0
नेपाल विद्यार्थी संघको महाधिवेशन यही भाद्र महिनामा गर्न नेपाली कांग्रेस केन्द्रीय कमिटीले नेविसंघलाई निर्देशन दिएपछि नेपाल विद्यार्थी संघको महाधिवेशन सरगर्मी बढेको छ । यसैक्रममा नेविसंघ कास्की जिल्लाको विवाद यथावत रहिरहेको अवस्थामा नेपाली कांग्रेसका युवा सुभास कोइरालाले कास्की नेविसंघको विवाद मिलाउने जिम्मेवारी पाएको बताएका छन् । नेविसंघ कास्कीमा तीनवटा समानान्तर समिति रहेको अवस्थामा कोइरालाले के–कस्तो पहल गरिरहेका छन् र नेविसंघलाई मिलाएर एक बनाउन सक्छन् भन्ने विषय सबैको चासोको विषय बनेको छ । यसैसन्दर्भमा केन्द्रित रहेर संचारकर्मी विशाल बरालले गोल्डेन न्यूज दैनिकका लागि गरेको कुराकानी यहाँ प्रस्तुत छ ः


कास्की नेविसंघको विवाद मिलाउन संयोजनकारी भूमिका निर्वाह गर्दै हुनुहुन्छ रे । भनिदिनुस् न तपाइको राजनीतिक पृष्ठभूमिका बारेमा ।
म अहिले नेपाली कांग्रेसको इमान्दार कार्यकर्ता हुँ । जब म कांग्रेस अनुकुलको वातावरण मा हुर्के र बढे र स्कूल जीवनदेखि नेविसंघलाई साथ दिए । कास्की जिल्लाको सदस्य हुँदै अञ्चलसम्म पुगेपछि मैले नेविसंघलाई अप्ठेरो अवस्थामा सहयोग गर्दै आईरहेको छु । यस समयमा पनि नेपाल विद्यार्थी संघको अधिवेशन गराई सक्षम, सवल नेतृत्वको उदय हुनुपर्दछ भन्ने सोचका साथ अभिभावकको भूमिकामा आफुलाई राखेको छु ।
तपाई नेपाल कांग्रेसमा लागेको  युवा, फेरी किन नेविसंघको राजनीतिमा चासो राख्नु भयो त ?
तपाईले ठीकै भन्नुभयो । यो पनि सत्य छ कि नेपाल विद्यार्थी संघ भनेको नेपाली कांग्रेसको जग हो । जग बलियो भयो भने पो घर बलियो हुन्छ । त्यसैले नेविसंघलाई बलियो बनाउनुपर्ने भएको छ । कांग्रेसको भातृ संगठन हो नि यसको इतिहास ठूलो छ यसको इतिहास जोगाउने कर्तव्य त हामी सबैको हो । मेरो लक्ष्य भनेको ने.वि.संघलाई बलियो बनाउने हो । विद्यार्थीहरुको संगठन बनाउने हो, जुन संगठनले विद्यार्थीहरुको हक हितमा काम गरोस् ।
विवादै विवाद रहेको नेविसंघलाई कसरी मिलाएर अधिवेशन गर्नु हुन्छ त ?
नेविसंघ कास्कीमा खासै विवाद छैन । यो बाहिर देखिएको विवाद भनेको केही नेताहरुको नियतिको पराकाष्ठा हो । नेताहरुलाई गर्ने चाकडी र नेताहरुले अवलम्वन गर्दै आएको टिके प्रथाले गर्दा नेविसंघ यो अवस्थामा आएको हो । अब यो चाकडी प्रथाको अन्त्य हुनुपर्दछ । नेविसंघले जहिले पनि पार्टीलाई बफादार रहेर सहयोग गर्दै आएको छ । तर केही मुठीभरका नेताको व्यक्तिगत इच्छाले यति ठूलो संगठनलाई बिगार्न खोजिएको छ । जसका कारण भविष्यमा कांग्रेसलाई नोक्सानी अवश्य पु¥याउँछ । त्यसैले अहिले देखिएको विवादलाई सदाका लागी अन्त्य गरी नेविसंघलाई शक्तिशाली  संगठनको रुपमा निर्माण गर्नुपर्दछ ।
नेविसंघ कास्कीमा विवाद छैन त भन्नुभयो तर तीन जना अध्यक्ष छन् नि ?
