0
संविधानसभामा मातहतको क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको कामकारबाही पछिल्लो समयमा प्रभावित हँुदै आएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै सभासद्ले लामो समयदेखि इन्टरनेटको सुविधासहितको ल्यापटप माग गरेपनि स्रोतको अभावले गर्दा अझैसम्म माग सम्बोधन हुन सकेको छैन ।  समितिका सचिव हिमलाल सुवेदीले सभासद्ले माग गरेबमोजिम ल्यापटप र इन्टरनेटका लागि सचिवालयमा पत्राचार गरिसकेको जानकारी दिए । समितिबाट सभासद्का लागि ल्यापटपको माग आएको भएपनि त्यसलाई आवश्यक पर्ने स्रोत व्यवस्थापन कसरी गर्ने भन्नेबारे सचिवालय टुङगोमा पुगी नसकेकाले यो विषय निर्णयको चरणमै रहेको संसद सचिवालयका सहायक प्रवक्ता सुर्दशन कुईंकेलले बताए । यद्यपि, संचिवालयले संसदमा प्रतिनिधित्व गर्ने केही राजनीतिक दलका नेता, सभामुख, उपसभामुख र समितिको सभापतिसहितका पदाधिकारीलाई भने ल्यापटप उपलव्ध गराइसकेको छ । समितिको गतिविधि र सभासद्को भूमिकालाई प्रभावकारी तुल्याउन आवश्यक पर्ने यी विषयहरू सम्बोधन नभएका कारण पछिल्लो केही समय यता समितिको कामकारवाही प्रभावित हुदै आएको छ र बैठकले पनि नियमितता पाउन सकेको छैन । अघिल्लो संविधान सभामा प्रतिनिधित्व गर्ने सभासद्लाई सञ्चार मन्त्रालय मार्फत इन्टरनेटको सुविधा उपलव्ध गराइएको थियो । यस पटक पनि मन्त्रालय सभासद्लाई उक्त सुविधा उपलब्ध गराउने सोचमा रहेको बुझिएको छ ।

Post a Comment

 
Top