितिको बैठक बिना निष्कर्ष सकिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकमा विभिन्न जिल्लामा गठन भएका समानान्तर समितिको विषय समाधान गर्ने भनिए पनि कुनै सहमति हुन सकेन । संस्थापन पक्षले आफ्नो विचार समूहलाई पेलेको भन्दै वरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षले सिन्धुली, गोरखा, डोटी, मकवानपुर र धनुषामा समानान्तर समिति गठन गरेको थियो । परम्परागत तवरले पार्टी अगाडि बढ्न नसक्ने भन्दै भट्टराई पक्षले सङ्गठनात्मक संरचना बदल्नुपर्ने माग गरेको थियो ।  विवाद समाधान गर्न अवलम्बन गर्ने सबै उपायका सम्बन्धमा छलफल भएपनि आज कुनै सहमति हुन नसकेको एमाओवादी अध्यक्ष दाहालका स्वीकय सचिव चुडामणि खड्काले जानकारी दिए ।
बैठकमा अध्यक्ष दाहालले पार्टीलाई सुदृढ बनाउने बेलामा विवाद झिक्न नहुनेमा जोड दिएका थिए भने वरिष्ठ नेता भट्टराईले विचार समूहलाई निषेध नगर्न आग्रह गरेका थिए ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्का उपाध्यक्ष पोष्टबहादुर बोगटीले पनि अहिले विवाद गर्ने बेला नभएको भन्दै समस्या समाधान गरेर जानुपर्नेमा जोड दिएका थिए । एमाओवादीको विवाद समाधान समितिमा अध्यक्ष दाहाल, उपाध्यक्षद्वय श्रेष्ठ र बोगटी, नेता भट्टराई र महासचिव कृष्णबहादुर महरा छन् । बैठक पुनः बुधबार बस्ने जनाइएको छ ।

Post a Comment

 
Top