मैले पहिला नै भनिसकें यो विवाद होइन । यहाँबाट केन्द्रसम्म पुगेका केही विद्यार्थीका नेताहरुको आन्तरिक मनमुटावका कारण छुट्टा–छुट्टै समिति बनेका हुन् । केन्द्रमा पुगेर पनि जिल्ला तहमा विवाद मिलाउने सोच नराख्नु को पछाडि उनीहरुको आज्ञाकारीलाई ल्याउन खोज्नु हो । तर काम गर्न सक्ने जुजारु नेवि संघका कार्यकर्ताहरुलाई अवसर नदिनुलाई उनीहरुको वदनियत मान्न सकिन्छ । राजनीतिमा चाप्लुसी र खुरापाती गर्नु भनेको स्वयं आफ्नै राजनीति सिध्याउनु पनि हो । कास्कीमा तीन जना अध्यक्ष हुनुको कारण पनि यही हो । सबैले आ–आफ्नो नैतिकता र जिम्मेवारी विर्सिए पछि के लाग्छ र पार्टीको भविष्यको चिन्ता कसैलाई छैन । वर्तमान मा टीका लागाउन पाए भयो । नेता बन्नका लागि विचार दिनसक्नुपर्ने र कार्याकर्ताको माया लिन सक्नुपर्ने भएपनि चाकडी, चाप्लुसीबाटमात्रै नेता बन्न खोज्ने प्रवृति चिन्ताजनक छ । यहि प्रवृत्तिका कारण कास्कीमा केही अन्यौल देखिएको हो तर त्यसलाई अब नेविसंघको महाधिवेशन अघि नै टुङ्ग्याउँछौं ।
कास्की नेविसघको विवाद मिलाउन तपाइँले नै बढी चासो राख्नुको पछाडि के कारण छ ?
नेविसंघ भनेको नेपाली कांग्रेस पार्टीको जग हो । यदि कोही कसैले नेविसंघलाई विगार्न खोज्दछ भने यसको असर सिङ्गो नेपाली कांग्रेसलाई पर्दछ । कास्कीमा करिब १३ वर्षसम्म अधिवेशन हुन सकेन यसले कति विद्यार्थीहरु नेविसंघबाट पलायन भए होलान् । त्यो असर काँग्रेसलाई सिधै परेको छ । सधंै टिके अधिवेशन जस्तोमात्रै हुने र वर्षौसम्म एउटै व्यक्तिले नेतृत्व गरिरहँदा आम विद्यार्थीहरुको भावना बुझ्न सक्ने नेताको समेत अभाव भएको छ । तसर्थ विद्यार्थीहरुको भवना बुझन सक्ने नेतृत्वलाई स्थापित गर्न, नेपाली कांग्रेसका विभिन्न भातृ र शुभेच्छुकसंग सहकार्य र समन्वय गर्न पनि नयाँ नेतृत्व आवश्यक छ । पार्टीको तर्फबाट विगतमा भएका पहल सकारात्मक भएपनि तिनले सार्थकता पाउन नसकेका कारण यसपटक नेविसघको विवाद मिलाउन मैले बढी चासो राखेको हो । त्यसमाथि पार्टीले पनि मलाई नै जिम्मेवारी दिएको छ । त्यसकारण कास्की नेविसंघको अधिवेशन सम्पन्न गर्न र उपयुक्त नेतृत्व स्थापित गर्न मैले पहल गरिरहेको छु ।
त्यसोभए अब नेविसंघका कार्यकर्ताहरु एकढिक्का हुन्छन् त ?
किन नहुनु ? यो कार्य त्यति गाह्रो छैन तर चुनौति भने छ । अब नेविसंघलाई सबैले राम्रो बलियो बनाउने सोच गर्नुप¥यो । त्यसपछि नेविसंघको अधिवेशन पनि निष्पक्ष ढङ्गले सम्पन्न गर्नुप¥यो । कास्की जिल्ला भरिका स्कूल, क्याम्पस तथा विभिन्न इकाइबाट प्रतिनिधि छनौट गरेर अधिवेशनलाई प्रभावकारी बनाउन सबै लाग्नु पर्ने भएको छ । यसरी सबैलाई समेटेर अधिवेसन गर्न सकियो भने नेविसंघ एकढिक्कामात्र हुने होइन संगठन नै चुस्त र दुरुस्त बन्न सक्छ । यहाँ त नेविसंघको नाम बेचेर मागी खाने भाडो बनाउने केही तत्वहरुले पुनः टीका लगाएर आफू अध्यक्ष बन्ने या आफू अनुकुलको बनाउने दाउ गरिरहेका छन् । म यस किसिमको प्रवृत्तिको विरोध गर्दछु । राजनीतिमा जबसम्म नातावाद, कृपावादलाई महत्व दिइन्छ तवसम्म संगठनको नेतृत्व सहि र इमान्दार तथा त्यागी नेताहरुको काँधमा आउँदैन । तसर्थ यसपटक मैले नेविसंघलाई विशुद्ध विद्यार्थीहरुको संगठन बनाउने इच्छा छ । मलाई कुनै लोभ र नेविसंघको राजनीतिमा रहिरहने सोच छैन । नेवि संघको विवाद सदाका लागि अन्त्य गरी एकढिक्का नेवि संघ बनाएपछि मेरो जिम्मेवारी पूर्ण भएको महसुस गर्ने छु । त्यसैले पनि जिल्लाका सबै नेविसंघका नेता तथा कार्यकर्ताहरु एकढिक्का भएर आगामी चुनौतिको सामना गर्न सक्षम हुनेछन् भन्ने विश्वास पनि लिएको छु ।

Post a Comment

 
Top