पोखरामा संचालन भइरहेका भाडाका ट्याक्सीलाई मिटर जडान गर्न र सोही मिटर अनुसार यात्रुबाट भाडा लिने व्यवस्था गर्नका लागि प्रहरीले फेरि नयाँ अभियान शुरु गरेको छ । यातायात व्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीले यसपटक आफ्नो अभियानलाई प्रभावकारी बनाउने दौडमा लागेका छन् । तर प्रहरीले मिटर जडान नगर्ने र मिटर जडान गरेपनि भाडा मिटरले तोकभन्दा बढी अशुल गर्ने ट्याक्सी चालकलाई कार्वाहीको प्रक्रिया शुरु गरेपनि अझै निर्णयको प्रभावकारी कार्यान्वयन हुने अवस्था भने देखिएको छैन । प्रहरीले यहि साउन २ गते मिटर जडान नगरेको ३० वटा र मिटर जडान गरेर पनि यात्रुबाट बढी भाडा अशुल गर्ने १७६ वटा ट्याक्सीलाई कार्वाही गरेको र साउन ३ गते पनि मिटर जडान नगरेका १७ र मिटरमा हिंड्न नमान्ने ५१ वटा भाडाकारलाई कार्वाही गरेको जनाएको छ । कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार ट्याक्सीमा मिटर नराखी वा मिटर राखेर पनि आफूखुसी संचालन गर्ने र यात्रुबाट महंगो भाडा अशुल गर्नेलाई कार्वाही गर्नेक्रम शुरु गरेको छ । यसअघिका वर्षमा पनि प्रहरीले यस्तै प्रक्रिया अवलम्वन गरेको भएपनि प्रभावकारी हुन सकेको थिएन । यसपटक भने प्रहरीले निर्णय कार्यान्वयनमा तदारुकता देखाएको बताइन्छ । तर प्रहरीले यातायात व्यवस्थापन ऐन विपरित चल्ने सवारी साधनलाई कार्वाही गर्न सक्ने भएपनि यसपटक कार्वाही गरेको भनिएका ट्याक्सी वा तिनका चालक र व्यवसायीलाई कागजपत्र नियन्त्रणमा लिने र केही समयमा फिर्ता दिने काम भन्दा अरु हुन सकेको छैन । जसका कारण सामान्य गल्ती गर्दा वा ट्राफिक नियम उल्लंघन गर्दा सकेसम्म धेरै राजस्व अशुल गर्न खोज्ने प्रहरीहरुले नै यसपटक कुनैपनि ट्याक्सीलाई मिटर जडान नगरेको वा मिटरमा नचलेको भनेर जरीवाना गरेका छैनन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment